बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

नेपालगञ्ज (बाँके)—बाँके राष्ट्रिय निकुञ्जका पाँचवटै जङ्गल सफारी रुट सञ्चालनमा आएसँगै जिल्लाको पर्यटन प्रवर्द्धन र पर्यटक आकर्षणका लागि बाँकेका तारे होटल व्यवसायीहरू सक्रिय भएका छन्। आन्तरिक तथा बाह्य पर्यटक, विशेषगरी भारतीय पर्यटकलाई लक्षित गर्दै नेपालगञ्ज र कोहलपुरस्थित तारे होटलहरूले विशेष ‘सफारी प्याकेज’ तयार पार्ने तयारी तीव्र बनाएका छन्।

बाँके राष्ट्रिय निकुञ्जलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने तथा जिल्लामा पर्यटकको आगमन र बसाइ अवधि बढाउने उद्देश्यले होटल व्यवसायीहरूले निकुञ्ज प्रशासन र स्थानीय होमस्टेसँगको सहकार्यमा एकीकृत पर्यटन प्याकेज निर्माणको पहल थालेका हुन्।

नेपाल पर्यटन बोर्ड, नेपालगञ्जका अध्यक्ष दिल्लीराज रेग्मीका अनुसार बाँके राष्ट्रिय निकुञ्जमा पटक–पटक पुगेर सम्भावना र चुनौतीबारे अध्ययन तथा छलफल गरिए पनि अपेक्षाअनुसार पर्यटक आकर्षित गर्न सकिएको छैन। निकुञ्जमा पर्याप्त पर्यटकीय सम्भावना हुँदाहुँदै पनि त्यसलाई प्रभावकारी रूपमा बजारमा स्थापित गर्न नसकिएको अवस्थामा अब होटल व्यवसायीहरूलाई नै योजनाको केन्द्रमा राखेर पर्यटक आकर्षित गर्ने रणनीति अघि बढाइएको उहाँले बताउनुभयो।

रेग्मीका अनुसार निकुञ्जको पर्यटन प्रवर्द्धनलाई होटल व्यवसायसँग जोड्दै पर्यटकका लागि सहज, आकर्षक र व्यवस्थित प्याकेज निर्माण गर्न आवश्यक छ। त्यसैअनुसार बाँकेका तारे होटल सञ्चालकहरूलाई सहभागी गराएर उनीहरूकै अनुभव, लगानी र व्यावसायिक क्षमताको उपयोग गर्दै सफारी प्याकेजको योजना बनाउने काम भइरहेको छ।

प्रस्तावित प्याकेजमा होटलदेखि निकुञ्जसम्मको यातायात व्यवस्था, अनुभवी पथप्रदर्शक (गाइड), निकुञ्ज प्रवेश शुल्क, जिप सफारी तथा स्थानीय परिकारको स्वादलगायतका सेवा समेटिनेछन्। यसले पर्यटकलाई एउटै प्याकेजमार्फत सम्पूर्ण सेवा उपलब्ध गराउनुका साथै स्थानीय समुदाय, होमस्टे र होटल व्यवसायलाई समेत प्रत्यक्ष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ।

निकुञ्जका पाँचवटै सफारी रुट सञ्चालनमा आएपछि पाटेबाघ, चौका, हात्ती, विभिन्न प्रजातिका चराचुरुङ्गी तथा अन्य वन्यजन्तुको अवलोकनका लागि पर्यटकको आकर्षण बढ्ने विश्वास गरिएको छ। प्राकृतिक सम्पदा र जैविक विविधताले भरिपूर्ण बाँके राष्ट्रिय निकुञ्जलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा चिनाउन यस्ता प्याकेज प्रभावकारी हुने पर्यटन व्यवसायीहरूको अपेक्षा छ।

होटल व्यवसायी, निकुञ्ज प्रशासन, पर्यटन बोर्ड र स्थानीय समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउन सके बाँकेलाई पश्चिम नेपालको एक महत्त्वपूर्ण वन्यजन्तु तथा प्रकृतिमा आधारित पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सकिने विश्वास गरिएको छ।

Exit mobile version