सडक सीमा खाली गर्न खजुराको अल्टिमेटम

‘राइट अफ वे’ खाली गरेर टायलसहितको आकर्षक फुटपाथ बनाउने योजना

बाँकेको खजुरा गाउँपालिकाले नेपालगन्ज–गुलरिया सडक खण्डअन्तर्गत खजुरा बजारदेखि इलाका प्रहरी कार्यालय धनौलीसम्म सडक सीमाभित्र रहेका घरटहरा तथा अन्य संरचना हटाउन १५ दिनको समय दिएको छ ।

गाउँपालिकाले विहीवार सार्वजनिक सूचना जारी गर्दै सडक सीमाभित्र रहेका घरटहरा, पसल, पर्खाल, अस्थायी संरचना तथा अन्य अवरोध हटाई सडक सीमा पूर्ण रूपमा खाली गर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो ।

हुलाकी राजमार्गअन्तर्गत उक्त सडक खण्डमा सडकको दायाँबायाँ १५–१५ मिटर सीमा कायम गरी मापदण्डअनुसार फुटपाथ विस्तार गर्नुपर्ने भएकाले संरचना हटाउन सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित व्यक्ति तथा संस्थाले सडक सीमाभित्र रहेका संरचना आफैँ हटाउनुपर्नेछ । तोकिएको समयभित्र अतिक्रमित संरचना तथा अवरोध नहटाएमा प्रचलित कानुनअनुसार सम्बन्धित निकायसँग समन्वय गरी गाउँपालिकाले नै हटाउने जनाएको छ ।

त्यसरी संरचना हटाउँदा लाग्ने सम्पूर्ण खर्च तथा दायित्व सम्बन्धित व्यक्ति, संस्था वा संरचना धनीबाट असुलउपर गरिने सूचनामा उल्लेख छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलद्वारा जारी सूचनामा सडक सार्वजनिक सम्पत्ति भएकाले यसको संरक्षण, विकास तथा सौन्दर्यकरणमा सबैको सहयोग अपेक्षा गरिएको छ ।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगन्जले खाली गरिएको ठाउँमा आकर्षक फुटपाथ निर्माण गरिने जनाएको छ । ‘राइट अफ वे खाली भयो भने फुटपाथमा टायल हालेर आकर्षक बनाउने योजना हो,’ योजना कार्यालयका प्रमुख लीलाबहादुर भण्डारीले दैनिक नेपालगन्जसँग भने, ‘त्यसले खजुरा बजारलाईनै सुन्दर बनाउन सहयोग गर्छ ।’

Exit mobile version