उम्मेदवार खोज्दै जय नेपाल पार्टी

जय नेपाल पार्टीले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशका ७७ वटै जिल्लाबाट सम्भावित उम्मेदवारको नाम संकलन गर्ने भएको छ । पार्टीले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न इच्छुक सक्षम र ऊर्जावान् व्यक्तिहरूलाई पार्टीमा सम्पर्क गर्न आह्वान गर्ने निर्णय गरेको छ ।

पार्टी सभापति डा. धवलशमशेर राणाको अध्यक्षतामा सोमबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले उम्मेदवारको खोजी र नाम संकलन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीले जारी गरेको विज्ञप्तिमा देशभरबाट सम्भावित उम्मेदवारको नामावली संकलन गरिने उल्लेख छ ।

स्थानीय निर्वाचनको तयारीसँगै पार्टीले संविधान संशोधनको लक्ष्यसहित यसअघि सार्वजनिक गरेको आठबुँदे संकल्पलाई देशव्यापी अभियानका रूपमा अघि बढाउने निर्णय पनि गरेको छ । गत कात्तिक १७ गते सार्वजनिक गरिएका संकल्पलाई जनतामाझ पु¥याउने र त्यसबारे जनमत निर्माण गर्ने पार्टीको योजना छ ।

पार्टीका आठबुँदे संकल्पमा संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यको स्थापना, महँगी नियन्त्रण, धर्मान्तरण तथा गौहत्यामा प्रतिबन्ध, बैंक तथा वित्तीय संस्थाका पीडितलाई न्याय र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्नेलगायत विषय समेटिएका छन् । संविधान संशोधनको लक्ष्यसहित अघि सारिएका यी विषयलाई अभियानकै रूपमा जनतामाझ लैजाने निर्णय बैठकले गरेको हो ।

यसैगरी, पार्टीको संगठन विस्तारलाई पनि तीव्रता दिने निर्णय भएको छ । दसैँ, तिहार र छठ पर्वका कारण रोकिएको जिल्ला कार्यसमिति गठन प्रक्रिया पुनः सुरु गरिने भएको छ । कार्यसमिति गठन हुन बाँकी रहेका जिल्लामा संगठन निर्माणको कामलाई तीव्र बनाउने निर्णयसमेत बैठकले गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने क्रममा नरेशकुमार राई, केशव पाण्डे र युवराजा रानालाई सदस्यमा मनोनयन गरेको छ । त्यस्तै, सम्मानित सल्लाहकार समिति सदस्यमा देवेन्द्र पौडेल, टीका उप्रेती, राजकुमार कार्की र कमलराज विष्टलाई मनोनयन गरिएको छ ।

पार्टीले कोशी प्रदेशको संगठनात्मक जिम्मेवारीसमेत तोकेको छ । सुरेशप्रसाद आचार्यलाई प्रदेश इन्चार्ज र नरेशकुमार राईलाई प्रदेश संयोजकको जिम्मेवारी दिइएको छ ।

स्थानीय तह निर्वाचनको स्वरूपबारे पनि पार्टीले छुट्टै छलफल र अध्ययन अघि बढाउने भएको छ । स्थानीय तहको निर्वाचन गैरदलीय रूपमा सञ्चालन गर्नुपर्ने आफ्नो धारणा जनस्तरमा परीक्षण गर्न प्रदेश तहका इन्चार्ज र संयोजकहरूलाई जिम्मेवारी दिने निर्णय गरिएको छ । उनीहरूले यस विषयमा जनताको राय संकलन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ ।

यसरी जय नेपाल पार्टीले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको प्रारम्भिक तयारीसँगै संगठन विस्तार र आफ्ना राजनीतिक संकल्पलाई जनतामाझ लैजाने अभियानलाई पनि एकसाथ अघि बढाउने निर्णय गरेको छ ।

नेपालगन्जमा को ?

वरिष्ठ चिकित्सक डा. विनोद कर्ण जय नेपाल पार्टीमा औपचारिक प्रवेश गरे । हालै भव्य कार्यक्रम आयोजना गरि पार्टी अध्यक्ष डा. धवल शम्शेर राणाले डा. कर्णलाई पार्टीमा स्वागत गरे ।

जय नेपाल पार्टीले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको प्रारम्भिक तयारी गरिरहँदा डा. कर्ण योजनामै पार्टी प्रवेश गरेका हुन् । ‘हाम्रो पार्टीबाट शतप्रतिशत डा. कर्णनै आगामी उम्मेदवार हुन्,’ पार्टी सम्बद्ध स्रोतले दैनिक नेपालगन्जसँग भन्यो, ‘विन्दु चर्तीमगर, नितु चन्द लगायत उपप्रमुख पदका दावेदार छन् ।’

गत साता पार्टी अध्यक्ष डा. राणा नेपालगन्ज आएका बेला बाँकेका सबै तहमा उम्मेदवारको टुंगो लगाउन आवश्यक परामर्श गरि जिम्मा लगाएको सम्बद्ध स्रोतको भनाइ छ । ‘कतिपयलाई निर्वाचनको प्रारम्भिक तयारीसँगै संगठन विस्तार र राजनीतिक संकल्पलाई जनतामाझ लैजान पार्टी नेतृत्वले भनिसकेको छ,’ स्रोतले भन्यो ।

Exit mobile version