‘राप्तीसोनारी नेचर रन’को तेस्रो संस्करण तय

राप्तीसोनारी नेचर रनको तेस्रो संस्करण तय भएको छ । आगामी शनिबार बाँकेको राप्तीसोनारीमा राप्तीसोनारी नेचर रनको तेस्रो संस्करण आयोजना हुने तय भएको हो । धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रूपमा सुरु गरिएको नेचर रनलाई राप्तीसोनारी गाउँपालिकासँगको सहकार्यमा निरन्तरता दिन लागिएको हो ।

आयोजकका अनुसार, यस वर्षको प्रतियोगितामा १० किलोमिटर खुला दौड समावेश गरिएको छ । उक्त दौडमा सबै उमेर समूहका इच्छुक व्यक्तिले सहभागिता जनाउन पाउनेछन् । पाँच किलोमिटर दौडमा राप्तीसोनारीका विद्यालयमा अध्ययनरत छात्र र तीन किलोमिटर दौडमा छात्राले मात्र सहभागिता जनाउन पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

‘छनोट हुने शीर्ष १२ जनालाई नेपालगन्ज म्याराथनमा स्वतः सहभागी गराइने व्यवस्था गरिएको छ,’ धारा नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरीले दैनिक नेपालगन्जसँग भने ।

त्यस्तै, एक किलोमिटर वाकाथन पनि आयोजना गरिनेछ । वाकाथनमा कार्यक्रममा सहभागी अतिथि तथा गाउँपालिकाका नेतृत्व तहमा रहेका व्यक्तिहरू सहभागी हुनेछन् ।

राप्तीसोनारीका बालबालिकालाई सानैदेखि प्रकृतिसँग नजिक बनाउने, प्राकृतिक स्रोतसाधनको संरक्षण र सदुपयोगबारे जागरण फैलाउने उद्देश्यले नेचर रन आयोजना गरिएको कार्यक्रमका परिकल्पनाकार तथा धारा नेपालगन्ज म्याराथनका रणनीतिक एवं अन्तर्राष्ट्रिय समन्वय प्रमुख तीर्थ ओलीले बताए ।

‘यसलाई फगत एउटा रोडरेसका रूपमा मात्रै लैजाने हाम्रो उद्देश्य होइन, दीर्घकालीन महत्वका हिसाबले विकास गर्दै लगिनेछ,’ जर्मनीमा एथ्लेटिक्स प्रशिक्षकका रूपमा कार्यरत ओलीले दैनिक नेपालगन्जसँग भने, ‘अघिल्ला वर्षका आयोजनाभन्दा निकै विस्तृत ढंगले तेस्रो संस्करणको तयारी भइरहेको छ ।’

यस वर्षदेखि राप्तीसोनारी गाउँपालिकाले आयोजनाको स्वामित्व लिएको ओलीले जानकारी दिए । ‘आयोजनालाई सुधार गर्दै लैजान पालिका प्रमुखसहित बैठक र छलफल पनि गरिएका छन्,’ उनले भने । प्रतियोगिताका विजेतालाई नगद पुरस्कार र पदक प्रदान गरिनेछ । ओलीका अनुसार, मंगलवारमात्रै पालिका प्रमुख तप्तबहादुर विष्टको प्रमख उपस्थितिमा आयोजना तयारी बैठक गरिएको हो ।

१२ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रूपमा दुई वर्षअघि राप्तीसोनारी नेचर रन सुरु गरिएको हो । आयोजकका अनुसार, राप्तीसोनारीका विद्यालयका छात्रछात्रालाई लक्षित गरी आयोजना हुने यो दौड हरेक वर्ष निरन्तर सञ्चालन गरिनेछ ।

गतवर्ष कार्तिकमा भएको दोस्रो संस्करणको उपाधि करण नेपाली र आयुसासिंह ठकुरीले जितेका थिए ।

एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) को पूर्णकालीन सदस्य नेपालगन्ज म्याराथनका अन्य भगिनी रेस इभेन्टमा नेपालगन्ज १० नाइट रन, गौघाट ग्रीन रन, काठमाडौं २५के हेरिटेज रेस र कर्णाली हाफ म्याराथन रहेका छन् । गौघाट ग्रीन रन गत महिना आयोजना गरिएको थियो ।

Exit mobile version