१३१ सुरक्षाकर्मीको निःशुल्क आँखा जाँच

दैनिक नेपालगन्ज

लुम्बिनी प्रदेश प्रहरी गण खजुरामा आयोजित निःशुल्क आँखा जाँच शिविरबाट १३१ जना सुरक्षाकर्मी लाभान्वित भएका छन्।

रोटरी क्लब सेन्ट्रल बाँकेको आयोजनामा शनिबार सञ्चालित शिविरमा भिजन आँखा अस्पताल, भिजन कम्युनिटी सेन्टर र नेपालगन्ज अप्टिकल्सले प्राविधिक तथा स्वास्थ्य सेवा सहयोग गरेका थिए। कार्यक्रममा रोट्रयाक्ट क्लब अफ एमपी स्कुल र रोट्रयाक्ट क्लब सेन्ट्रल बाँकेले समेत सहयोग गरेका थिए।

शिविरमा भिजन आँखा अस्पताल र नेपालगन्ज अप्टिकल्सका प्राविधिक बिमलकुमार कार्की र सपना सिजापतिले आँखा परीक्षण तथा प्राविधिक सेवा उपलब्ध गराएका थिए। परीक्षणका क्रममा पहिचान भएका र थप उपचार आवश्यक पर्ने सुरक्षाकर्मीलाई भिजन आँखा अस्पताल र नेपालगन्ज अप्टिकल्समा सहुलियत दरमा विशेषज्ञ उपचार सेवा उपलब्ध गराइने कार्यक्रम संयोजक एवं नेपालगन्ज अप्टिकल्सका सञ्चालक रोटरीयन बिमलकुमार कार्कीले बताए।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रहरी गणका प्रमुख तथा प्रहरी उपरीक्षक मिलन केसीले आँखाको महत्व बुझ्न केही क्षण आँखा चिम्लिए मात्रै पर्याप्त हुने बताए। जनताको सेवामा चौबिसै घण्टा खटिनुपर्ने प्रहरी कर्मचारीलाई कार्यस्थलमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराएकोमा उनले आयोजकलाई धन्यवाद दिए। यस्ता कार्यक्रम समुदायसम्म विस्तार गर्न सहकार्य गर्न तयार रहेको बताउँदै उनले कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे।

क्लबका पूर्वअध्यक्ष रोटरीयन सीए विश्वराम भण्डारीले रोटरीको मूल मर्म ‘आफूभन्दा माथि सेवा’ रहेको उल्लेख गर्दै यस्ता सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

Exit mobile version