बाँकेको डुडुवा गाउँपालिका–४ स्थित राप्ती नदीको सिधनियाघाटमा तीनदिने कार्तिक पूर्णिमा मेला, धनुष यज्ञ तथा भण्डारा कार्यक्रम सुरु भएको छ । कार्तिक पूर्णिमाको अवसरमा आयोजित मेलाको आइतवार धार्मिक विधिअनुसार शुभारम्भ गरिएको हो ।
श्री अष्टोत्तरशत शिवलिङ्ग विश्वंभरनाथ मन्दिर विकास कोषको आयोजनामा सुरु भएको मेलामा माता जानकी निरौलाजीले पूजापाठ गरी धनुष यज्ञको शुभारम्भ गरेकी थिइन् । सो अवसरमा मन्दिरका पुजारी पण्डित रामप्रताप मिश्र शास्त्री महाराजजीले विधिपूर्वक पूजावाचन गरेका थिए ।
शुभारम्भ कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका संघीय मामिला तथा कानूनमन्त्री भण्डारीलाल यादव, प्रदेशसभा सदस्यद्वय मीना श्रेष्ठ र अम्बिका काफ्ले, वडा अध्यक्ष झंकबहादुर थापा, समाजसेवी कामताप्रसाद सोनकरलगायत जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा श्रद्धालु भक्तजनको सहभागिता थियो ।
कार्यक्रममा वक्ताहरूले राप्ती नदीस्थित सिधनियाघाटलाई धार्मिक तथा पर्यापर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको यस क्षेत्रको संरक्षण तथा प्रवर्द्धन गर्न सके स्थानीय पर्यटनसँगै आर्थिक गतिविधि बढाउनसमेत सहयोग पुग्ने उनीहरूको भनाइ थियो ।
मंसिर ६ देखि ८ गतेसम्म सञ्चालन हुने मेलामा भारतको वृन्दावनबाट आएका कलाकारले रहस्य लीला तथा धनुष यज्ञको विशेष प्रस्तुति दिने आयोजकले जनाएको छ । मेलामा श्रद्धालु भक्तजनका लागि भण्डाराको समेत व्यवस्था गरिएको छ ।
कार्तिक पूर्णिमाको धार्मिक तथा सांस्कृतिक महत्त्व उजागर गर्दै सिधनियाघाटको धार्मिक पहिचान स्थापित गर्ने र यस क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले मेला आयोजना गरिएको मन्दिर विकास कोषका अध्यक्ष घनश्याम गुप्ताले बताए ।
मेलाको अन्तिम दिन मंसिर ८ गते साँझ ५ बजे राप्ती नदीको सिधनियाघाटमा गंगा महाआरती आयोजना गरिने मेला व्यवस्थापन समितिका संयोजक विजयकुमार गुप्ताले जानकारी दिए । आयोजकले मेलालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक तयारी गरिएको जनाउँदै धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुन श्रद्धालु भक्तजन, स्थानीयवासी तथा सर्वसाधारणलाई आमन्त्रण गरेको छ ।
