बाँकेमा हरेक बर्ष लाग्ने कार्तिक पूर्णमासीदेखिको ऐतिहासिक मेलाहरूका तयारी सुरु भएको छ ।
जोगागाउँ, गुरुवागाउँ, सिधनियाघाट, रिहार लगायतका क्षेत्रमा बर्षौैदेखि लाग्दै आएका ऐतिहासिक मेला सुरु हुन लागेका हुन् ।
बाँकेको जानकी गाउँपालिकस्थित जोगागाउँ र गुरुवागाउँमा ऐतिहासिक मेला आगामी मंगलबारदेखि सुरु हुँदैछ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी गाउँपालिका वडा नं २ जोगागाउँ र वडा नं ५ गुरुवागाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्ने स्थानीयले जानकारी दिएका छन् ।
‘मेला भव्यतापूर्वक आयोजना गर्न तयारी सुरु भैसकेको छ’, गुरुवागाउँ मेला आयोजक समितिका सल्लाहकार गंगा प्रसाद काँदुले भने, ‘पुस्तौंदेखि लाग्दै आएका मेलाको अहिले ऐतिहासिक महत्व धान्दै आएका छौं ।’ ‘पहिले बजार नहुँदा लाग्ने मेलाको अहिले पनि ऐतिहासिकता जोगाइरहेका छौं’, उनले भने ।
आजदेखि सुरु भएको मेला तीन दिनसम्म सञ्चालन हुने जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकारी दिए । उनका अनुसार पुराना मेलाका रूपमा चिनिएका यी मेला भर्न बाँके, बर्दिया, दाङ, सुर्खेतका विभिन्न स्थानका साथै भारतको रूपैडिहा, नानपारा, श्रावस्ती, खिरी लखिमपुरसम्मबाट भक्तजन आउने गर्दछन् ।
मेलाका क्रममा सांस्कृतिक कार्यक्रमसमेत हुने गर्दछ । मेलालाई स्थानीय तहले समेत प्रवद्र्धन गर्दै आएका छन् । गुरुवागाउँ मेलामा मालसामान खरिदबिक्री, नौटकी, मनोरञ्जनका लागि झुला लगायतका सामाग्री रहने गरेका छन् । यद्यपि, मेलामा विकृति समेत पछिल्लो समय देखिने गरेको स्थानीय बताउँछन् ।
‘हामी सानैदेखि मेला लागेको देख्दै आएका छौं, मेलामा सहभागिताका लागि भारतबाट समेत आफन्तहरू आउने गरेको छन्’, गुरुवागाउँका रुस्तम अली दर्जीले भने ।
कार्तिक शुक्ल पूर्णिमाका अवसरमा मंगलबार राप्तीको सिधनिया घाटमा पनि मेला लाग्ने गरेको छ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा राप्ती नदीमा स्नान गरी दान दिने र पूजाआजा गर्नेको ठूलो भीड लाग्ने गरेको छ । कतिपयले स्नान गरी नदी छेउमा गौदानसमेत गर्ने गर्दछन् । गौदान गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।
‘ऐतिहासिक मेला, महोत्सव जोगाउनु पर्छ, बाँकेमा हुने मेला महोत्सव ऐतिहासिक विरासत जस्तो हो जोगाउनुपर्छ, नयाँ पुस्ता आउँदै गर्दा उनीहरूलाई मेलाको एतिहासिकता बुझाउन आवश्यक’, नेपालगन्जका छोटेलाल गुप्ता भन्छन् ।