नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे यी दुई टीमबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुन लागेको हो । पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग सुदूरपश्चिम रोयल्स ६ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले २० बल अगावै ४ विकेट गुमाएर फाइनल यात्रा सुरक्षित गरेको थियो ।
यता चितवन राइनोजले इलिमिनेटर चरणमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको हो ।
बुधबार भएको इलिमिनेटरमा चितवन राइनोजले काठमान्डु गोर्खाजलाई ६१ रनले पराजित गरेको हो । यो हारसँगै काठमान्डु प्रतियोगिताबाट बाहिरियो । जितसँगै चितवन राइनोले दोस्रो क्वालिफायरमा सुदूरपश्चिमसँग भेट पक्का गरेको हो ।
दोस्रो क्वालिफायर खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।
