जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

शम्भु प्रसाद थारु

बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । वर्षौंदेखि नदी वारपार गर्न सास्ती भोग्दै आएका स्थानीयवासी पुल निर्माणको सम्झौता भएपछि आवागमन सहज हुने आशामा छन् । सडक डिभिजन कार्यालय नेपालगन्ज र श्री एमआर एन्ड ग्रुप, भरतपुर–३, चितवनबीच गत कात्तिक १६ गते पुल निर्माणसम्बन्धी ठेक्का सम्झौता भएको कार्यालयका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर नरेन्द्रप्रसाद भट्टले जानकारी दिए । सम्झौताअनुसार निर्माण कम्पनीले ४२ महिनाभित्र पुल निर्माण सम्पन्न गर्नुपर्नेछ ।

बर्दिया क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य ठाकुरसिंह थारुले पुल निर्माणको काम यथाशीघ्र सुरु गरी निर्धारित समयभित्र सम्पन्न गर्नुपर्ने बताए । उनका अनुसार उक्त पुल बारबर्दिया नगरपालिका–७ स्थित महेन्द्र राजमार्गको रम्मापुर चोकदेखि जयनगर बजार हुँदै जिल्ला सदरमुकाम गुलरिया र वडा नं.१० स्थित नेपाल–भारत सीमा नाका रजनवासम्म जोड्ने प्रमुख सडक मार्गमा पर्छ । उनले भने, ‘महेन्द्र राजमार्गदेखि बारबर्दियाको जयनगर बजार हुँदै हुलाकी राजमार्गमा पर्ने जिल्ला सदरमुकाम गुलरिया तथा भारत आवतजावत गर्ने स्थानीयवासी र यात्रुले लामो समयदेखि सास्ती भोग्दै आएका छन् । त्यसैले पुल निर्माणको काम छिटो सुरु गरी समयमै सम्पन्न गर्न आवश्यक छ ।’

बबई नदीमा निर्माण हुने दुई लेनको पुल ६७ करोड ४५ लाख ६९ हजार १५० रूपैयाँ लागतमा निर्माण गर्ने सम्झौता भएको हो । पुलको लम्बाइ ४२० मिटर र चौडाइ ११ मिटर रहने सिनियर डिभिजनल इन्जिनियर भट्टले जानकारी दिए । सडक डिभिजन कार्यालय नेपालगन्जले गत २०८३ असारमा पुल निर्माणका लागि ठेक्का आह्वान गरेको थियो । ठेक्का प्रक्रियामा चार निर्माण व्यवसायीले प्रतिस्पर्धा गरेका थिए । प्राविधिक तथा आर्थिक प्रस्तावको मूल्याङ्कनपछि श्री एमआर एन्ड ग्रुप छनोट भई सम्झौता भएको उनले बताए । सम्झौताअनुसार निर्माण व्यवसायीले नौ महिनाभित्र माटो परीक्षण प्रतिवेदन स्वीकृत गराउनुका साथै पुलको डिजाइनसमेत स्वीकृत गराउनुपर्नेछ ।

पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको जब्दीघाटको पुरानो पुल हस्तान्तरण नहुँदै २०७२ सालमा आएको बाढीले भासिएको थियो । पुल भासिएपछि ठूला सवारीसाधनको आवागमन बन्द भए पनि पैदलयात्री, साइकल, मोटरसाइकल तथा अटोरिक्साजस्ता साना सवारीसाधन सञ्चालन हुँदै आएका थिए । तर, २०७९ सालको बाढीले पुलका चारवटा मुख्य पिलर जोड्ने तीनवटा स्ल्याब बगाएपछि पुलबाट आवागमन पूर्ण रूपमा बन्द भएको भट्टले जानकारी दिनुभयो । बारबर्दिया नगरपालिका–११ फच्कहवाकी मेनका चौधरीका अनुसार २०७९ सालको बाढीले पुलका स्ल्याब बगाएपछि स्थानीयवासीले पैसा तिरेर डुङ्गा तथा काठे पुलबाट नदी वारपार गर्नुपर्ने बाध्यता छ । पुल निर्माणको ठेक्का सम्झौता भएपछि वर्षौंदेखि भोग्दै आएको सास्ती अन्त्य हुने आशा पलाएको उनले बताइन् । बर्खायाममा बबई नदीमा बाढी आउँदा स्थानीयवासीलाई नदी वारपार गर्न झनै समस्या हुने गरेको छ । जिल्ला सदरमुकाम गुलरिया पुग्न करिब १० किलोमिटर घुमेर जानुपर्ने वा जोखिम मोलेर डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता रहेको गुलरिया नगरपालिका–४ का स्थानीय राममिलन चौधरीले बताए । पैसा तिरेर नदी वारपार गर्नुपर्दा स्थानीयवासीलाई थप आर्थिक भारसमेत पर्ने गरेको उनको भनाइ छ ।

Exit mobile version