सहकारीले थाल्यो धान खरिद

सरकारी धान खरिदको कोटा आधा घटाइएपछि बाँकेका किसानले उत्पादन बिक्री गर्न समस्या भोगिरहेका बेला राप्तीसोनारीको एक सहकारीले गाउँमै १० हजार क्विन्टल धान खरिद गर्ने अभियान थालेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष बाँकेका लागि १० हजार क्विन्टल मात्रै खरिद कोटा निर्धारण गरेको छ। सरकारी खरिद प्रक्रिया सुरु हुन नसकेको अवस्थामा साकार कृषि सहकारी संस्था लिमिटेडले किसानबाट धान खरिद थालेपछि स्थानीय किसानलाई केही राहत मिलेको छ।

राप्तीसोनारी गाउँपालिका–६ स्थित सहकारीले किसानले उत्पादन गरेका सबै जातका धान खरिद गर्न थालेको हो। किसानलाई उत्पादनको उचित मूल्य दिलाउने र व्यावसायिक कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले गाउँमै खरिद व्यवस्था मिलाइएको सहकारीका मुख्य प्रबन्धक जमानसिंह वलीले बताए।

‘स्थानीय कृषकलाई प्रोत्साहन गर्न र उनीहरूको उत्पादनको उचित मूल्य सुनिश्चित गर्न धान खरिद गर्ने योजना बनाएर खरिद सुरु गरेका हौँ,’ प्रबन्धक वलीले भने, ‘किसानका मेहनतलाई सम्मान गर्दै धानको जातअनुसार मूल्य निर्धारण गरेका छौँ।’

सहकारीले मसिनो धान प्रतिक्विन्टल ३ हजार २०० रुपैयाँमा खरिद गरिरहेको छ। त्यस्तै, राधा–४ मोटो धानको मूल्य प्रतिक्विन्टल २ हजार ८५० रुपैयाँ र हाइब्रिड धानको मूल्य २ हजार ७५० रुपैयाँ निर्धारण गरिएको छ। धान बिक्री गर्न चाहने किसानले आफ्नो उत्पादन सहकारीको गोदाम वा संकलन केन्द्रमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ।

गाउँमै धान बिक्री गर्न पाउने भएपछि राप्तीसोनारी क्षेत्रका किसानलाई बजार खोज्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ। यसले किसानको उत्पादनले उचित बजार पाउने र आर्थिक अवस्थामा समेत सुधार ल्याउन सहयोग पुग्ने मुख्य प्रबन्धक वलीको विश्वास छ।

राप्तीसोनारी–६ फत्तेपुरको टेपरीमा केन्द्रीय कार्यालय रहेको साकार कृषि सहकारीमा ८ हजारभन्दा बढी किसान सदस्य छन्। किसानबाट खरिद गरिएको धान सुरक्षित भण्डारण गर्न राप्तीसोनारी–५ बिनौनास्थित गोदाममा व्यवस्था मिलाइएको सहकारीका अध्यक्ष हुमाशंकर वलीले बताए।

सहकारीले धान खरिदसँगै बिउ उत्पादनमा पनि किसानलाई प्रोत्साहन गर्दै आएको छ। किसानले उत्पादन गरेको बिउ धानसमेत सहकारीले खरिद गर्ने गरेको अध्यक्ष वलीले जानकारी दिए। यसबाट किसानलाई खाद्यान्न उत्पादनसँगै बिउ उत्पादनमा पनि जोडिन अवसर मिलेको उनको भनाइ छ।

किसानको उत्पादन स्थानीयस्तरमै प्रशोधन र बजारीकरण गर्ने लक्ष्यसहित सहकारीले ५५ लाख रुपैयाँ लगानीमा यसै वर्षदेखि अत्याधुनिक ‘सिल्की चामल मिल’ सञ्चालनमा ल्याएको छ। मिल सञ्चालनमा आएपछि राप्तीसोनारीका किसानले उत्पादन गरेको धान सहकारीमार्फत बिक्री गर्न र गाउँमै कुटानी–पिसानीको सुविधा लिन सहज भएको अध्यक्ष वलीले बताए।

‘स्थानीयस्तरमै प्रशोधन र बजारीकरणको व्यवस्था भएपछि किसानलाई आफ्नो उत्पादन बिक्री गर्न सजिलो हुन्छ। यसले व्यावसायिक कृषिप्रतिको आकर्षण पनि बढाउने विश्वास लिएका छौँ,’ अध्यक्ष वलीले भने।

यता, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेमा यस वर्ष धान खरिदको कोटा आधा घटाएर १० हजार क्विन्टलमा सीमित गरेपछि किसानलाई समस्या भएको किसान महासंघ बाँकेले जनाएको छ। सरकारी खरिद कोटा घटेको र खरिद प्रक्रिया पनि सुरु हुन नसकेको अवस्थामा सहकारीले गाउँमै धान खरिद गर्नु किसानका लागि राहत भएको महासंघका अध्यक्ष कृष्णविक्रम केसीले बताए।

उनका अनुसार सरकारले निर्धारण गरेको सीमित कोटाका कारण किसानले उत्पादन गरेको सबै धान बिक्री गर्न पाउने अवस्था छैन। सहकारीको खरिद अभियानले किसानलाई केही सहज बनाए पनि सरकारी निकायले आफ्नो जिम्मेवारीबाट पछि हट्न नहुने उनको भनाइ छ।

किसान महासंघ बाँकेले सरकारले धान खरिदका लागि निर्धारण गरेको कोटा तत्काल बढाउन र खरिद प्रक्रिया सुरु गर्न माग गरेको छ। माग सम्बोधन नभए किसान आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत महासंघले दिएको छ।

Exit mobile version