धनतेरस, खुत्रके अनि लगानी


चिना बुढा मगर
आज त नयाँ भाँडा किन्न जाने हो, वर्षभरी म्ुस्किलले कुनै नयाँ चिज किनेको याद हुने मलाई तिहारका बेला आमाले नयाँ भाँडा किन्ने भन्दा खुसी लाग्थ्यो ।
तर वर्षमा एक दिन त्यो पनि तिहारकै बेला, किन? मैले बच्चै हुँदा आमाले सोधेको याद छ
आज धन्तेरस हो नि त । आमाले भन्नुभयो, धन्तेरसको दिन नयाँ भाँडाकुँडा किन्नु, नयाँ सामान जोड्नु शुभ हुन्छ ।
धनतेरसको दिन आ–आफ्नो गच्छे अनुसारको सामान जस्तै सुन, चाँदी, तामा, स्टिलका भाँडा कुडा किनेर घरमा पूजा गर्दा धनकी देवी लक्ष्मीले घरमा सुख समृद्धि प्रदान गर्ने जनविश्वास परापूर्वकालदेखिनै रहिआएको छ ।
सानोमा आमाले वर्षभरी जम्मा गरी राखेको बचतबाट धन्तेरसका दिन आवश्यक भाँडाकुँडा जोड्नु भयो । अहिले समय फेरिएको छ । म आफै दुई छोराछोरीको आमा बनेको छु । मैले भने उनिहरुलाई धन्तेरसनै होइन नियमित रुपमा कसरी आम्दानी, खर्च, बचत र लगानी गर्ने भनेर सिकाउने प्रयास गरिरहेको छु ।
आमा र मेरो तरिका फरक होला तर उद्देश्य भने एउटै छ । धनीमात्र होइन कसरी सम्वृद्ध बन्ने । धेरै पैसा जोडेर मात्र होइन, बचत, लगानी गरेर आफुलाई परेको बेलामा गर्जो टार्न सक्ने, मनलागेको ठाउँ घुम्न सक्ने, मनलागेको कुरा खान सक्ने, दुखबिमार पर्दा औषधी उपचार गर्न सक्ने बनाउने प्रयास गरिरहेको छु ।
तिहार, दशैंपछि नेपालीहरुको महान चाड । तिहार भन्ने बित्तिकै सबैभन्दा पहिले दिमागमा सेलरोटी, फिनिरोटी, झिलिमिलि बत्ति, दियो, मिठाई, फूलमाला, रंगोलीको झलक आउँछ । यो चाड दाजुभाई दिदीबहिनीहरूका लागि महत्वपूर्ण त छ नै, सुख सम्वृद्धिका लागि धनधान्यान्चलकी देवी लक्ष्मीको आराधनको लागि पनि महत्वपूर्ण छ ।
सानोछँदा मलाई लाग्थ्यो वर्ष भरिमा भाडा किन्नलाई तिहारका बेला एक दिन छुट्याएको हुँदो रहेछ, दशैका बेला नयाँ लुगा किनेजस्तो ।
मेरो आमा निरक्षर हुनुहुन्छ तर पनि पैसाको महत्व म सानै हुने बेलादेखि सिकाउनु हुन्थ्यो । हामी सानै हुँदै बेला माटाको भुड्की (जसलाई खुत्रुके वा गल्ला पनि भनिन्छ) ल्याईदिनहुन्थ्यो । अहिले जस्तो केटाकेटी बेला पैसानी कल्ले दिन्थ्यो र ?
दशै तिहारका बेला कसैले दि एभने हुने न हो । त्यो पैसा पनि एक रुपैया पनि नमासेर म भुड्कीमा राख्ने गर्थे ।
भुड्की भरिन धेरै समय लाग्थयो । भुड्की भरिएर फुटाउँदा मुस्किलले २ सय, तीन सय वा बढिमा पाँच सय सम्म हुन्थ्यो ।
एक चोटि यत्रो पैसा देख्दा खुसीको सीमा हुदैनथ्यो ।
सानैबाट आमाले सिकाएर होला मैले पनि पैसा बचत गरेर सामान किन्ने गर्थे । मैले बचत गरेको पैसाले पहिलो पटछक, घडी किने, अर्को पटक चाँदीको पायल, अनि कानमा लगाउनलाई सानो सुनको झुम्का ।
एक पटक भुड्की फोड्दा चार सय रुपैया भएको थियो त्यो पैसामा आमाले बााख्राको पाठी किनिदिनु भयो । पाठीबाट जन्मेको बोका बेचेर २ हजार सात सय आयो । त्यो पैसाले आमाले मलाई स्कुल जान साइकल किनिदिनु भयो ।
आफुले बचत गरेको पैसा लगानी गरि साइकल चढ्नुको मज्जानै बेग्लै । आफुले बचत गरेको पैसो कहिले बाख्रा त कहिले कुखुरा पालेर आएको पैसाले मलाई बचत मात्र होइन लगानीको महत्व पनि बुझायो ।
अहिले सम्झन्छु, धेरै कमाउँनु मात्र ठूलो कुरा होइन रहेछ । आफुले गरेको बचतलाई सहि लगानी पनि गर्नुपर्ने रहेछ ।
आमाले पढ्नु भको थिएन तर पनि आफ्ना सन्ताको लागि उहाँले दिनुभएको बचत र लगानीको शिक्षा जीवन भरका लागि काम लागेको छ । आमाले फजुल खर्च कहिले गर्न दिनु भएन । हामीले राख्न दिएको पैसा कहिले पनि घरखर्चमा लगाईदिनुभएन ।
अहिले सम्झँदा, आजभोली हामीले जुन काम गर्नका लागि साचेर राखेको पैसा हो त्यसमा प्रयोग नगरी अन्त गछौं अनि जुन काम सोचेको हो त्यो सफल हुन सक्दैन ।
यो कुरा मलाई मेरी आमाले नपढेकै भएपनि सानैमा सिकाउनु भयो ।
हामीले हिजोबाट सिकेर आज राम्रो गर्न सक्यो भने भोली त्यसै राम्रो हुन्छ । त्यसैले मैले पनि आफ्ना छोराछारीले पैसाको महत्व बुझुन भन्नका लागि घरमै केही अभ्यासहरु सुरु गरेको छु ।
हामीले कुनै काम गर्दा त्यो कसरी आम्दानीसँग जोडिन्छ । आम्दानीलाई कसरी लगानीसँग जोड्न सकिन्छ भन्ने अभ्यासलाई घरमै थालनी गरेका छौं ।
अहिले मैले नानीबाबुलाई स्कुल बिदाको दिन घरको काममा सघाउन लगाउँछु । आफुले खाएको भाडाँ नियमित रुपमा माझ्ने, स्कुल ड्रेस धुने, बाथरुम सफा गर्ने, बेडविस्तारा मिलाउने, आफ्नो कोठा सफ गर्ने, घर सफाई गर्ने अनि भान्साका काममा सघाउने ।
सुरु सुरुमा यि काम गर भन्दा अलि अल्छि गर्ने । पछि हामीले यसलाई आम्दानीसँग जोड्यो, जसले राम्रोसँग हप्ताभरी सघाउँछ उसले सप्तान्तहमा ५०० रुपैयाँ पाउँछन । त्यसका लागि हप्ताभरी काममा सघाएको चाँही हुनुपर्छ ।
अहिले उनिहरु सप्तान्तमा पाँच सय रुपैयाँ पाउँछन् । तर त्यो पाँच सय रुपैया कसरी खर्च गर्ने भन्ने सर्त छ । पाँच सयलाई तीन वटा कोषका रुपमा छुट्याइएको छ । पहिलो कल्याणकारी कोष, जसमा १ सय रुपैयाँ जम्मा हुन्छ । जसलाई उनिहरुले कुनै पनि कल्याणकारी काम, दान, सहयोगमा खर्च गर्नुपर्छ । दोस्रो स्वतन्त्रता कोष, जसमा २ सय रुपैयाँ जम्मा हुन्छ । यसबाट उनिहरुले मन लागेको कुरामा खर्च गर्न पाउँछ । जस्तो मनलागेका स्वस्थकर खानेकुरा खान, लुगा किन्न, साथीभाईसँग घुम्न खर्च गर्न पाउँछन् । तेस्रो लगानी कोष, जसमा बचेको २ सय रुपैया जम्मा हुन्छ । जसलाई उनिहरुले बचाएर राख्ने र लगानीका रुपमा प्रयोग गर्न पाउँछन् ।
तीनैवटा कोषका आफ्नै विषेशताहरु छन । पहिलो कल्याणकारी कोषले उनिहरुलाई दया, करुणा, आपसी समझदारी, सहयोग र भाइचार सिकाउँछ । दोस्रो स्वतन्त्रता कोषले आफुले काम गरेर गरेको आम्दानीले आफुलाई मनलागेको कुरामा खर्च गर्न सिकाउँछ । अनि तेस्रो लगानी कोषले अहिले हुँदा मात्र खर्च गर्ने होइन, भविष्यमा आउने भवितव्यका लागि बचत र लगानी गर्न सिकाउँछ ।
केही समय अघि नानीले आफ्नो जन्मदिनमा पाएको दक्षिाणा दुर्घटनामा परेकाका लागि उपचारमा सहयोग गरिन् । सहयोग गर्न पाउँदा उनि साह्रै खुसी भएकि थिइन ।
यो हाम्रो घरमा सुरुवात गरेको सानो प्रयास मात्र हो । पैसाको महत्व मैले पनि सानैबाट सिके त्यसैले सानै उमेरबाट आफ्ना नानीबाबुलाई पैसाको महत्व सिकाउने प्रयास गरिरहेकोछु ।
आजकल देख्छु, साना नानीबाबुहरु पैसा पाउनै बित्तिकै पसलतिर दौडिन्छन । अस्वस्थकर खानेकुरा किनेर खान्छन् । यसले पैसा अनि स्वास्थ्य दुबैमा असर गरिरहेको छ ।
आम्दानी र बचतकै कुरा गर्दा अर्को महत्वपुण कुरा भनेको हाम्रो नानीबाबुलाई आवश्यकता र चाहनाबारे बुझाउन जरुरी छ । नानीबाबुलाई बजार लिएर गयो भने यो पनि किनिदिनु, त्यो पनि किनिदिनु भन्छन् । तर ती साच्चिकै जरुरी छन् वा देख्दा किन्न मन मात्र लागेको हो भनेर प्रश्न गर्नु जरुरी छ । यदि आवश्यकनै हो भने किन्नु पर्छ । होइन भने किन नकिन्न भन्ने बुझाउनु पनि हामी अभिभावकको जिम्मेवारी हो ।
यी र यस्ता साना साना अभ्यासहरुले हामी र हाम्रा नानीबाबुलाई सम्वृद्ध बनाउन मद्धत गर्छ ।
जब मानिस आर्थिक रुपमा बलियो हुन्छ हरेक कुरा गर्ने हिम्मत आउँछ । त्यसका लागि सानैबाट बचत, लगानी अनि सहयोगको भावना बिकास गर्न जरुरी छ ।
हामीले हाम्रा नानीबाबुलाई सानैबाट घरको काम सिकाउन, कामलाई आम्दानी, करुणा, स्वतन्त्रता, लगानीसँग जोड्ने प्रयास गरिरहेका छौं ।

Exit mobile version