आज `ब्रेक थ्रु´ हुने उक्त सुरुङको लम्बाइ ३.४४५ किमि रहेकाे छ ।
तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत मकवानपुरकाे महादेवटारस्थित सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने भएकाे छ ।
सुरुङकाे `ब्रेक थ्रु´ राष्ट्रपति रामचन्द्र पाैडेलकाे उपस्थितिमा गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।
उनका अनुसार राष्ट्रपति पाैडेल हेलिकप्टरबाट साढे ९ बजे महादेवटार आइपुग्ने तय भएकाे छ ।
मकवानपुरकाे भीमफदी गाउँपालिका-८ बाट बकैया गाउँपालिका-१२ जाेड्ने महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरूङ निर्माणाधीन छ । आज `ब्रेक थ्रु´ हुने उक्त सुरुङको लम्बाइ ३.४४५ किमि रहेकाे छ । अर्काेतर्फकाे ३.४८६ किमिकाे सुरुङ गत भदाैमा `ब्रेक थ्रु´ भइसकेकाे छ । फास्ट ट्र्याकअन्तर्गत ७ वटा सुरूङ निर्माणाधीन छन् ।
नेपाली सेनाले द्रुतमार्गलाई १३ वटा प्याकेजमा विभाजन गरी कार्यान्वयन गरिरहेको छ । यसमध्ये प्याकेज १, २, ३, ४, ५, ६, ७, ८ (क), ८ (ख), ९ (क), ९ (ख) र १० निर्माणाधीन तथा कार्यान्वयन चरणमा छन् ।
