बक्स अफिसमा ‘रामायण’ को आक्रामक कमाइ, भारतमा ५ सय करोड नाघ्यो

गत नोभेम्बर ५ मा प्रदर्शनमा आएको चलचित्र ‘रामायण’ ले बक्स अफिसमा आफ्नो दमदार यात्रा जारी राखेको छ। सकारात्मक प्रतिक्रिया र दीपावलीको चाडपर्वको माहोलका कारण चलचित्रको कमाइले तीव्र गति लिएको हो। 

प्रदर्शनको दोस्रो दिन कमाइमा केही गिरावट आए पनि सप्ताहान्तमा चलचित्रले उत्कृष्ट पुनरागमन गर्‍यो। दीपावली र लक्ष्मीपूजाको बिदाले यसको व्यापारलाई थप उचाइमा पुर्‍याएको छ। विशेषगरी सोमबारको असाधारण प्रदर्शन र मङ्गलबारको बलियो कमाइले सबैको ध्यान तानेको छ।

बक्स अफिस तथ्याङ्क राख्ने ‘स्याकनिल्क’ का अनुसार चलचित्रले बिहीबार पहिलो दिन भारतमा ६४ करोड ८५ लाख भारतीय रुपैयाँ खुद कमाइ गर्दै खाता खोलेको थियो। शुक्रबार दोस्रो दिन कमाइ करिब २५ प्रतिशतले घटेर ४८ करोड ५ लाख रुपैयाँमा सीमित भयो। तर, शनिबार तेस्रो दिन चलचित्रले सानदार पुनरागमन गर्दै ६९ करोड ८० लाख रुपैयाँ सङ्कलन गरी पहिलो दिनको कीर्तिमानसमेत तोड्यो। आइतबार चौथो दिन चलचित्रले ५६ करोड १५ लाख रुपैयाँ खुद कमाइ गर्‍यो। चलचित्रको व्यापारमा सबैभन्दा ठुलो छलाङ सोमबार पाँचौँ दिन देखियो। उक्त दिन कमाइमा ९१.५ प्रतिशतले वृद्धि हुँदै भारतमा १ सय ७ करोड ५० लाख रुपैयाँ खुद सङ्कलन भयो। मङ्गलबार छैटौँ दिन चलचित्रले घरेलु बक्स अफिसमा थप ९४ करोड १० लाख रुपैयाँ जोड्यो। मङ्गलबारको तुलनामा बुधबार सातौँ दिन कमाइमा केही कमी देखिएको छ। बुधबार चलचित्रले ७० करोड ६५ लाख रुपैयाँ सङ्कलन गरेको छ। यससँगै भारतीय घरेलु बक्स अफिसमा चलचित्रको कुल खुद कमाइ ५ सय ११ करोड १० लाख रुपैयाँ पुगेको छ। प्रदर्शनको पहिलो हप्तामा कार्यदिनका दिन टिकट दरमा दिइने छुटले दर्शकको सङ्ख्या बढाउन मद्दत गर्ने भएकाले मङ्गलबारको कमाइलाई निकै महत्त्वपूर्ण मानिएको छ।

Exit mobile version