नेपालगन्ज। तेस्रो राप्तीसोनारी नेचर रनको उपाधि स्वस्तिका शाही र टेकेन्द्र डाँगीले जितेका छन्। बाँकेको राप्तीसोनारीस्थित मदुवामा शनिबार सम्पन्न दौडमा स्वस्तिकाले महिला र टेकेन्द्रले पुरुषतर्फको उपाधि जितेका हुन्।
१० किलोमिटर खुला महिलातर्फ स्वस्तिका प्रथम हुँदा रीता कुसारी दोस्रो र नन्दिता थारु तेस्रो भए। त्यसैगरी, खुला पुरुषतर्फ टेकेन्द्र डाँगी प्रथम, निराजन चौधरी दोस्रो र प्रशान्त तामाङ तेस्रो भए।
पालिकास्तरीय विद्यालय छात्रतर्फ भविन्द्र बोहरा, समिर थारु र विशाल यादव क्रमशः पहिलो, दोस्रो र तेस्रो भए। छात्रातर्फको तीन किलोमिटर दौडमा रेणुका चौधरी प्रथम, अनुजा थारु दोस्रो र निस्मा थारु तेस्रो भए।
तीन सयभन्दा बढी धावक सहभागी प्रतियोगितामा सबै विधाका शीर्ष तीन खेलाडीलाई क्रमशः तीन हजार, दुई हजार र एक हजार रुपैयाँ नगदसहित पदक प्रदान गरिएको थियो।
जर्मनीमा बसोबास गर्दै आएका मदुवानिवासी पूर्वराष्ट्रिय खेलाडी तीर्थ ओलीको पहलमा धारा नेपालगन्ज म्याराथनको भगिनी दौड कार्यक्रमका रूपमा राप्तीसोनारी नेचर रन हरेक वर्ष आयोजना हुँदै आएको छ। प्रतियोगिताका शीर्ष १० धावकले आगामी मंसिर १२ गते आयोजना हुने धारा नेपालगन्ज म्याराथनको १२औँ संस्करणमा स्वतः सहभागिता जनाउन पाउने रेस डाइरेक्टर चन्द्र गुरुङले जानकारी दिए।
यसैबीच, एक किलोमिटर वाकाथनमा राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेल, उपाध्यक्ष मनिषा थारु, लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य कृष्णा केसी नमुनालगायत करिब सय जनाको सहभागिता रहेको थियो।
दौडको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष पौडेलले तेस्रो संस्करणदेखि सिंगो गाउँपालिका र वडा नम्बर २ ले समेत प्रतियोगिताको अपनत्व लिएको बताए। उनले प्रतियोगितालाई निरन्तरता दिन आवश्यक आधार तयार भएको उल्लेख गरे।
प्रतियोगिताका विजयी खेलाडीलाई लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य कृष्णा केसी, वडाध्यक्ष ज्ञानेन्द्र ओली र धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीलगायतले पुरस्कार वितरण गरेका थिए।
