बाँकेमा सय हेक्टर क्षेत्रमा बदाम खेती

बाँकेको डुडुवा गाउँपालिका–६, हिरमिनियाका किसान पछिल्लो समय बदाम खेतीतर्फ आकर्षित हुँदै गएका छन् । कम लगानीमा खेती गर्न सकिने र तुलनात्मक रूपमा राम्रो नाफा हुने भएपछि यहाँका किसानले बदाम खेतीलाई आम्दानीको भरपर्दो माध्यम बनाउन थालेका हुन् ।

लामो समयदेखि बदाम खेती गर्दै आएका स्थानीय किसानले अन्य बालीको तुलनामा यसमा मलखाद, सिँचाइ तथा विषादीको आवश्यकता कम पर्ने भएकाले खेतीलाई निरन्तरता दिँदै आएका छन् । विशेषगरी आलु र मकै खेतीको तुलनामा बदाममा उत्पादन लागत कम पर्ने र नाफा बढी हुने किसानको अनुभव छ ।

स्थानीय किसान आशाराम कोरीका अनुसार हिरमिनियामा मौसमअनुसार एउटै खेतमा विभिन्न बाली लगाउने चलन छ । फागुनमा आलु तयार भएपछि मकै लगाइन्छ । वैशाखतिर मकै भित्र्याएपछि सोही जग्गामा बदाम खेती गरिन्छ । बदाम कात्तिक महिनातिर तयार हुने भएकाले किसानले एउटै जमिनबाट वर्षमा विभिन्न बालीको उत्पादन लिँदै आएका छन् । बदाम खेतीको उत्पादन भने मुख्यतः वर्षामा निर्भर रहने कोरी बताउँछन् । वर्षा राम्रो भए उत्पादन राम्रो हुने र वर्षा कम हुँदा उत्पादन घट्ने गरेको उनको भनाइ छ । यस वर्ष पनि वर्षाका कारण गत वर्षको तुलनामा बदाम उत्पादनमा केही कमी आएको उनले बताए । बदाम खेतीमा मलखादको खासै आवश्यकता नपर्ने भए पनि खेतीका क्रममा श्रम र मेहनत भने बढी लाग्ने उनको अनुभव छ ।

हिरमिनियाको बलौटे प्रकृतिको जमिनमा पानी जमेर नबस्ने भएकाले धान खेती गर्न कठिन छ । तर बदाम, मकै, आलु, तोरीलगायतका बालीका लागि यहाँको माटो उपयुक्त मानिन्छ । यही भौगोलिक अवस्थालाई ध्यानमा राखेर किसानले बदाम खेतीलाई प्राथमिकता दिएका हुन् । स्थानीय किसानले बदामलाई घरायसी प्रयोजनमा मात्र सीमित नराखी बिक्री गरेर आम्दानी गर्ने व्यावसायिक बालीका रूपमा समेत विकास गरेका छन् ।

कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा करिब एक सय हेक्टर क्षेत्रफलमा बदाम खेती हुँदै आएको छ । आर्थिक वर्ष २०८२÷८३ को तथ्याङ्कअनुसार जिल्लामा बदामको औसत उत्पादकत्व प्रतिहेक्टर करिब एक मेट्रिक टन रहेको छ । यसअनुसार जिल्लामा वार्षिक करिब एक सय मेट्रिक टन बदाम उत्पादन हुने गरेको छ ।

कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकृत सुजता शर्माका अनुसार जिल्लाका कतिपय स्थानमा पाइने दोमट माटो बदाम खेतीका लागि उपयुक्त छ । धान खेतीका लागि चिम्टाइलो माटो बढी उपयुक्त हुने भएकाले दोमट माटो भएका क्षेत्रमा किसानले जरेबाली तथा तरकारी खेतीलाई प्राथमिकता दिँदै आएका छन् । डुडुवा गाउँपालिकामा भने बदाम खेतीलाई राम्रो विकल्पका रूपमा अपनाइएको उनले बताइन् ।

बदाम खेतीका लागि छुट्टै विशेष कार्यक्रम सञ्चालनमा नरहे पनि तेलहन बाली विकास कार्यक्रममार्फत यसलाई समेट्न सकिने शर्माको भनाइ छ । किसानको मागका आधारमा बदाम खेतीसम्बन्धी कार्यक्रम सञ्चालन गर्न सकिने र बाली संरक्षण कार्यक्रम तथा बाली क्लिनिकमार्फत किसानलाई प्राविधिक सहयोगसमेत उपलब्ध गराउँदै आएको उनले जानकारी दिइन् ।

कृषि ज्ञान केन्द्रले चालु वर्षको तथ्याङ्क सङ्कलन तथा अद्यावधिक गर्ने क्रममा बदाम खेती गर्ने किसानको संख्या र खेती गरिएको क्षेत्रफल बढ्न सक्ने जनाएको छ । कम लागत, स्थानीय माटोको अनुकूलता र बजारमा बिक्री गरेर आम्दानी लिन सकिने सम्भावनाका कारण बदाम खेती बाँकेका किसानका लागि वैकल्पिक नगदे बालीका रूपमा स्थापित हुँदै गएको छ ।

Exit mobile version