तेस्रो संस्करणसम्म आइपुग्दा पालिकाले लियो अपनत्व, समन्वयमा वडा
आज शनिवार बाँकेको राप्तीसोनारीमा ‘राप्तीसोनारी नेचर रन’को तेस्रो संस्करण आयोजना गरिंदैछ । जहाँ तीनसय बढी सहभागी एकसाथ पर्यावरणीय दृष्यकाबीच दौडमा भाग लिंदैछन् ।
राप्तीसोनारी नेचर रनका परिकल्पनाकार, कार्यक्रम संयोजक तीर्थ ओलीका अनुसार, तेस्रो संस्करणमा दुईसय बढी खेलाडीले नाम दर्ता गराएका छन् । ‘सयबढी अन्य सहभागीपनि हुने गरि तयारी छ,’ ओलीले भने । पहिलो वर्ष २० जना खेलाडीले प्रत्यक्ष सहभागिता जनाएको राप्तीसोनारी नेचर रनको गत वर्ष दोस्रो संस्करणमा १ सय २० जनाले भाग लिएका थिए ।
राप्तीसोनारीको मदुवामा हुने यस दौडमा यसवर्ष १० किलोमिटर खुला स्पर्धा समेत समावेश गरिएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए ।
राप्तीसोनारी गाउँपालिका स्तरीय स्कुल दौडमा भने ५ किलोमिटर छात्र एवं ३ किलोमिटर छात्रातर्फको स्पर्धा हुनेछ । साथै, एक किलोमिटर वाकाथन समेत हुनेछ ।
स्कुले बालबालिकालाई सानैदेखि प्रकृतिको महत्व दर्शाउन र प्राकृतिक स्रोत साधनको जगेर्ना एवं सदुपयोग सम्बन्धी जागरण फैलाउने उद्देश्यले राप्तीसोनारी नेचर रन हरेक वर्ष सन्चालन गरिदै आएको धारा नेपालगन्ज म्याराथनका रणनीतिक एवं अन्तर्राष्ट्रिय समन्वय प्रमुखसमेत रहेका ओलीले बताए ।
राप्तीसोनारीको मदुवामा जन्मिएका ओली हाल जर्मनीमा एथ्लेटिक्स प्रशिक्षकका रुपमा कार्यरत छन् । उनी राप्तीसोनारी नेचर रनका परिकल्पनाकार हुन् । ‘तयारी पुरा भएको छ,’ आयोजना संयोजक ओलीले शुक्रवार साँझ दैनिक नेपालगन्जसँग भने, ‘यसपटक देखि गाउँपालिका र वडाले समेत स्वामित्व लिएकाले भव्यतापूर्वक कार्यक्रम गरिंदैछ ।’ उनका अनुसार, दौडका लागि यसवर्ष अभूतपूर्व आकर्षकण देखिएको छ ।
विगत दुई वर्ष धारा नेपालगन्ज म्याराथन म्याराथनकै अगुवाइमा सम्पुर्ण व्यवस्थापन हुँदै आएकोमा यसवर्षदेखि राप्तीसोनारी गाउँपालिकाले आफ्नो वार्षिक कार्यक्रममा सम्बोधन गरेको छ । यस रेसलाई राष्ट्रिय स्तरको रोड रेसका रुपमा विकास गर्दै लैजाने तयारी रहेको पालिका अध्यक्ष तप्त पौडेलले बताएका छन् ।
वार्ड नं २ का वडाध्यक्ष ज्ञानेन्द्रराज ओलीको समन्वयमा मधु सामुदायिक वन समिति एवं विभिन्न स्थानीय संघसंस्थाले सहयोग एवं सहकार्यमा राप्तीसोनारी नेचर रन हुन लागेको हो । यसवर्ष करिव तीन सय जनाको सहभागिता रहने यस रनलाई सबैको साझा कार्यक्रमका रुपमा विकास गर्न लागिएको वडा अध्यक्ष ओलीले बताए ।
‘पालिकालेनै आयोजनाका लागि अपनत्व लिएकाले वडाको समन्वय र सहकार्यलाई बलियो गरि अगाडी बढाइएको छ,’ वडाध्यक्ष ओलीले दैनिक नेपालगन्जसँग भने, ‘यसको निरन्तरता र भव्यतामा हामी सधै सँगै रहनेछौं ।’ वडाध्यक्ष ओलीले वडा कप मार्फत विद्यालयस्तरमा विद्यार्थीहरुलाई खेलसँग जोड्दै आएको वडाले आउदा दिनमा राप्तीसोनारी नेचर रनलाई आफ्नो क्यालेन्डरमा समावेश गर्ने योजना बनाएको बताए ।
राप्तीसोनारी नेचर रनको तेस्रो संस्करणमा देखिएको आकर्षणले आफुहरु उत्साहित भएको धारा नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरी बताउँछन् । आगामी मंसिर १२ गते आयोजना हुने म्याराथनको १३ औं संस्करणको पूर्वतयारीका लागि पनि यो आयोजना उत्तिकै महत्वपूर्ण छ । ‘राप्तीसोनारी नेचर रनमा शीर्ष १२ जनालाई स्वतः धारा नेपालगन्ज म्याराथनको आगामी संस्करणमा सहभागिताको अवसर सुनिश्चित गरिएको छ,’ संस्थापक ठकुरीले दैनिक नेपालगन्जसँग भने ।
