उहिलेको जिवन्त गाउँ,अहिले उजाड बस्ती

 अवस्थाका ग्रामीण बस्तीहरूबीच निकै ठूलो भिन्नता देख्न सकिन्छ। त्यतिबेला गाउँघरका चौतारीहरूमा बसेर भलाकुसारी गरेका आवाजहरू सुनिन्थे। गोरेटोमा गाईवस्तु चराउँदै गरेका गोठालाहरू भेटिन्थे। मेलापात, खेतीपाती र पशुपालनले गाउँको दैनिकी चलायमान बनाएको हुन्थ्यो। चाडपर्व आउँदा गाउँघरमा छुट्टै रौनक छाउँथ्यो। गाउँमा सुखदुःख बाँड्ने परम्परा थियो र ‘जिउँदाको जन्ती र मर्दाको मलामी’ भन्ने सामाजिक मान्यताले सार्थकता पाउँथ्यो। तर आज समय बदलिएको छ। हिजो मानिसहरूको चहलपहलले भरिएका घरकामा  आज ताल्चा झुन्डिएका छन्। घरका बार्दली र आँगनहरू जीर्ण बनेका छन् भने खेतबारी र आँगनहरू झाडीमा परिणत भएका छन्। गाउँ लगभग रित्तिएको छ, तर कुनै समय गाउँलेहरूको जमघट हुने चोक, चौतारी र पँधेराहरू भने अझै पनि तिनै मानिसहरूको प्रतीक्षामा उभिएजस्ता देखिन्छन्, जो केही वर्षअघि आफ्नो जन्मभूमि छोडेर गएका थिए।

      यसरी मानिसहरूले तीव्र गतिमा ग्रामीण बस्ती छोड्नुका प्रमुख कारणहरूमा बेरोजगारी, गुणस्तरीय शिक्षाको अभाव, स्वास्थ्य सेवाको अपर्याप्तता, पूर्वाधार विकासमा भएको ढिलाइ तथा अन्धविश्वास र रूढिवादी परम्परालाई लिन सकिन्छ। रोजगारी, शिक्षा, स्वास्थ्य र सहज जीवनयापनका अवसरको खोजीमा मानिसहरू गाउँबाट सहर तथा विदेशतर्फ पलायन भइरहेका छन्। विशेषगरी अछाम जिल्लाका केही ग्रामीण बस्तीहरू, (जस्तैः ढान्टा) बसाइँसराइको गम्भीर प्रभावमा परेको देखिन्छ। त्यहाँको वर्तमान अवस्था हेर्दा मानिसको अन्तिम संस्कारका लागि आवश्यक चार जना मलामीसमेत जुटाउन कठिन हुन थालेको छ। यसले ग्रामीण समाजको जनसाङ्ख्यिक अवस्थामात्र होइन, सामाजिक सम्बन्ध, आपसी सद्भाव र सामुदायिक एकतामा समेत गम्भीर असर परेको सङ्केत गर्दछ। फलस्वरूप पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका स्थानीय संस्कृति, संस्कार, भाषा, परम्परा र मौलिक पहिचानसमेत क्रमशः लोप हुँदै गएका छन्।

    हिजो मानिसहरूको पसिना र परिश्रमले हराभरा बनेका बस्तीहरू आज वनजङ्गलमा परिणत हुँदै गएका छन्। कतै थोरै खेती गरिएको भए पनि बँदेल, बाँदरलगायतका वन्यजन्तुले बालीनाली नष्ट गरिदिने समस्या छ। कृषियोग्य जमिन बाँझो छ, पशुपालन न्यून हुँदै गएको छ र परम्परागत कृषि प्रणालीसमेत सङ्कटमा परेको छ। यसले ग्रामीण अर्थतन्त्रलाई कमजोर बनाउनुका साथै स्थानीय उत्पादनमा समेत ह्रास ल्याएको छ।
अझ विडम्बनाको कुरा त के छ भने गाउँमा छिटफुट रूपमा बाँकी रहेका मानिसहरू पनि रोजगारीको खोजीमा भारतलगायत अन्य मुलुकमा जाने गरेका छन्। उनीहरूले विदेशमा गरेको श्रमबाट प्राप्त आम्दानीले समेत स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुभन्दा बाहिरबाट खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु खरिद गर्ने प्रवृत्ति बढाएको छ। यसले ग्रामीण अर्थतन्त्रलाई आयातमुखी बनाउनुका साथै समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा व्यापार घाटाको दबाब बढाउन योगदान पुर्‍याएको देखिन्छ। यसरी गाउँबाट जनशक्ति पलायन हुनु भनेको मानिसहरूको बसोबास मात्र परिवर्तन हुनु होइन, यो त ग्रामीण उत्पादन, श्रमशक्ति, सामाजिक सम्बन्ध र स्थानीय अर्थतन्त्र कमजोर हुँदै जानुको सङ्केत पनि हो।

   ग्रामीण बस्तीको उजाडिँदो अवस्था केवल बसाइँसराइको परिणाम मात्र नभई राज्यको विकास नीति, सेवा प्रवाह र अवसरको असमान वितरणसँग पनि जोडिएको विषय हो। गाउँ बचाउनु भनेको त्यहाँका घर र जमिन मात्र जोगाउनु होइन, गाउँको संस्कृति, मौलिकता, सामाजिक सम्बन्ध र पहिचान जोगाउनु पनि हो। यसका लागि स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध गराउने र कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउने नीति अवलम्बन गर्नुपर्छ। साथै ग्रामीण पूर्वाधार, सडक, सञ्चार, सिँचाइ र बजारको पहुँच विस्तार गर्दै स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्न आवश्यक छ। राज्यले ग्रामीण विकासलाई प्राथमिकतामा राख्दै युवालाई आफ्नै जन्मभूमिमा भविष्य निर्माण गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ। अन्यथा, आज सुनसान बनेका गाउँहरू भोलि इतिहासका पानामा मात्र सीमित हुनेछन् र हाम्रा चोकचौतारीहरू सधैँका लागि मानिसहरूको प्रतीक्षामा रहनेछन्।     

Exit mobile version