‘राप्तीसोनारी नेचर रन’मा पालिकाको साथ
बाँकेको राप्तीसोनारी गाउँपालिकामा आयोजना हुँदै आएको ‘राप्तीसोनारी नेचर रन’को तेस्रो संस्करणमा पालिकाले साथ दिएको छ । भोलि शनिबार आयोजना हुने आयोजनालाई गाउँपालिकाले खेलउत्सवकै रूपमा अघि बढाउँदै सबै जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, खेलाडी तथा सरोकारवालालाई सहभागिताका लागि सार्वजनिक निमन्त्रणा गरेको हो ।
राप्तीसोनारी गाउँपालिका, धारा नेपालगन्ज म्याराथन र मधु सामुदायिक वन उपभोक्ता समूह राप्तीसोनारी–२ को संयुक्त आयोजनामा हुने प्रतियोगिता राप्तीसोनारी–२, मदुवामा शनिवार विहान सञ्चालन हुनेछ । गाउँपालिकाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै प्रतियोगितामा सहभागिताका लागि सबैलाई आह्वान गरेको हो ।
कार्यक्रमको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । प्रतियोगिताका संयोजक तीर्थ ओलीले गाउँपालिकाले सार्वजनिक रूपमा अपनत्व लिएर सहभागिताका लागि आह्वान गरेपछि आफूहरू उत्साहित भएको बताए । ‘पालिकाले यो आयोजनाको अपनत्व लिएकोमा हामी खुशी छौँ,’ उनले दैनिक नेपालगन्जसँग भने ।
गाउँपालिकाका प्रशासनिक अधिकृत ध्रुवराज भट्टराईले सार्वजनिक निमन्त्रणा जारी गर्दै प्रतियोगितामा जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, शिक्षक, खेलाडी, विद्यार्थी तथा अन्य सरोकारवालाको गरिमामय उपस्थितिका लागि आग्रह गरेका छन् ।
आयोजकका अनुसार, यस वर्षको प्रतियोगितामा १० किलोमिटर खुला दौड समावेश गरिएको छ । उक्त दौडमा सबै उमेर समूहका इच्छुक व्यक्तिले सहभागिता जनाउन पाउनेछन् । पाँच किलोमिटर दौडमा राप्तीसोनारीका विद्यालयमा अध्ययनरत छात्र र तीन किलोमिटर दौडमा छात्राले मात्र सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ ।
प्रतियोगिताबाट छनोट हुने शीर्ष १२ जनालाई नेपालगन्ज म्याराथनमा स्वतः सहभागी गराइने व्यवस्था गरिएको आयोजकले जनाएको छ । यसका अतिरिक्त एक किलोमिटर वाकाथनसमेत आयोजना गरिनेछ ।
राप्तीसोनारीका बालबालिकालाई सानैदेखि प्रकृतिसँग नजिक बनाउने, प्राकृतिक स्रोतसाधनको संरक्षण र सदुपयोगबारे जागरण फैलाउने उद्देश्यले नेचर रन आयोजना गरिएको कार्यक्रमका परिकल्पनाकार तथा धारा नेपालगन्ज म्याराथनका रणनीतिक एवं अन्तर्राष्ट्रिय समन्वय प्रमुख ओलीले बताए ।
नेचर रनलाई सामान्य सडक दौडमा मात्र सीमित नराखी दीर्घकालीन महत्वको कार्यक्रमका रूपमा विकास गर्ने आफ्नो उद्देश्य रहेको उनको भनाइ छ । जर्मनीमा एथ्लेटिक्स प्रशिक्षकका रूपमा कार्यरत ओलीले अघिल्ला संस्करणभन्दा यस वर्षको प्रतियोगिता निकै विस्तृत रूपमा आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए ।
