मैदानभित्रको खेल, मैदानबाहिरको अर्थतन्त्र

सौगात बिक्रम शाह

एनपीएलले देखाएको खेल पर्यटन र क्षेत्रीय विकासको अवसर


दुई वर्षअघि नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजनपछि मैले यसलाई ‘देशको खेलकुदमा नयाँ युगको सुरुवात’ भनेको थिएँ। नोभेम्बर २१ मा कीर्तिपुरमा भएको तेस्रो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै पहिलोपटक उपाधि जित्न सफल भएको छ। अब प्रश्न त्यो नयाँ युग सुरु भयो कि भएन भन्ने होइन। प्रश्न हो– यस युगको अर्थतन्त्र कसरी चल्छ, कसले कमाउँछ र त्यसको लाभ कहाँसम्म पुग्छ भन्ने प्रश्न हो ।


विज्ञापन, कर्पोरेट र इभेन्ट व्यवस्थापन क्षेत्रमा दस वर्षभन्दा बढी काम गरेको र अहिले आतिथ्य उद्योगमा आबद्ध व्यक्तिका रूपमा हेर्दा एनपीएल अब एउटा क्रिकेट प्रतियोगितामा मात्र सीमित छैन। यो तीव्र गतिमा विकसित भइरहेको व्यावसायिक उद्योग हो। यो लेख त्यही उद्योगको आर्थिक सम्भावना, चुनौती र क्षेत्रीय विकाससँगको सम्बन्धको विश्लेषण हो।


तीन सिजन, तीन छलाङ
नेपाल क्रिकेट संघ (क्यान) का सार्वजनिक वित्तीय विवरणअनुसार पहिलो सिजन (२०२४) मा संघको कुल आम्दानी करिब रू. २७ करोड ७० लाख थियो। दोस्रो सिजन (२०२५) मा यो बढेर रू. ४७ करोड ३६ लाखभन्दा बढी पुग्यो। तेस्रो सिजनका लागि क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले प्रायोजन, टिकट तथा प्रसारणलगायतबाट करिब रू. ७० करोड प्रत्यक्ष आम्दानी हुने अपेक्षा व्यक्त गरेका छन्। टोलीहरूको खर्चसमेत जोड्दा सिजनभरको प्रत्यक्ष आर्थिक कारोबार रू. १ अर्ब ५० करोड नाघ्ने उनको अनुमान छ।


दोस्रो सिजनमा रू. २१ करोड ९६ लाख सञ्चालन खर्च कटाएपछि बाँकी रकममध्ये रू. १६ करोड १८ लाख आठवटै फ्रान्चाइजलाई वितरण गरिएको थियो। यसरी प्रत्येक टोलीले औसतमा करिब रू. २ करोड प्राप्त गर्यो भने क्यानको हिस्सामा रू. ९ करोड २१ लाखभन्दा बढी रह्यो। तेस्रो सिजनका लागि प्रसारण तथा टिकटिङ अधिकारको सम्झौता मात्रै रू. ३३ करोड ५३ लाखको भएको छ। यसबाहेक प्रायोजनबाट करिब रू. २० करोड र टिकट बिक्रीबाट रू. ११ करोडभन्दा बढी आम्दानी हुने अपेक्षा गरिएको छ।


यहाँ एउटा महत्त्वपूर्ण कुरा सम्झिन आवश्यक छ- क्यानको आम्दानी, फ्रान्चाइजको खर्च र समग्र आर्थिक कारोबार एउटै कुरा होइनन्। त्यसैले रू. १ अर्ब ५० करोडलाई वास्तविक नाफा वा क्यानको आम्दानी नभई प्रतियोगितासँग सम्बन्धित अनुमानित प्रत्यक्ष कारोबारका रूपमा बुझ्नुपर्छ। वास्तविक आर्थिक प्रभाव लेखापरीक्षण र विस्तृत अध्ययनपछि मात्रै स्पष्ट हुनेछ।


बजारको दृष्टिकोणबाट हेर्दा एनपीएलको आम्दानी अहिले मुख्यतः प्रसारण अधिकार र प्रायोजनजस्ता कम्पनी–देखि–कम्पनी सम्झौतामा आधारित छ। तर दर्शक र स्थानीय व्यवसायसँग प्रत्यक्ष जोडिने टिकट, मर्चेन्डाइज, होटल तथा आतिथ्य सेवाको सम्भावना अझै पूर्ण रूपमा उपयोग हुन सकेको छैन र आगामी व्यावसायिक छलाङ यही क्षेत्रमा खोज्नुपर्छ।


तीन घण्टाको खेल, चौबीस घण्टाको अर्थतन्त्र
खेल मैदानमा तीन घण्टा चल्छ, तर त्यसले सिर्जना गर्ने आर्थिक गतिविधि चौबीसै घण्टा चल्छ। होटल एसोसिएसन नेपालका कोषाध्यक्ष युवराज श्रेष्ठका अनुसार प्रत्येक टोलीसँग खेलाडी, प्रशिक्षक, सहयोगी कर्मचारी र भिडियोग्राफरसहित करिब ३० देखि ३५ जनाको समूह हुन्छ। प्रतियोगिताअघिको बन्द प्रशिक्षणसमेत जोड्दा टोलीहरूले कम्तीमा छ हप्तासम्म होटल बुक गर्छन्। प्रत्येक टोलीले २५ देखि ३० कोठासम्म प्रयोग गर्ने र होटलमा मात्रै रू. ८० लाखदेखि १ करोड ५० लाखसम्म खर्च गर्ने अनुमान रहेको छ।


यसलाई आठवटा टोलीसँग जोडेर हेर्दा प्रतियोगिताको अवधिमा होटल क्षेत्रमा मात्रै रू. ६ करोड ४० लाखदेखि १२ करोडसम्मको कारोबार हुन सक्छ। यो होटल एसोसिएसनबाट प्राप्त अनुमानमा आधारित मेरो आफ्नो सामान्य गणना हो। यसमा विदेशी खेलाडी, उनीहरूका सहयोगी, प्रशिक्षक, आयोजक, सञ्चारकर्मी र दर्शकको खर्च जोडिएको छैन। आठवटै टोलीका समर्थक विभिन्न प्रदेशबाट कीर्तिपुर पुग्छन्। उनीहरूको खर्च होटल, रेस्टुरेन्ट, यातायात र अन्य सेवामा फैलिन्छ।


होटेल तथा रेस्टुरेन्टहरूले ठूला स्क्रिनमा खेल देखाउँदै विशेष खाना तथा पेय पदार्थका प्याकेज सञ्चालन गरिरहेका छन्।होटेल सिद्धार्थ नेपालगंजले पनि आफ्नो समिट लाउन्जमा प्रतियोगिता भरि बिशेष स्क्रीनिङ गर्दै नेपालगंजका क्रिकेट खेलप्रेमी लागि विभिन्न अफर राखी निरन्तर सेवा दिदै फाइनल खेलमा आफ्नो कैलाश हलमा अझै ठुलो स्क्रीन मार्फत अतिथिलाई मनोरंजन दिन सफल भयो । यसैगरी फ्रान्चाइजका जर्सी र अन्य सामग्रीको बजार पनि विस्तार हुँदै गएको छ। रंगशाला वरपरका साना व्यवसायीले खेलका दिन ग्राहक र बिक्री बढेको अनुभव गरेका छन्।


यसको अर्को महत्त्वपूर्ण लाभ ब्रान्ड प्रचार हो। वेस्ट इन्डिजका चर्चित खेलाडी आन्द्रे रसेलले ढाका टोपी लगाएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दा ५० हजारभन्दा बढी प्रतिक्रिया प्राप्त भएको रिपोर्ट छ। विदेशी खेलाडीका यस्ता पोस्टले नेपाललाई अन्तर्राष्ट्रिय दर्शकमाझ चिनाउन सहयोग गर्छन्।


टोलीहरूले विश्रामका दिन विदेशी खेलाडीलाई सगरमाथा आधार शिविरजस्ता गन्तव्यमा भ्रमण गराउने गरेका छन्। खेलाडीको व्यक्तिगत लोकप्रियता र सामाजिक सञ्जालको पहुँचलाई नेपालको पर्यटन प्रवर्द्धनसँग जोड्न सकिए यो परम्परागत विज्ञापनभन्दा प्रभावकारी माध्यम बन्न सक्छ।


फ्रान्चाइज : टोली मात्र कि वर्षभरि चल्ने ब्रान्ड?
कारोबार बढ्नु र नाफा हुनु एउटै कुरा होइन। टोलीका मालिकहरूले फ्रान्चाइज स्थापना गर्न ६ देखि ८ करोड रुपैयाँसम्म लगानी आवश्यक पर्ने दाबी गरेका छन्। पहिलो दुई सिजनमा प्रतिटोली औसत खर्च रू. ८ देखि १० करोड रहेकोमा यस वर्ष यो बढेर करिब रू. १५ करोड पुग्ने अनुमान छ। केही फ्रान्चाइजले अघिल्ला सिजनमा सञ्चालन घाटासमेत बेहोरेको विवरण सार्वजनिक भएको छ।


यसको समाधान फ्रान्चाइजलाई प्रतियोगिताको एक महिनामा मात्र सक्रिय हुने टोली नभई वर्षभरि सञ्चालन हुने ब्रान्डका रूपमा विकास गर्नु हो। क्षत्रीय प्रायोजक, आधिकारिक मर्चेन्डाइज, फ्यान क्लब, क्रिकेट एकेडेमी, स्थानीय विद्यालय तथा कलेजसँगको साझेदारी र डिजिटल सामग्री उत्पादनले टोलीको आम्दानी विविध बनाउन सक्छ। खेल नभएको समयमा पनि समर्थकसँग सम्बन्ध कायम राख्न सके फ्रान्चाइजको ब्रान्ड मूल्य बढ्छ।
यसले खेलाडी उत्पादनदेखि स्थानीय रोजगारीसम्म नयाँ अवसर सिर्जना गर्न सक्छ। दीर्घकालमा फ्रान्चाइजको दिगोपन नै लिगको व्यावसायिक स्थायित्वको आधार बन्नेछ।


खेल पर्यटन : संख्याले के भन्छ?
यूएन टुरिजमका अनुसार विश्वव्यापी पर्यटन खर्चको करिब १० प्रतिशत खेल पर्यटनसँग सम्बन्धित छ। यो क्षेत्र खेलाडीका रूपमा सहभागी हुनेदेखि दर्शकका रूपमा खेल हेर्न यात्रा गर्ने पर्यटकसम्म फैलिएको छ।
नेपालका लागि यसको सम्भावना अझ महत्त्वपूर्ण छ। सन् २०२५ मा नेपालमा ११ लाख ५८ हजारभन्दा बढी विदेशी पर्यटक आएका थिए। सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्म ९ लाख ९८ हजार ७३४ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अक्टोबरमा मात्रै १ लाख ३२ हजार ८१४ पर्यटक आएका थिए, जुन अघिल्लो वर्षको सोही महिनाभन्दा ३.४ प्रतिशत बढी हो।
अक्टोबरमा पहिलोपटक अमेरिका नेपालको सबैभन्दा ठूलो स्रोत बजार बनेको थियो। अमेरिकाबाट १७ हजार ४३७ पर्यटक आउँदा भारतबाट १२ हजार ९७ पर्यटक आएका थिए। यता सेप्टेम्बरमा दक्षिण एसियाली मुलुकबाट आएका पर्यटकको हिस्सा ३४ प्रतिशतभन्दा बढी थियो।
क्रिकेट दक्षिण एसियाको साझा लोकप्रिय खेल भएकाले यसले भारत, बंगलादेश, श्रीलंका र अन्य क्षेत्रीय बजारका पर्यटकलाई नेपालसँग जोड्ने स्वाभाविक माध्यम बन्न सक्छ। खेल पर्यटनले नेपालको पर्यटन बजारलाई विविधीकरण गर्न पनि सहयोग पुर्‍याउन सक्छ।
तर यहाँ एउटा असहज तथ्य छ-सेप्टेम्बरदेखि नोभेम्बरसम्मको अवधि नेपालको पर्यटनको मुख्य मौसम हो। यस अवधिमा वार्षिक पर्यटक आगमनको करिब ४० प्रतिशत हिस्सा आउने गरेको छ। एनपीएलको तेस्रो सिजन अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन भएकाले होटल व्यवसायका लागि यसको अतिरिक्त प्रभाव सीमित हुन सक्छ। उच्च मौसममा सामान्य पर्यटक र खेल हेर्न आउने दर्शकबीच कोठा तथा सेवाका लागि प्रतिस्पर्धा हुन सक्छ।


त्यसैले खेल पर्यटनको दीर्घकालीन रणनीति बनाउँदा मन्द मौसमलाई पनि ध्यान दिनुपर्छ। अफसिजनमा प्रतियोगिता वा अन्तर्राष्ट्रिय शृङ्खला आयोजना गर्न सके होटल, यातायात र पर्यटन व्यवसायमा वास्तविक अतिरिक्त माग सिर्जना गर्न सकिन्छ।
नेपालका लागि क्रिकेटको क्यालेन्डर विस्तार हुँदै जानु सकारात्मक अवसर हो। डिसेम्बर ४ देखि २१ सम्म नेपालले आईसीसी पुरुष विश्वकप छनोट प्ले–अफ आयोजना गर्दै छ। त्यस्तै जनवरी २१ देखि फेब्रुअरी ६, २०२७ सम्म नेपाल र बंगलादेशले संयुक्त रूपमा आईसीसी महिला यू–१९ टी–२० विश्वकप आयोजना गर्नेछन्। नेपालमा कीर्तिपुर र माथिल्लो मुलपानीमा १५ खेल हुनेछन्।


यी प्रतियोगितालाई छुट्टाछुट्टै खेल कार्यक्रमका रूपमा मात्र नभई पर्यटन प्रवर्द्धनसँग जोडिएको वार्षिक खेल क्यालेन्डरका रूपमा विकास गर्न सकिन्छ।


लुम्बिनी, कर्णाली र सुदूरपश्चिम – पश्चिम नेपालको कोणबाट
लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (NPL) जितेको थियो र यस वर्ष पनि फाइनलमा सुदूरपश्चिम रोयल्स संग पराजित भएको छ । यसले सुदूरपश्चिम रोयल्स र लुम्बिनी प्रदेशमा क्रिकेटप्रतिको आकर्षण र सम्भावना देखाउँछ। तर खेलमा प्राप्त सफलतालाई क्षेत्रीय आर्थिक गतिविधिमा रूपान्तरण गर्न सकिएको छ कि छैन भन्ने प्रश्न महत्त्वपूर्ण छ।


सुदूरपश्चिम रोयल्स पहिलो दुई सिजनमा उपविजेतामा सिमित भएको यसपाली तेस्त्रो संकरणमा उपाधि जित्न सफल भएको छ । यी दुवै क्षेत्र (सुदूरपश्चिम रोयल्स र लुम्बिनी प्रदेश) खेल र समर्थकका हिसाबमा सबै भन्दा अगि भएता पनि पनि खेल, होटल र बजारको मुख्य आर्थिक गतिविधि कीर्तिपुर र काठमाडौंमै केन्द्रित छ। प्रदेशबाट समर्थक काठमाडौं पुग्छन्, टिकट किन्छन् र होटलमा बस्छन्। तर उनीहरूले आफ्नै क्षेत्रमा खर्च गर्ने अवसर तुलनात्मक रूपमा कम पाउँछन्। फ्रान्चाइजको भौगोलिक पहिचान र त्यसले सिर्जना गर्ने आर्थिक लाभबीचको यो दूरी कम गर्नु आवश्यक छ।


नेपालगञ्ज पश्चिम नेपाल, कर्णाली र सुदूरपश्चिमको प्रवेशद्वार हो। बागेश्वरी मन्दिर, गाभर भ्याली, स्थानीय अवधी तथा थारू संस्कृति र खानाका परिकारले बाँकेलाई आफ्नै पर्यटकीय पहिचान दिन्छन्। नजिकै बर्दिया राष्ट्रिय निकुञ्जजस्तो अन्तर्राष्ट्रिय सम्भावना बोकेको पर्यटकीय गन्तव्य छ। तर आर्थिक वर्ष २०८१/८२ मा २८ हजार ६८ रहेको निकुञ्जको पर्यटक आगमन आर्थिक वर्ष २०८२/८३ मा घटेर २७ हजार २५ पुगेको छ। नेपालगञ्जलाई बर्दिया भ्रमण, स्थानीय संस्कृति र आतिथ्य सेवासँग जोडेर पर्यटकको बसाइ अवधि बढाउन सकिन्छ।


त्यस्तै, लुम्बिनी, तिलौराकोट र रामग्रामको धार्मिक पर्यटन तथा कर्णालीका रारा, शे–फोक्सुण्डो र डोल्पाजस्ता गन्तव्यलाई पनि खेल पर्यटनसँग जोड्न सकिन्छ। नेपालगञ्जबाट कर्णालीका केही प्रमुख गन्तव्यसम्म हवाई पहुँच हुनु यसका लागि थप अवसर हो। उता धनगढीमा आईएचजीले ११५ कोठाको होलिडे इन होटल विकास गर्ने सम्झौता गरिसकेको छ। सन् २०२८ मा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको यो परियोजनाले पनि सुदूरपश्चिमको आतिथ्य उद्योगमा लगानीको सम्भावना देखाउँछ।


पश्चिम नेपालका लागि मेरो सुझाव सरल छ। क्रिकेट मैदान पूर्ण रूपमा तयार हुने प्रतीक्षा नगरी अहिलेबाटै फ्यान अनुभवको पूर्वाधार निर्माण गर्नुपर्छ साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम छेत्रमा संकलन हुने मनोरंजन कर स्थानिय खेल परियोजनामा लगानी गरि क्येही सानो भए नि योगदान गर्न सकिन्छ ।

नेपालगञ्ज, बुटवल, भैरहवा, सुर्खेत र धनगढीजस्ता सहरमा खुला स्क्रिनसहितका फ्यान जोन स्थापना गर्न सकिन्छ। ‘क्रिकेट + बर्दिया बाघ सफारी’, ‘क्रिकेट + बागेश्वरी दर्शन’, ‘क्रिकेट + लुम्बिनी भ्रमण’, ‘क्रिकेट + रारा भ्रमण’ र ‘क्रिकेट + शुक्लाफाँटा भ्रमण’ जस्ता प्याकेज निर्माण गर्न सकिन्छ।


यसमा स्थानीय होटल, एयरलाइन्स, यातायात कम्पनी, पर्यटन व्यवसायी र फ्रान्चाइजबीच सहकार्य आवश्यक छ। विशेषगरी नेपालगञ्जका होटलहरूलाई आवास, खानपान, कार्यक्रम व्यवस्थापन र पर्यटन प्याकेजका साझेदार बनाउन सकिन्छ। खेल हेर्न यात्रा गर्ने दर्शकको यात्रा काठमाडौंमा मात्र सीमित नभई काठमाडौं हुँदै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसम्म विस्तार हुनुपर्छ।


अबको बाटो : सात व्यावहारिक सुझाव


१. स्वतन्त्र आर्थिक प्रभाव अध्ययन
क्यान, नेपाल पर्यटन बोर्ड, होटल एसोसिएसन र प्रदेश सरकारले संयुक्त रूपमा एनपीएलको आर्थिक प्रभाव अध्ययन गर्नुपर्छ। होटल अकुपेन्सी, बाहिरबाट आएका दर्शकको संख्या, उनीहरूको बसाइ अवधि, खर्च र स्थानीय व्यवसायमा परेको प्रभावको तथ्यांक संकलन गर्नुपर्छ। मापन नगरिएको आर्थिक गतिविधिलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सकिँदैन।

२. आधिकारिक खेल तथा पर्यटन प्याकेज
टिकट, होटल, यातायात र स्थानीय पर्यटकीय अनुभवलाई एउटै प्याकेजमा बिक्री गर्ने प्रणाली विकास गर्नुपर्छ। यसले दर्शकको बसाइ अवधि बढाउनुका साथै उनीहरूको खर्च स्थानीय व्यवसायसम्म पुर्‍याउन सहयोग गर्छ।

३. वर्षभरि सञ्चालन हुने क्रिकेट क्यालेन्डर
एनपीएल, अन्तर्राष्ट्रिय शृङ्खला, महिला क्रिकेट, युवा प्रतियोगिता र स्थानीय प्रतियोगितालाई जोडेर वर्षभरि खेल गतिविधि सञ्चालन गर्नुपर्छ। विशेषगरी मन्द पर्यटन मौसममा प्रतियोगिता आयोजना गर्ने रणनीति आवश्यक छ।

४. क्षेत्रीय फ्यान जोन र क्रिकेट पूर्वाधार
प्रदेशस्तरमा तत्काल फ्यान जोन स्थापना गर्नुपर्छ। दीर्घकालमा नेपालगञ्ज, धनगढी र अन्य सम्भावित सहरमा क्रिकेट मैदान विकास गरी क्षेत्रीय खेल आयोजना गर्ने स्पष्ट मार्गचित्र बनाउनुपर्छ।

५. स्थानीय खरिद र सीप विकास
होटल, खानपान, यातायात र रंगशाला सेवामा स्थानीय उत्पादन तथा जनशक्तिलाई प्राथमिकता दिनुपर्छ। आतिथ्य, इभेन्ट व्यवस्थापन, डिजिटल मार्केटिङ र खेल व्यवस्थापनमा युवालाई तालिम दिन सकिन्छ।

६. फ्रान्चाइजलाई वर्षभरि सक्रिय ब्रान्ड बनाउने
मर्चेन्डाइज, डिजिटल सामग्री, फ्यान क्लब, क्रिकेट एकेडेमी र क्षेत्रीय प्रायोजनमार्फत फ्रान्चाइजलाई प्रतियोगिताको समयबाहेक पनि सक्रिय राख्नुपर्छ।

७. पारदर्शिता र जवाफदेहिता
क्यान र फ्रान्चाइजहरूले लेखापरीक्षित आय–व्यय विवरण सार्वजनिक गर्नुपर्छ। आम्दानी, सञ्चालन खर्च, पुरस्कार वितरण, फ्रान्चाइजको हिस्सा र स्थानीय आर्थिक प्रभावबारे स्पष्ट विवरण उपलब्ध गराउनुपर्छ। पारदर्शिताले लगानीकर्ता, प्रायोजक र समर्थकको विश्वास बलियो बनाउँछ।
अन्त्यमा ट्रफी एउटै टोलीले उठाउँछ, तर लिगको सफलता आठवटै टोलीको जित–हारले मात्र मापन हुनु हुँदैन। एनपीएलको सबैभन्दा ठूलो पुरस्कार कुनै एउटा कप वा नगद राशि होइन। यसको वास्तविक पुरस्कार होटल, यातायात, कृषि, रेस्टुरेन्ट, पर्यटन, स्थानीय उद्यम र युवा रोजगारीसम्म फैलिने आर्थिक अवसर हो।


यदि एनपीएलले सिर्जना गरेको आर्थिक गतिविधि कीर्तिपुर र काठमाडौंमा मात्र सीमित नभई नेपालगञ्ज, धनगढी, सुर्खेत, बुटवल र देशका अन्य सहरसम्म पुग्न सक्यो भने मात्रै यसले राष्ट्रिय अर्थतन्त्रमा दीर्घकालीन योगदान दिन सक्छ। खेल मैदानभित्र प्रतिस्पर्धा हुन्छ, तर मैदानबाहिर अवसरको सिर्जना हुनुपर्छ। यही अवसरलाई देशव्यापी अर्थतन्त्रमा रूपान्तरण गर्न सकियो भने मात्रै एनपीएलले सुरु गरेको नयाँ युग साँचो अर्थमा सफल हुनेछ।

Exit mobile version