बर्दियाको बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी बाँके कोहलपुरका १६ वर्षीय युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका कोहलपुर नगरपालिका–९ का १६ वर्षीय रिदम थापाको उपचारका क्रममा भारतको लखनउस्थित समरामेक्स अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराका अनुसार मोटरसाइकल चालक सोही ठाउँका २० वर्षीय दीक्षित श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको पनि सोही अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
प्रहरीका अनुसार गुलरियाबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १४ प ८६२४ नम्बरको मोटरसाइकल सोमबार बिहान ७ः२५ बजे बढैयाताल गाउँपालिका–८ शीतलाबजारस्थित हुलाकी राजमार्गमा दुर्घटनामा परेको थियो । आफैँ अनियन्त्रित भएको मोटरसाइकल सडक छेउमा रहेको विद्युत् पोलमा ठोक्किएको थियो ।
दुर्घटनामा घाइते भएका दुवैलाई प्रारम्भिक उपचारका लागि नेपालगन्जस्थित सञ्जीवनी अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि भारतको लखनउस्थित समरामेक्स अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा कात्तिक २४ गते बिहान ७ बजे थापाको मृत्यु भएको डीएसपी बोहराले जानकारी दिए ।
मृतकको पार्थिव शरीर कोहलपुर ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको राससको समाचारमा उल्लेख छ । दुर्घटनामा परेको क्षतिग्रस्त मोटरसाइकल प्रहरी चौकी शीतलाबजारमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
