बाँके–दाङको ५८ किलोमिटर हुलाकी सडक निर्माण प्रक्रिया अघि बढ्यो

दैनिक नेपालगन्ज

बाँके र दाङको सीमावर्ती क्षेत्रमा लामो समयदेखि अधुरो रहेको ५८ किलोमिटर हुलाकी सडक निर्माण प्रक्रिया अघि बढेको छ । सडक तथा पुल निर्माणका लागि कुल ५ अर्ब ६० करोड रुपैयाँबराबरको ठेक्का प्रक्रिया अघि बढाइएको हो ।

हुलाकी सडक आयोजना कार्यालय नेपालगन्जका आयोजना प्रमुख लिलाबहादुर भण्डारीका अनुसार अधुरो सडक खण्डलाई दुई भागमा विभाजन गरी निर्माण प्रक्रिया अघि बढाइएको छ । यसअनुसार बाँकेको राप्ती सोनारी–३ नारायणपुरदेखि दाङको सीमाक्षेत्र हाटबाससम्मको ३६ किलोमिटर सडक निर्माणको जिम्मा कन्काई खड्का जेभीले पाएको छ । उक्त कम्पनीले २ अर्ब २ करोड रुपैयाँमा ठेक्का पाएको हो ।

त्यस्तै, हाटबासदेखि दाङको राजपुर गाउँपालिकास्थित गंगदीसम्मको २२ किलोमिटर सडक निर्माणका लागि १ अर्ब ५१ करोड रुपैयाँमा हिम सगरमाथा पशुपति जेभी छनोट भएको छ ।

यस खण्डमा पर्ने १६ वटा पुल निर्माणका लागि पनि ठेक्का सम्झौता भइसकेको छ । दाङ र बाँके खण्डका १२ वटा पुल निर्माणका लागि १ अर्ब ३ करोड रुपैयाँमा नारायणम निर्माण सेवाले ठेक्का पाएको छ । बाँकी चारवटा पुल दाङको राजपुरस्थित गंगदीदेखि हाटबास खण्डमा निर्माण हुनेछन् । ती पुल निर्माणको जिम्मा ४६ करोड ३५ लाख रुपैयाँमा भैरव कन्स्ट्रक्सन कम्पनीले पाएको आयोजना प्रमुख भण्डारीले जानकारी दिए ।

‘पुल निर्माणको ठेक्का पाएका कम्पनीहरूले सम्झौता गरेर कार्यक्षेत्रमा कामसमेत थालिसकेका छन्, अहिले फिल्डमा सर्भे र माटो परीक्षणसम्बन्धी काम गरिरहेका छन्’, भण्डारीले भने, ‘सडक निर्माणतर्फ भने भर्खरै आशयको सूचना प्रकाशित भएकाले तिहारलगत्तै निर्माण कम्पनीहरूसँग औपचारिक सम्झौता हुनेछ ।’

ठेक्का सम्झौता भएका कम्पनीहरूले हुलाकी सडकको सम्पूर्ण काम आगामी तीन वर्षभित्र सम्पन्न गर्नुपर्नेछ । सडक अस्फाल्ट प्रविधिमा दुई लेनको उच्च गुणस्तरको निर्माण गरिनेछ । सडकसँगै आवश्यक स्थानमा नाला, कल्भर्ट र पर्खाललगायतका संरचनासमेत निर्माण गरिने आयोजनाले जनाएको छ ।

‘अबको तीन वर्षभित्रमा बर्दियाको सतिघाट पुलदेखि दाङको कालाकाँटेसम्म हुलाकी सडकको सम्पूर्ण काम पूरा हुनेछ’, आयोजना प्रमुख भण्डारीले भने, ‘यसले जनतालाई आवतजावतमा धेरै नै सहज बनाउनेछ ।’

हाल बाँकेको राप्ती सोनारी गाउँपालिका–१ स्थित राप्तीपारिका भम्का, अमुवा, तितिनघारी, भवानियापुर, खुटी, चुनाहा, सुनखरे र खोकरीलगायत दर्जनभन्दा बढी गाउँका बासिन्दालाई राजमार्ग पुग्न राप्ती नदीमा पक्की पुलको अभाव छ । हुलाकी सडक निर्माणसँगै यी बस्तीका बासिन्दाको आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

राप्ती सोनारी गाउँपालिका–१ का वडाध्यक्ष यमबहादुर खड्काले सडक निर्माणपछि राप्तीपारिका बासिन्दाको जनजीवनमा परिवर्तन आउने बताए । उनका अनुसार सडकले कृषि, व्यापार, शिक्षा, स्वास्थ्य तथा समग्र आर्थिक विकासमा ठूलो सुधार ल्याउनेछ ।

Exit mobile version