नेपालको मौलिक संवत् नेपाल संवत् ११४७ को भव्य स्वागतका लागि मङ्गलबार नेपालगन्जमा बृहत् मोटरसाइकल भिन्तुना र्याली आयोजना गरिएको छ।
नेवाः संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेवाः देय् दबू बाँके र नेवाः पुचः बाँकेको संयुक्त आयोजनामा यो कार्यक्रम भएको हो।
बिहान नेपालगन्जको कारकाँदो चोकबाट मोटरसाइकल र्याली सुरु भई नगरका विभिन्न भागको परिक्रमा गरिएको छ ।

र्यालीमा जिल्लाका विभिन्न नेवाः गुठीका प्रतिनिधिहरू, सामाजिक क्षेत्रका व्यक्तित्वहरू तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
र्यालीपश्चात् एक विशेष समारोहका बिच शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन गरिएको थियो ।
नेवाः देय् दबू बाँकेका अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्य तथा प्रदेश सभा सदस्य मीना श्रेष्ठको विशिष्ट आतिथ्य रहेको थियो।
कार्यक्रममा वरिष्ठ साहित्यकार सनत रेग्मी, डाक्टर हरि प्रसाद तिमल्सिना, नरेन्द्र जङ्ग पिटर लगायतले नेपाल संवत्का प्रवर्तक, राष्ट्रिय विभूति शङ्खधर साख्वाको योगदान र नेपाल संवत्को ऐतिहासिक महत्त्वमाथि प्रकाश पारे ।
साथै, नेवाः देय् दबूका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, राजेन्द्र श्रेष्ठलगायतका वक्ताहरूले मौलिक संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिए । कार्यक्रम सञ्चालन नेवाः देय् दबूका जिल्ला सचिव पुष्प मणि प्रधानले गरेका थिए।
नेपालीहरूको मौलिक संवत्का रूपमा रहेको नेपाल संवत् म्हपूजाका दिनदेखि सुरु भएको हो। मङ्गलबार म्हपूजासँगै नेपाल संवत् ११४७ औपचारिक रूपमा प्रारम्भ भएको छ ।