दैनिक नेपालगन्ज
यमपञ्चकको दोस्रो दिन आइतबार देशभर कुकुर तिहार मनाइएको छ । यस अवसरमा हिन्दू धर्मावलम्बीहरूले घरघरमा कुकुरको पूजा गरी मिठामिठा परिकार खुवाएर सम्मान प्रकट गरेका छन् ।
प्राचीन कालदेखि नै मानव सभ्यतासँग घनिष्ठ सम्बन्ध राख्दै आएको कुकुरलाई यस दिन विशेष महत्वका साथ पूजा गर्ने परम्परा छ । हिन्दू धर्ममा कुकुरलाई आज्ञापालक, बफादार र सुरक्षाकर्मीका रूपमा लिइन्छ ।
हिन्दू धर्मशास्त्रमा कुकुरलाई यमराजको दूतका रूपमा वर्णन गरिएको छ । मृत्युपछि मोक्षको द्वारमा समेत कुकुरले पहरा दिने धार्मिक मान्यता छ । यस्तै, कुकुरलाई भगवान् भैरवको वाहनका रूपमा पनि चिनिन्छ ।
मानव सभ्यताको सुरुवातदेखि नै कुकुरले मानिसलाई विभिन्न रूपमा सहयोग गर्दै आएको पाइन्छ । घरको सुरक्षा गर्ने, चोर तथा डाँकाबाट जोगाउने र सम्भावित जोखिमप्रति सचेत गराउने भएकाले कुकुरलाई मानिसको विश्वासिलो साथीका रूपमा लिइन्छ । कम निदाउने र सामान्य आवाजप्रति पनि चनाखो रहने कुकुर थोरै आहारमै सन्तुष्ट हुने प्राणीका रूपमा समेत परिचित छ ।
कुकुर तिहारको अवसरमा नेपालगन्जमा पनि घरघरमा कुकुरको पूजा गरिएको छ । घरपालुवा कुकुरलाई माला लगाइदिने, टीका लगाउने र मिठा परिकार खुवाउने क्रमसँगै सडकमा रहेका सामुदायिक कुकुरलाई खाना खुवाउनेहरूको पनि आकर्षण देखिएको थियो । यसले कुकुर तिहारलाई घरपालुवा जनावरमा मात्र सीमित नराखी सडकका बेजुबान जनावरप्रतिको माया र सद्भाव व्यक्त गर्ने अवसरका रूपमा समेत मनाइएको देखिन्थ्यो ।
