व्यवसाय मानवअधिकार अन्तरसम्बन्धित

व्यवसाय र मानवअधिकार एकअर्काका परिपूरक भएकाले निजी क्षेत्रले नाफा आर्जनसँगै मानवअधिकार संरक्षणको दायित्व पनि निर्वाह गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपालगन्जमा बिहीबार आयोजित व्यवसाय र मानवअधिकार विषयक अन्तरक्रियाका वक्ताहरूले व्यवसाय सञ्चालन गर्दा श्रमिक, उपभोक्ता, समुदाय र वातावरणको अधिकार संरक्षण गर्नुपर्ने बताएका हुन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघ र इन्सेक नेपालगन्जले डिसिएसँगको साझेदारीमा आयोजना गरेको कार्यक्रममा वक्ताहरूले व्यवसायीले सुरक्षित र भयरहित वातावरणमा व्यवसाय सञ्चालन गर्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने तथा व्यवसायका कारण अरूको मानवअधिकार उल्लंघन हुन नहुने धारणा राखे ।

कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओलीले निजी क्षेत्रले करिब ५० लाखलाई रोजगारी दिएको उल्लेख गर्दै व्यवसाय र मानवअधिकारबीच महत्वपूर्ण सम्बन्ध रहेको बताए । उनले व्यवसाय नाफा आर्जनमा मात्रै सीमित नभई देशको अर्थतन्त्र बलियो बनाउन, सामाजिक उत्तरदायित्व र रोजगारी सिर्जनासँग पनि जोडिएको बताए ।
अध्यक्ष ओलीले उद्योग कानुनबमोजिम सञ्चालनमा आउँदासम्म समस्या नहुने भए पनि सञ्चालनका क्रममा वातावरणीय लगायतका विभिन्न समस्या सिर्जना हुने गरेको बताए । उद्योग सञ्चालनका लागि छुट्टै औद्योगिक क्षेत्र आवश्यक रहेको भन्दै उनले नौबस्ता औद्योगिक क्षेत्र घोषणा भए पनि हालसम्म निर्माण हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे । व्यवसायीलाई समस्या पर्दा संघ समाधानका लागि सधैँ तत्पर रहेको उल्लेख गर्दै उनले मानवअधिकार संरक्षण सबैको साझा दायित्व भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले निजी क्षेत्रले मानवअधिकारका विभिन्न पक्षको प्रत्याभूतिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । व्यवसाय कानुनबमोजिम सञ्चालन हुनुपर्ने र वस्तु तथा सेवाको प्रवाह गुणस्तरीय एवं जिम्मेवारपूर्ण हुनुपर्ने उनको भनाइ थियो ।

इन्सेक क्षेत्रीय संयोजक भोला महतले पहिले मानवअधिकारका विषयमा अधिकारका कुरा मात्रै बढी उठ्ने गरेको भए पनि अहिले संविधानले अधिकारसँगै कर्तव्यलाई पनि जोडेको बताए । उद्योगी तथा व्यवसायीले भयरहित वातावरणमा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने र उनीहरूका कारण अन्य व्यक्तिका मानवअधिकार उल्लंघन हुन नदिन पनि सचेत हुनुपर्ने उनले बताए ।
व्यवसायी फणाधर भण्डारीले व्यवसायीको मानवअधिकार संरक्षणमा ध्यान दिनुपर्ने धारणा राखे । तारा प्रसाद खत्रीले उद्योग तथा व्यवसायबाट उत्पादन हुने फोहोर व्यवस्थापनको जिम्मेवारी कसले लिने भन्ने विषय स्पष्ट हुनुपर्ने बताए । सरकारी निकाय, उपभोक्ता र निजी क्षेत्रबीच समन्वय भए फोहोर व्यवस्थापन प्रभावकारी हुन सक्ने उनको भनाइ थियो ।

राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जका प्रमुख द्वारिका अधिकारीले व्यवसायीले सुरक्षित रूपमा वस्तु तथा सेवा प्रवाह गर्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने बताइन् । विभिन्न आन्दोलनका क्रममा उद्योग तथा व्यवसायमा क्षति पुग्ने गरेकाले त्यस्तो अवस्थामा क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने उनको धारणा थियो । उनले व्यवसायीले उपभोक्ताको अधिकार संरक्षणलाई पनि प्राथमिकता दिनुपर्ने बताइन् ।

कार्यक्रममा व्यवसाय र मानवअधिकार विषयमा अवधारणा प्रस्तुत गर्दै अधिवक्ता वसन्त गौतमले व्यवसायलाई नाफा आर्जन गर्ने माध्यमका रूपमा मात्र बुझ्न नहुने बताए । व्यवसाय सञ्चालन गर्दा श्रमिक, उपभोक्ता, आपूर्तिकर्ता, समुदाय र वातावरणको मानवअधिकार सम्मान गर्नुपर्ने उनको भनाइ थियो । उनले मानवअधिकार र व्यवसायसम्बन्धी अन्तर्राष्ट्रिय सिद्धान्त तथा नेपालको संवैधानिक र कानुनी व्यवस्थाबारे जानकारी गराउँदै संविधानको धारा ३० ले स्वच्छ वातावरणको हक, धारा ३४ ले श्रमको हक र धारा ४४ ले उपभोक्ताको हक सुनिश्चित गरेको उल्लेख गरे । त्यस्तै, श्रम ऐन २०७४, उपभोक्ता संरक्षण ऐन २०७५ र वातावरण संरक्षण ऐन २०७६ ले व्यवसाय सञ्चालनलाई मानवअधिकारसँग जोडेर नियमन गरेको उनले बताए ।

गौतमले व्यवसायीले बालश्रम तथा जबर्जस्ती श्रम निषेध गर्ने, कार्यस्थलमा भेदभाव र दुव्र्यवहार रोक्ने, श्रमिकको स्वास्थ्य तथा सुरक्षा सुनिश्चित गर्ने र उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउनुपर्ने बताए । व्यवसायीले पनि स्वतन्त्र रूपमा व्यवसाय सञ्चालन गर्न पाउने, लगानीको सुरक्षा, सम्पत्तिको अधिकार तथा गैरकानुनी हस्तक्षेप र धम्कीबाट मुक्त रहने अधिकार पाउनुपर्ने उनको भनाइ थियो । उनले मानवअधिकार र व्यवसायका तीन प्रमुख सिद्धान्त संरक्षण, सम्मान र उपचारबारे चर्चा गर्दै मानवअधिकार हनन रोक्नु राज्यको दायित्व, मानवअधिकारमा असर पर्न नदिनु व्यवसायको जिम्मेवारी र पीडितलाई न्याय तथा क्षतिपूर्ति उपलब्ध गराउनु उपचारको पक्ष भएको बताए ।

कार्यक्रममा अधिवक्ता प्रभात सिंह ठकुरी, सुरेश गौतम, बासका कार्यकारी निर्देशक नमस्कार शाह, मन भण्डारी, व्यवसायी मोहम्मद शेर बागवान, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, मंगलप्रसाद महिला कलेजका प्रमुख रविन्द्र कर्णलगायतले व्यवसाय र मानवअधिकारका विविध पक्षमा धारणा राखेका थिए ।

Exit mobile version