पश्चिमी वायुको प्रभाव बढ्दै गएपछि आगामी आइतबारदेखि देशका पश्चिमी क्षेत्रका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपात हुने सम्भावना देखिएको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका विभिन्न स्थानमा मौसम बदली भई वर्षा र हिमपात हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासमेत पर्न सक्ने भएकाले खेतमा काट्न बाँकी रहेको धानबाली तथा सुकाउन राखिएको पराल जोगाउन किसानलाई सुझाव दिइएको छ।
जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेलका अनुसार शुक्रबार र शनिबार भने देशभरको मौसम सामान्यतया सफा रहनेछ। यी दुई दिन पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा हुन सक्ने भए पनि ठूलो मौसमी परिवर्तनको सम्भावना छैन। आइतबारदेखि पश्चिमी वायु सक्रिय हुने र त्यसको प्रभाव क्रमशः पूर्वतर्फ विस्तार हुने अनुमान गरिएको छ।
मौसमविद् पोखरेलले आइतबारदेखि सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागबाट मौसममा परिवर्तन देखिन थाल्ने बताइन्। त्यसपछि यसको प्रभाव गण्डकी प्रदेशसम्म पुग्ने सम्भावना छ। बागमती र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा पनि छिटपुट वर्षा हुन सक्ने उनको आकलन छ।
‘आज र भोलि देशभरको मौसम सामान्यतया सफा रहने देखिन्छ। तर आइतबारदेखि पश्चिमी वायुको प्रभाव बढ्ने भएकाले सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ,’ पोखरेलले मौसमको अवस्थाबारे जानकारी दिँदै भनिन्।
उनका अनुसार विकसित हुन लागेको मौसमी प्रणाली तीव्र गतिमा सर्ने प्रकृतिको छ। यसले कुनै असामान्य विपद्को जोखिम निम्त्याउने सम्भावना भने नरहेको उनले स्पष्ट पारिन्। मध्यम स्तरको वर्षा र हिमपात हुने अनुमान गरिएको छ। यस्तो वर्षाले हिउँदे बालीका लागि आवश्यक चिस्यान उपलब्ध गराउने र कृषि उत्पादनमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
तर वर्षासँगै असिना पर्ने सम्भावना रहेकाले पाक्न तयार भएको धानबालीमा क्षति पुग्न सक्ने भन्दै किसानलाई सतर्क रहन उनले आग्रह गरिन्। ‘वर्षासँगै केही स्थानमा मेघगर्जन र असिनासमेत पर्न सक्ने भएकाले धान काट्न बाँकी रहेका किसानले विशेष सावधानी अपनाउनुपर्छ,’ उनले भनिन्।
विशेषगरी खेतमा काट्न बाँकी रहेको धान र सुकाउन राखिएको पराललाई सुरक्षित स्थानमा राख्नुपर्ने मौसमविद्हरूको सुझाव छ। मौसम बदली र वर्षाको पूर्वानुमान रहेका क्षेत्रमा किसानले बाली भित्र्याउने काममा ढिलाइ नगर्न तथा मौसमी सूचनालाई ध्यान दिनुपर्ने देखिएको छ।
यसैबीच, मनसुनका समयमा एल निनोको प्रभावका कारण कम वर्षा हुने आकलन गरिए पनि नेपालमा नियमित वर्षा भएको सन्दर्भ उल्लेख गर्दै पोखरेलले हिउँदयामको मौसमी अवस्था भने फरक हुन सक्ने बताइन्। अहिले नै ठूलो मौसमी प्रणाली विकास भइनसकेको उनको भनाइ छ।
‘हाल ठूलो मौसमी प्रणाली विकास भइसकेको छैन, त्यसैले आत्तिनुपर्ने अवस्था नरहे पनि विभागको नियमित मौसम पूर्वानुमान र परामर्शमा ध्यान दिनु आवश्यक छ,’ उनले भनिन्।
विभागले विशेषगरी मौसम नक्सामा पहेँलो संकेत गरिएका क्षेत्रका बासिन्दा तथा किसानलाई अद्यावधिक मौसमी सूचना हेरेर मात्रै बाली भित्र्याउने योजना बनाउन आग्रह गरेको छ। मौसमको अवस्था परिवर्तन हुन सक्ने भएकाले विभागबाट जारी हुने नियमित पूर्वानुमान र परामर्शलाई आधार बनाउनुपर्नेमा जोड दिइएको छ। समग्र हिउँदयामको मौसमी विश्लेषण भने विभागले छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ।
