प्रकृति, संस्कृति, खेलकुद र ग्रामीण पर्यटनलाई जोड्ने सोचसहित राप्तीसोनारी नेचर रन आरम्भ गरिएको हो ।
तीर्थ ओली
स्वस्थ, स्वच्छ र सभ्य समाज निर्माणमा खेलकुदको भूमिका महत्वपूर्ण हुन्छ । खेलकुदले मानिसलाई शारीरिक रूपमा स्वस्थ राख्नुका साथै अनुशासन, आत्मविश्वास, सहकार्य र सकारात्मक सोचको विकास गर्न सघाउँछ । खेलका विभिन्न विधामध्ये दौड यस्तो माध्यम हो, जसमा बालबालिकादेखि वृद्धवृद्धासम्मले आफ्नो उमेर, क्षमता र अवस्थाअनुसार सहभागी हुन सक्छन् । नियमित अभ्यास र उचित प्रशिक्षणले यही दौडलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको नाम चिनाउने अवसरमा समेत रूपान्तरण गर्न सक्छ ।
अपार पर्यावरणीय वरदानयुक्त राप्तीसोनारीको माटोमा दौडिनु एउटा खेलकुद प्रतियोगितामा सहभागी हुनुमात्रै होइन मलाई लाग्छ, आफ्नै गाउँको प्रकृति, पहिचान र सम्भावनासँग जोडिनु पनि हो ।
त्यसैले पनि यहाँका बालबालिका, युवा र समुदायलाई एउटै सूत्रमा बाँध्दै आफ्नो ठाउँलाई नयाँ ढंगले चिनाउने उद्देश्यले सुरु गरिएको राप्तीसोनारी नेचर रन अहिले एउटा दौड प्रतियोगिताभन्दा फराकिलो अभियानका रूपमा विकास गर्ने सोच अघि बढिरहेको छ भन्ने कुरा हामीले बुझ्नैपर्छ ।
राप्तीसोनारीको माटोले विगतदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउन सक्ने खेलाडी जन्माउँदै आएको छ । यो सम्भावनालाई अझ विस्तार गर्दै आगामी पुस्ताबाट थप क्षमतावान खेलाडी उत्पादन गर्ने र उनीहरूमार्फत गाउँपालिकाको मात्र नभई देशकै गौरव बढाउने अपेक्षा पनि नेचर रनसँग जोडिएको छ ।
त्यसो त यसको परिकल्पना खेलाडी उत्पादनमा मात्र सीमित छैन । राप्तीसोनारीको प्राकृतिक सम्पदा, कला, संस्कृति, स्थानीय जीवनशैली र सामुदायिक पहिचानलाई उजागर गर्दै यस क्षेत्रलाई नयाँ परिचय दिने सोच यसको अर्को महत्वपूर्ण पक्ष हो । यही सोचका साथ राप्तीसोनारीका समुदायलाई एकताबद्ध गर्ने र खेलकुदलाई प्रकृति तथा पर्यटनसँग जोड्ने उद्देश्यले नेचर रनको परिकल्पना गरिएको हो ।
जर्मनीमा एथ्लेटिक्स प्रशिक्षकका रूपमा कार्यरत रहँदा धारा नेपालगन्ज म्याराथनको रणनीतिक एवं अन्तर्राष्ट्रिय समन्वय प्रमुखको जिम्मेवारीले पनि मलाई आफ्नो जन्मथलोमा खेलकुदको माध्यमबाट दीर्घकालीन परिवर्तनको सम्भावना देखाएको हो । वास्तवमै यो एकदिनको दौड वा पदक वितरणमा सीमित हुने कार्यक्रम होइन, स्थानीय समुदायलाई आफ्नो ठाउँको महत्व बुझाउने र त्यसको सम्भावना खोज्न प्रेरित गर्ने अभियान हो । स्थानीय सरकारले पनि बुझेकोमा खुशी लागेको छ ।
यसलाई फगत एउटा रोडरेसका रूपमा मात्रै लैजाने हाम्रो उद्देश्य होइन । दीर्घकालीन महत्वका हिसाबले विकास गर्दै राप्तीसोनारीका बालबालिकालाई सानैदेखि प्रकृतिको महत्व बुझाउने, प्राकृतिक स्रोतसाधनको संरक्षण र सदुपयोगबारे जागरण फैलाउने हाम्रो उद्देश्य हो ।
प्रकृतिसँग जोडिएको समाजले मात्रै आफ्नो प्राकृतिक सम्पदाको वास्तविक महत्व बुझ्न सक्छ । त्यसैले विद्यालय तहका बालबालिकालाई दौडमा सहभागी गराउनु प्रतियोगिताको एउटा पक्ष हो भने उनीहरूलाई प्रकृतिको संरक्षण, वातावरणप्रतिको जिम्मेवारी र स्थानीय सम्पदाको महत्वबारे सचेत बनाउनु यसको अर्को महत्वपूर्ण उद्देश्य हो । बालबालिकाले आफ्नै गाउँको प्रकृति चिन्न थाले भने त्यसको संरक्षणमा उनीहरूको अपनत्व पनि बढ्दै जाने अपेक्षा गर्न सकिन्छ ।
नेचर रनलाई ग्रामीण पर्यटनसँग जोड्ने सम्भावना पनि यहीँबाट सुरु हुन्छ भन्ने विश्वास हो । राप्तीसोनारीमा रहेका प्राकृतिक सम्पदा, स्थानीय संस्कृति, परम्परा, रहनसहन र ग्रामीण परिवेशलाई बाहिरका मानिसमाझ चिनाउन यस्ता कार्यक्रम प्रभावकारी माध्यम बन्न सक्छन् । दौडमा सहभागी हुन आउने खेलाडी, उनीहरूका परिवार, दर्शक तथा अन्य आगन्तुकले स्थानीय भूगोल र जीवनशैली नजिकबाट अनुभव गर्न पाउँछन् । यसले स्थानीय उत्पादन, खानपान, आतिथ्य र अन्य पर्यटन गतिविधिका लागि समेत अवसर सिर्जना गर्न सक्छ ।
ग्रामीण पर्यटनको विकासका लागि एउटा प्रतियोगिता आयोजना गर्नु मात्रै पर्याप्त हुँदैन । स्थानीय समुदायको सहभागिता, प्राकृतिक सम्पदाको संरक्षण, पूर्वाधारको विकास, स्थानीय संस्कृति र उत्पादनको प्रवद्र्धन तथा निरन्तर प्रचार आवश्यक हुन्छ । नेचर रनलाई हरेक वर्ष निरन्तरता दिँदै यसको स्वरूप र प्रभाव विस्तार गर्न सके राप्तीसोनारीको पहिचान स्थापित गर्ने आधार बन्न सक्छ ।
राप्तीसोनारीका सम्पूर्ण समुदायलाई एकताबद्ध गर्दै यहाँको खेलकुद, कला, संस्कृति र प्राकृतिक सम्पदाको पहिचान उजागर गर्नुपर्छ । यो केवल एउटा दौड प्रतियोगिता मात्र होइन, हाम्रो एकता, पहिचान, सम्भावना र उज्ज्वल भविष्य निर्माण गर्ने साझा अभियान हो । त्यसैले पनि नेचर रनको महत्व यसको सहभागिता र पुरस्कारमा मात्रै मापन हुनु हुँदैन । यसले स्थानीय बालबालिकामा प्रकृतिप्रतिको चेतना कति बढायो, समुदायलाई आफ्नो सम्पदाप्रति कति जिम्मेवार बनायो र राप्तीसोनारीलाई बाहिरी संसारसँग जोड्न कति योगदान पु¥यायो भन्ने आधारमा यसको दीर्घकालीन सफलता मापन हुनेछ । यही कारण यसलाई नियमित र व्यवस्थित बनाउँदै स्थानीय पर्यटन तथा सामुदायिक विकासका अन्य पक्षसँग जोड्नु आवश्यक देखिन्छ ।
राप्तीसोनारीको पहिचान यहाँको भूगोल, प्रकृति, संस्कृति र मानिसहरूको जीवनसँग जोडिएको छ । यी सबै पक्षलाई एउटै अभियानमा जोड्ने अवसर नेचर रनले दिन सक्छ । त्यसका लागि आयोजक मात्र होइन, स्थानीय सरकार, विद्यालय, युवा, खेलाडी, व्यवसायी, समुदाय र सरोकारवाला सबैको साझा साथ आवश्यक हुन्छ ।
त्यसैले राप्तीसोनारी नेचर रनलाई आफ्नै कार्यक्रम र आफ्नै गौरवका रूपमा आत्मसात् गर्नु आवश्यक छ । बिदाको दिन केही समय निकालेर सहभागी हुनु, स्वयंसेवकका रूपमा सहयोग गर्नु वा बाहिरबाट आउने पाहुनालाई स्थानीय परिवेशसँग परिचित गराउनु पनि यस अभियानमा योगदान हुन सक्छ ।
अन्ततः दौडको दूरी सकिएपछि प्रतियोगिता समाप्त हुन सक्छ, तर यसले जगाउन खोजेको चेतना र समुदायमा सिर्जना गरेको एकताको यात्रा निरन्तर अघि बढ्नुपर्छ । राप्तीसोनारीलाई खेलकुदको सम्भावना बोकेको क्षेत्र, प्रकृतिसँग रमाउन सकिने गन्तव्य र ग्रामीण पर्यटनको नयाँ पहिचानका रूपमा स्थापित गर्ने सपना यही निरन्तरताबाट सम्भव हुनेछ । यो अवसरको जगमा जलसिंचन गर्ने धारा नेपालगन्ज म्याराथनलाई आजको दिनमा धन्यवाद दिनैपर्छ ।
अनि, यो जगलाई बलियो बनाउने अभिभारामा जोडिएको हाम्रो राप्ती सोनारी पालिका प्रति आभार ! सक्रिय साथका लागि वडा नम्बर २ र यसको नेतृत्व, वडाध्यक्षहरु र यहाँका अग्रजहरु, मधु सामुदायिक वन उपभोक्ता समूह सबैलाई साधुवाद । पहिलो संस्करणदेखिनै राप्तीसोनारी रनलाई प्राथमिकता दिएर प्रचारप्रसारको नेतृत्व लिइरहेको दैनिक नेपालगन्ज प्रति नतमस्तक छु, धन्यवाद । (राप्तीसोनारी नेचर रनका परिकल्पनाकार ओलीसँग दैनिक नेपालगन्जले गरेको संवादमा आधारित)
