उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै सकियो छठ पर्व

उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै यस वर्षको छठ पर्व विधिवत् रूपमा सोमवार सकिएको छ । नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ, बागेश्वरी मन्दिर परिसरस्थित तलाउमा सोमबार बिहान ठूलो संख्यामा भेला भएका व्रतालुहरूले धार्मिक विधिअनुसार सूर्यलाई अघ्र्य दिए ।

चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइने छठ पर्वको अन्तिम दिन बिहानैदेखि बागेश्वरी मन्दिर परिसरमा भक्तजनको भीड लागेको थियो । आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका व्रतालुहरू सोमबार बिहान उदाउँदो सूर्यको प्रतीक्षामा घाटमा पुगेका थिए । सूर्यलाई अघ्र्य दिएर पूजा सम्पन्न गरेसँगै यस वर्षको छठ पर्व समापन भएको हो ।

छठ पर्वका लागि यस वर्ष पनि बागेश्वरी मन्दिर परिसरको तलाउलाई आकर्षक ढंगले सजाएर छठी घाटका रूपमा तयार पारिएको थियो । घाट क्षेत्रमा आकर्षक टेन्ट र विद्युत् बत्तीको सजावट गरिएको थियो । सरसफाइ तथा व्यवस्थापनमा विशेष ध्यान दिइएको थियो । धार्मिक तथा सांस्कृतिक माहोललाई थप आकर्षक बनाउन बाजागाजाको व्यवस्था र भजन प्रस्तुतिका लागि मञ्चसमेत निर्माण गरिएको थियो ।

पछिल्ला वर्षमा नेपालगन्जमा छठ पर्व मनाउनेको संख्या बढ्दै गएको छ । त्यससँगै पर्वको रौनक र उल्लास पनि विस्तार हुँदै गएको देखिन्छ । विशेषगरी पछिल्ला केही वर्षयता बागेश्वरी मन्दिर परिसरस्थित तलाउमा छठ मनाउने व्रतालु तथा श्रद्धालुको उल्लेख्य उपस्थिति रहने गरेको छ ।

कुनै समय विशेषगरी पूर्वी तराईमा धुमधामका साथ मनाइने छठ पर्व अहिले पश्चिम नेपालमा पनि उत्तिकै उत्साह र श्रद्धाका साथ मनाउन थालिएको छ । धार्मिक आस्था, पवित्रता र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको यस पर्वप्रति नेपालगन्जवासीको आकर्षण वर्षेनी बढिरहेको छ । सूर्यलाई जीवन र ऊर्जाको स्रोतका रूपमा पूजा गर्दै मनाइने छठले धार्मिक सहिष्णुता र सामाजिक सद्भावको सन्देशसमेत दिने गरेको छ ।

पर्वको पहिलो दिन व्रतालुहरूले स्नान गरी चोखो भएर अरबा अरबाइन अर्थात् शुद्ध सात्त्विक भोजन ग्रहण गर्छन् । दोस्रो दिन खरना विधि गरिन्छ । यस दिन प्रसादका रूपमा खिर ग्रहण गर्ने परम्परा छ ।

तेस्रो दिन साँझ व्रतालुहरूले जलाशय तथा नदी किनारमा पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् । त्यसपछि रातभर धार्मिक विधि र पूजाको तयारी गरिन्छ । चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्वको समापन हुन्छ । यही परम्पराअनुसार नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा पनि व्रतालुहरूले पूजा सम्पन्न गरेका हुन् ।

हजारौँ व्रतालुले सूर्यलाई चढाए अघ्र्य

दैनिक नेपालगन्ज

सीमावर्ती भारतीय बजार रुपैडिहास्थित हनुमान सरोवरमा सोमबार बिहान हजारौँ व्रतालुले उदाउँदो सूर्यलाई अघ्र्य दिएका छन् । त्यससँगै चारदिने छठ महापर्व सम्पन्न भएको छ । बिहान करिब ६ः१५ बजे सूर्यको पहिलो किरण देखिएपछि सरोवरमा भेला भएका व्रतालु महिलाले विधिपूर्वक पूजा गर्दै सूर्यदेवलाई अघ्र्य अर्पण गरेका हुन् ।

सूर्यको दर्शनसँगै हनुमान सरोवर परिसर छठी मैयाको जयकारले गुञ्जायमान बनेको थियो । व्रतालु महिलाहरू सरोवरको पानीमा उभिएर पूजा गरिरहेका थिए । उनीहरूले परिवारको सुख, समृद्धि, खुसी र सन्तानको दीर्घायुको कामना गर्दै सूर्यदेवको आराधना गरे । अघ्र्य अर्पणपछि छठी मैयाको पूजा गरी परिवारको मंगलकामना गरिएको थियो ।

रुपैडिहा छठ पूजा महोत्सव समितिको आयोजनामा भएको महापर्वमा हजारौँ श्रद्धालुको सहभागिता थियो । व्रतालु महिलासँगै सयौँ परिवारका सदस्य पनि पूजामा सहभागी भएका थिए । हातमा पूजाका डाला, फलफूल, ठेकुवा र पूजासामग्री बोकेर सरोवर पुगेका श्रद्धालुमा बिहानैदेखि उत्साह देखिन्थ्यो । उदाउँदो सूर्यलाई अघ्र्य दिने धार्मिक विधि सम्पन्न गर्न सरोवरमा ठूलो संख्यामा भक्तजन भेला भएका थिए ।

महोत्सवलाई व्यवस्थित बनाउन आयोजक समितिले प्रसाद वितरणको छुट्टाछुट्टै व्यवस्था गरेको थियो । महिला र पुरुषका लागि अलग–अलग स्थानबाट प्रसाद वितरण गरिएको थियो । व्यवस्थापन तथा श्रद्धालुको सुविधाका लागि गरिएको प्रबन्धको सहभागीले प्रशंसा गरेका थिए ।

Exit mobile version