नेपालगन्ज उपमहानगर पालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रममा हडियाबाबा मेला आगामी मंसिर १० गतेदेखि सुरु हुने भएको छ । मेला ६१औं बर्षमा प्रवेश गरेको हडिया बाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिएका छन् । ‘बर्षौदेखि लाग्दै आएको धार्मिक मेलालाई यसबर्ष पनि निरन्तरता दिएका छौं’, उनले भने, ‘त्यसका लागि तयारी गरिरहेका छौं ।’
श्रीरामलिला समेत हुने धार्मिक मेलामा मंसिर १० गते रुद्रि पाठपूजा, ११ गते नारद मोह लिला, मंसिर १२ गते श्रीराम जन्म लिला, मंसिर १३ गते ताड्का बध, मंसिर १४ गते अहिल्या उद्दार र मंसिर धनुष यज्ञ सहित समापन हुनेछ ।
हरेक बर्ष मेलामा नेपाल तथा भारतका विभिन्न जिल्लाबाट आठ सय जति साधुसन्त तथा भक्तजन आउने गर्दछन् । ‘दिन, रात दुवै समयमा धार्मिक विभिन्न कार्यक्रमहरू तय भएको छ’, समितिका अध्यक्ष वैश्यले जानकारी दिए ।
मेलामा प्रत्येक दिन उपस्थित साधु, सन्त तथा हडियाबाबाका मेलामा दैनिक उपस्थित हुने १ हजार ५ सय बढी भक्तजनहरूलाई बिहानमा चिया, हलुवा, चना दिउँसोमा दाल, भात, तरकारी, रोटी र साँझमा पुरी तरकारीको भोजन खुवाउने गरिएको छ ।
करिब २० कठ्ठा क्षेत्रफलमा फैलिएको श्री १००८ हडियाबाबा आश्रममा बाबाको समाधिसहित विभिन्न मन्दिर र गौशाला रहेको छ । चारैतिर पर्खालले घेरिएको मन्दिर परिसरभित्र पार्क छ । शान्त वातावरणमा रहेको हडियाबाबा आश्रम धार्मिक आस्थाको केन्द्र पनि हो ।
करिब एक सय वर्षअघि नेपालगन्जमा आएका बाबाले आफ्नो तपस्याको शक्तिबाट चाहेको बस्तु बनाउन सक्ने, भक्तजनहरूको इच्छा पूर्ति गर्नसक्ने जनश्रुति तथा विश्वास रहिआएकाले बाँकेका साथै भारतका विभिन्न क्षेत्रबाट साधु, सन्त तथा हडियाबाबाका भक्तजनहरू प्रत्येक वर्ष मेलामा सहभागी हुने गरेको अध्यक्ष बैशले बताएका छन् ।
मन्दिर परिसरमा हडियाबाबाको समाधि, आश्रम र मन्दिरसहित साधु सन्त बस्न मिल्ने संरचना तथा बगिया रहेको छ । सोही बगियामा हरेक वर्ष हडियाबाबाको वार्षिक पूण्यतिथिमा मेला लाग्ने प्रचलन रहेको छ । अध्यक्ष वैश्यका अनुसार मन्दिरमा आएर भाकल गर्नेहरूको मनोकामना पुरा हुने जनविश्वास रहिआएको छ ।
रामलीला धार्मिक नाटक समेत मञ्चन हुने मेलामा प्रत्येक दिन साँझपख स्थानीयवासीको समेत ठुलो संख्यामा उपस्थिति हुने गरेको छ । मेला अवधिभर प्रत्येक दिन साँझ हडियाबाबा मन्दिरमा दर्शन गर्न र प्रसाद ग्रहण गर्न नेपालगन्जका विभिन्न स्थानका साथै टाढा टाढाबाट समेत झक्तजनहरू आउने गरेको अध्यक्ष वैश्यले बताए । धार्मिक मेलाको अन्तिम दिन मंसिर १५ गते आश्रममा आएका सबै साधु सन्तलाई भोजन गराएर कम्बल र दक्षिणा प्रदान गरेर पठाइने अध्यक्ष वैश्यले जानकारी दिए ।
