सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक NPL को फाइनलमा

चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (NPL) को फाइनलमा प्रवेश गरेको छ।

बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो। अन्तिम एक बल बाँकी रहँदा जित निकालेसँगै सुदूरपश्चिमले लगातार तेस्रो पटक फाइनलमा स्थान सुरक्षित गरेको हो।

लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले सुरुवातमै महत्वपूर्ण विकेट गुमाएको थियो। जर्ज मुन्से ८ र विनोद भण्डारी २३ रनमा आउट भए। स्कट कुगेलेइन र ईशान पाण्डे पनि छिट्टै आउट भएपछि टोली ७.२ ओभरमा ४५ रन बनाउँदा ४ विकेटको क्षतिमा पुगेको थियो।

कप्तान दीपेन्द्रसिंह ऐरीले १५ तथा आरिफ शेखले १० रन बनाए। दबाबपूर्ण अवस्थामा थारिन्दु रत्नायकेले उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्‍याए। उनले ४२ बलमा ७ चौकासहित अविजित ५३ रन बनाए। फाबियन एलेन ५ रनमा रनआउट भए पनि रत्नायके र दीपक बोहराले टोलीलाई जित दिलाए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो।

चितवनका लागि डेभिड मलानले उत्कृष्ट ब्याटिङ गर्दै ५१ बलमा ९ चौका र २ छक्कासहित अविजित ७१ रन बनाए। तर, अन्य ब्याटरले उल्लेखनीय योगदान दिन नसक्दा चितवनले प्रतिस्पर्धात्मक लक्ष्य दिन सकेन।

चितवनका सलाउद्दिन खानले १८ तथा कमल ऐरीले १० रन बनाए।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेइनले २७ रन खर्चेर ३ विकेट लिए। थारिन्दु रत्नायकेले २३ रन दिँदै २ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले समान १ विकेट हात पारे।

यस जितसँगै फाइनलमा पुगेको सुदूरपश्चिमले अब शनिबार उपाधिका लागि लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।

Exit mobile version