गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा आज बाँकेको खजुरा आइपुग्ने

हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल मुक्तिनाथबाट कात्तिक ८ गतेदेखि सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा आज बाँकेको खजुरा आइपुग्ने भएको छ। पूर्वपश्चिम राजमार्ग हुँदै देशका प्रमुख धार्मिकस्थलहरूको परिक्रमा गरेको रथयात्रा सुदूरपश्चिमसम्म पुगेर फर्किने क्रममा हुलाकी राजमार्ग हुँदै खजुरा आइपुग्न लागेको हो।

नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचारप्रसार गर्दै धार्मिक पर्यटन प्रवर्द्धन, राष्ट्रिय एकता सुदृढीकरण, सनातन वैदिक संस्कृतिको संरक्षण तथा त्रिवेणीधाममा वैदिक विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले रथयात्रा सञ्चालन गरिएको आयोजकले जनाएको छ।

रथयात्राका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यका अनुसार मुक्तिक्षेत्र, शालिग्राम भगवान् र गण्डकी क्षेत्रको महिमा प्रचारप्रसार गर्नुका साथै सामाजिक सद्भाव र धार्मिक एकताको सन्देश फैलाउने लक्ष्यसहित रथयात्रा आयोजना गरिएको हो। उनका अनुसार प्रत्येक वर्ष सञ्चालन हुँदै आएको रथयात्रा यस वर्ष कात्तिक ३० गते नवलपुरस्थित गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) पुगेर समापन हुनेछ।

आज अपराह्न ३ बजे खजुरा क्षेत्रमा प्रवेश गर्ने रथयात्रालाई स्थानीयवासीले भव्य स्वागत गर्ने तयारी गरेका छन्। लक्ष्मीनारायण दिव्यधाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठका अनुसार धनौलीसम्म पुगेर रथयात्राको स्वागत गरिनेछ। त्यसपछि खजुरा बजारस्थित लक्ष्मीनारायण मन्दिर परिसरमा केही समय विश्राम गराएर रथयात्रालाई गन्तव्यतर्फ अगाडि बढाइनेछ।

अध्यक्ष श्रेष्ठले मुक्तिनाथ भगवान्को रथ आफ्नै गाउँठाउँमा आइपुग्ने अवसरलाई सदुपयोग गर्दै दर्शनका लागि उपस्थित हुन सम्पूर्ण हिन्दू धर्मावलम्बीलाई आग्रह गरेका छन्।

रथयात्रा समापनपछि मङ्सिर १ गतेदेखि २९ गतेसम्म गजेन्द्रमोक्ष दिव्यधाममा अष्टाचल धनधान्याचल श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ सञ्चालन हुने जनाइएको छ।

मुक्तिनाथ पीठाधीश्वर मुक्तिनाथबाबा (कमलनयनाचार्य) को सत्सङ्कल्पमा सुरु गरिएको यस राष्ट्रव्यापी रथयात्राले पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्मका विभिन्न धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका पौराणिक तीर्थस्थलहरूको परिक्रमा गरेको प्रवक्ता प्रपन्नाचार्यले जानकारी दिए। महाकालीसम्म पुगेर फर्किएको रथयात्रा अन्ततः नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) पुगेर विसर्जन हुनेछ।

Exit mobile version