कोहलपुर आध्यात्मिक महोत्सवको मूल समारोह समिति विस्तार, तयारीलाई तीव्रता

कोहलपुरमा आगामी माघ १० गतेदेखि १७ गतेसम्म आयोजना हुने कोहलपुर आध्यात्मिक महोत्सव २०८३ को तयारीलाई तीव्रता दिइएको छ। महोत्सवलाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले मूल समारोह समिति विस्तार गर्नुका साथै आगामी कार्यक्रम, कार्ययोजना तथा जिम्मेवारी बाँडफाँटबारे विस्तृत छलफल गरिएको छ।

महोत्सवका संयोजक चक्र अधिकारीको अध्यक्षतामा सम्पन्न छलफलले विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई मूल समारोह समितिका निर्देशक तथा विभिन्न जिम्मेवारीमा चयन गरेको छ। महोत्सवको व्यवस्थापन, सञ्चालन र आवश्यक तयारीलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको आयोजकले जनाएको छ।

छलफलमा माननीय सञ्जु कुमारी थारुसहित अन्य जनप्रतिनिधि, कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख सङ्गीता पौडेल सुवेदीलगायत सामाजिक, धार्मिक तथा राजनीतिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

नीलसागर सेवा आश्रम, कोहलपुरको आयोजनामा हुन लागेको उक्त महोत्सव धार्मिक कार्यक्रमको आयोजनामा मात्र सीमित नरही आध्यात्मिक जागरण, सामाजिक सेवा, मानवीय एकता तथा परोपकारी कार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो। साथै महोत्सवमार्फत नीलसागर सेवा आश्रमको भवन निर्माण अभियानलाई सहयोग जुटाउने लक्ष्यसमेत राखिएको छ।

आयोजकका अनुसार महोत्सवलाई सफल बनाउन विभिन्न संघसंस्था, सामाजिक अभियन्ता, धार्मिक व्यक्तित्व तथा सर्वसाधारणको साथ र सहयोग जुटाउने गरी तयारी अघि बढाइएको छ।

माघ १० गतेदेखि १७ गतेसम्म कोहलपुरमा सञ्चालन हुने महोत्सवलाई आध्यात्मिक जागरणसँगै मानव सेवाको अभियानका रूपमा अघि बढाउने आयोजकको संकल्प छ।

Exit mobile version