असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

दैनिक नेपालगन्ज
राजधानी काठमाडौंमा भएको असिनावृष्टिका कारण बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग उपलब्ध हुन नसकेपछि दुबईबाट काठमाडौं आउँदै गरेको फ्लाई दुबईको विमान भारतको लखनउ डाइभर्ट गरिएको छ ।

फ्लाई दुबईको उडान नम्बर एफजेड ५३९ मा १६१ जना यात्रु सवार थिए । दुबईबाट काठमाडौंका लागि उडेको उक्त विमान आज दिउँसो ३ बजे काठमाडौं अवतरण गर्ने तालिका थियो ।

काठमाडौंमा असिनावृष्टिका कारण अवतरणमा समस्या भएपछि विमानलाई लखनउ विमानस्थलमा अवतरण गराइएको हो ।

लखनउ विमानस्थलमा आवश्यक औपचारिकता तथा उडान सञ्चालनसम्बन्धी समन्वय पूरा गरेपछि विमान साँझ ४ बजेर ३६ मिनेटमा पुनः काठमाडौंका लागि प्रस्थान गरेको जनाइएको छ ।

Exit mobile version