मुगुमा भैलो खेल्न गएको जिप दुर्घटना, पाँच जना घाइते

दैनिक नेपालगन्ज

मुगुको सोरू गाउँपालिकामा भैलो खेल्न गएको टोली सवार जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

सोरू गाउँपालिका–६ गजेडीस्थित झ्यालेखोला नजिकै बुधबार जिप दुर्घटना भएको हो । प्रहरीका अनुसार सोरूकोटबाट तारापानीतर्फ भैलो खेल्न जाँदै गरेको बा १८ च ४१८ नम्बरको जिपको ब्रेक नलागेपछि सडकको भित्तामा ठोक्किएको थियो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी रविराज थपलियाका अनुसार दुर्घटनामा सोरू गाउँपालिका–९ कालैका १९ वर्षीय गणेश ऐडी गम्भीर घाइते भएका छन् । उनको टाउको, निधारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।

दुर्घटनामा सोही ठाउँकी १६ वर्षीया निर्मला ऐडी, १७ वर्षीया करिस्मा ऐडी, १९ वर्षीय अन्तिम योगी र खत्याड गाउँपालिका–७ का २९ वर्षीय जिप चालक उपेन्द्र परियार पनि घाइते भएका छन् ।

उद्धारमा खटिएका प्रहरी चौकी सोरूबर्माका प्रहरी नायब निरीक्षक देवबहादुर खड्काका अनुसार चालक परियार र निर्मला ऐडीको अवस्था मध्यम छ भने करिस्मा र अन्तिमको अवस्था सामान्य रहेको छ । घाइते सबैलाई उपचारका लागि गमगढीस्थित जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

‘भैलो खेल्ने टोली एक ठाउँबाट अर्को ठाउँ जाँदै रहेछ’, प्रहरी नायब निरीक्षक खड्काले भने, ‘ब्रेक नलागेपछि चालकले गाडी भित्तामा ठोक्काएर ठूलो दुर्घटना हुनबाट जोगाएको देखिन्छ । गाडी सडकबाट तल खसेको भए ठूलो क्षति हुन सक्थ्यो ।’

प्रारम्भिक जानकारीअनुसार जिपमा चालकसहित १२ जना सवार थिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version