नेपालकै नामबाट नामकरण भएको सहर नेपालगन्ज केवल एउटा भौगोलिक बस्ती होइन, यो नेपालको राष्ट्रिय पहिचान, ऐतिहासिक विरासत, सांस्कृतिक विविधता र सीमावर्ती सम्भावनाको जीवन्त प्रतीक हो । यसको नाममै नेपाल छ, तर विडम्बना के छ भने नेपालगन्जले आफ्नो नामअनुसारको गौरव, गरिमा र विकासको अनुभूति कहिले गर्न पाउने हो भन्ने प्रश्न आज पनि अनुत्तरित छ । नामले राष्ट्रिय पहिचान बोकेको सहरले व्यवहारमा भने अनेक स्थानीय बेथिति, अव्यवस्था, उपेक्षा र विकासका अधुरा सपनासँग जुधिरहनुपरेको छ ।
नेपालगन्जलाई सफा, सुन्दर, व्यवस्थित र समृद्ध बनाउने कुरा भाषणमा जति सुन्दर सुनिन्छ, व्यवहारमा त्यति नै कठिन देखिन्छ । किनकि सहर बिग्रनुमा कुनै एक व्यक्ति, संस्था वा सरकार मात्रै जिम्मेवार हुँदैन । सहरको अवस्था त्यहाँका नागरिकको चेतना, जनप्रतिनिधिको कार्यशैली, प्रशासनको जवाफदेहिता, राजनीतिक नेतृत्वको इच्छाशक्ति र राज्यको प्राथमिकताको संयुक्त प्रतिबिम्ब हो । त्यसैले नेपालगन्जको विकासको बहस गर्दा अरूलाई दोष दिएर आफू उम्किने प्रवृत्तिमाथि पनि प्रश्न उठाउनैपर्छ ।
यतिबेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारत भ्रमणमा रहेको सन्दर्भले यो बहसलाई अर्को रोचक मोड दिएको छ । प्रधानमन्त्रीको विदेश भ्रमण स्वाभाविक रूपमा राष्ट्रिय हित, कूटनीतिक सम्बन्ध, आर्थिक सहकार्य र विकासका अवसरसँग जोडिएको हुन्छ । तर एउटा सामान्य नागरिकका रूपमा प्रश्न उठाउन पाइन्छ, नेपालको प्रतिनिधित्व गर्दै दिल्ली पुगेको नेतृत्वले नेपालको कुन भूगोल, कुन सम्भावना र कुन पीडालाई प्राथमिकतामा राख्छ ? भारतसँगको सम्बन्धको चर्चा हुँदा नेपालगन्जजस्ता सीमावर्ती सहरका मुद्दा पनि राष्ट्रिय एजेन्डामा पर्छन् कि पर्दैनन् ?
दिल्लीका उच्चस्तरीय बैठकमा नेपालका ठूला परियोजनाको चर्चा भइरहँदा नेपालगन्जका धुलाम्मे सडक, अव्यवस्थित बजार, सीमावर्ती व्यापारका समस्या, औद्योगिक सम्भावना, स्वास्थ्य सेवाको चाप र सहरी व्यवस्थापनका चुनौती पनि कुनै फाइलको कुनामा ठाउँ पाउँछन् कि पाउँदैनन् ? यही प्रश्नको वरिपरि नेपालगन्जको विकास र राष्ट्रिय प्राथमिकताको बहस केन्द्रित हुनुपर्छ ।
नाममा नेपाल, विकासमा किन पछाडि ?
नेपालगन्जको सबैभन्दा ठूलो सम्भावना यसको भौगोलिक अवस्थिति हो । भारतसँगको खुला सीमाना, पश्चिम नेपालको व्यापारिक केन्द्र, कर्णाली र सुदूरपश्चिमसँगको सहज पहुँच, विमानस्थल, औद्योगिक क्षेत्र, स्वास्थ्य सेवा र धार्मिक पर्यटनका कारण यो सहर क्षेत्रीय आर्थिक केन्द्र बन्न सक्ने पर्याप्त आधार बोकेको छ । तर सम्भावना हुनु र सम्भावनालाई परिणाममा बदल्नु दुई फरक कुरा हुन् ।
नेपालगन्जसँग बजार छ, तर बजारको व्यवस्थित विस्तार छैन । व्यापार छ, तर व्यापारलाई अन्तर्राष्ट्रिय पहुँचसँग जोड्ने पर्याप्त पूर्वाधार छैन । विमानस्थल छ, तर अन्तर्राष्ट्रिय उडानको सम्भावना पूर्ण रूपमा उपयोग भएको छैन । सीमा नाका छ, तर त्यसलाई आधुनिक व्यापारिक केन्द्रमा रूपान्तरण गर्ने काम अझै अपेक्षाकृत सुस्त छ । सहरसँग इतिहास छ, तर इतिहासको गौरवअनुसारको सहरी सौन्दर्य र व्यवस्थापन अझै निर्माण हुन सकेको छैन ।
नेपालगन्जको नाममा नेपाल छ, तर विकासको नक्सामा यसको स्थान कहाँ छ ? नामले देश चिनाउने सहरले आफ्नो परिचय स्थापित गर्न अझै कति वर्ष कुर्नुपर्ने हो ?
अझ रोचक कुरा, हामी नेपालगन्जलाई नमुना सहर बनाउने भाषण गर्छौँ, तर सडकमा फोहोर फाल्नेलाई नागरिक अधिकारको प्रयोग गरिरहेको ठान्छौँ । सार्वजनिक जग्गा अतिक्रमण गर्दा व्यक्तिगत सम्पत्तिको सुरक्षा सम्झन्छौँ, तर सार्वजनिक सम्पत्तिको संरक्षणमा मौन बस्छौँ । सडक विस्तार चाहिन्छ भन्छौँ, तर आफ्नै घरअगाडिको संरचना हटाउनुपर्ने भएपछि विकासको परिभाषा बदल्छौँ । ट्राफिक व्यवस्थापन चाहिन्छ भन्छौँ, तर नियम पालना गर्ने बेला आफ्नो हतारलाई राष्ट्रिय प्राथमिकता ठान्छौँ ।
यस्तो अवस्थामा सहरको विकासका लागि नगरपालिकाले मात्रै जिम्मेवारी लिनुपर्ने हो कि नागरिकले पनि आफ्नो व्यवहारको ऐना हेर्नुपर्ने हो ?
वास्तवमा नेपालगन्जको विकासको पहिलो शत्रु स्रोतको अभाव मात्रै होइन, सामूहिक जिम्मेवारीबाट भाग्ने हाम्रो पुरानो संस्कार पनि हो । अरूले गरेनन् भन्ने गुनासो गर्न हामी सिपालु छौँ, तर आफूले के ग¥यौँ भन्ने आत्मसमीक्षा गर्न भने त्यति उत्सुक देखिँदैनौँ ।
दिल्लीको टेबलमा नेपालगन्जको आवाज
प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई केवल औपचारिक कूटनीतिक कार्यक्रमका रूपमा हेर्नु पर्याप्त हुँदैन । यो नेपालको आर्थिक भविष्य, व्यापारिक सम्भावना, पारवहन सुविधा र सीमावर्ती विकासको दृष्टिले पनि महत्वपूर्ण अवसर हो ।
नेपाल र भारतबीचको सम्बन्ध केवल दुई सरकारबीचको सम्बन्ध होइन । यो जनस्तरको सम्बन्ध हो, व्यापारको सम्बन्ध हो, संस्कृति र सभ्यताको सम्बन्ध हो । खुला सीमाना भएका कारण दुवै देशका नागरिकको दैनिक जीवन एकअर्कासँग जोडिएको छ । त्यसैले दिल्लीमा हुने उच्चस्तरीय भ्रमणको प्रभाव सीमावर्ती सहरका नागरिकको जीवनमा पनि पर्नुपर्छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघले प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगन्जका तीन महत्वपूर्ण मुद्दा समेट्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको समाचार सार्वजनिक भएको छ । ती मुद्दा हुन्, नेपालगन्ज–दिल्ली सीधा हवाई सेवा, नेपालगन्जसम्म रेलमार्गको विस्तार र नेपालगन्ज एकीकृत जाँचचौकी (क्ष्ऋए) लाई सुख्खा बन्दरगाहका रूपमा विकास गर्ने प्रस्ताव । यी माग केवल कुनै एउटा सहरको व्यावसायिक स्वार्थ होइनन्, पश्चिम नेपालको आर्थिक सम्भावनासँग जोडिएका विषय हुन् ।
अब प्रश्न उठ्छ, नेपालगन्जले मागेको सीधा हवाई सेवा केवल एउटा विमान उडाउने विषय हो ? अवश्य होइन । यो नेपालगन्जलाई दिल्लीसँग, दिल्लीमार्फत अन्तर्राष्ट्रिय बजारसँग र विश्वसँग जोड्ने सम्भावनाको ढोका हो । नेपालगन्ज–दिल्ली सीधा उडान सुरु भयो भने बाँके, बर्दिया, कर्णाली र सुदूरपश्चिमका नागरिकले समेत आवागमनमा सहजता पाउन सक्छन् । पर्यटन, व्यापार, स्वास्थ्य सेवा र लगानीका नयाँ अवसर खुल्न सक्छन् ।
त्यसैगरी रेलमार्गको विस्तार र सुख्खा बन्दरगाह निर्माणले नेपालगन्ज नाकालाई व्यापारिक दृष्टिले नयाँ उचाइमा पु¥याउन सक्छ । आयात–निर्यातको लागत घटाउन, वस्तुको ढुवानी सहज बनाउन र सीमावर्ती व्यापारलाई संस्थागत गर्न यी पूर्वाधार महत्त्वपूर्ण हुन सक्छन् ।
हामी वर्षौँदेखि सम्भावनाको कुरा गर्छौँ, सम्भावनाको सूची बनाउँछौँ, ज्ञापनपत्र बुझाउँछौँ, बैठक गर्छौँ र तस्बिर खिचाउँछौँ । अनि अर्को वर्ष फेरि उही विषयमा नयाँ ज्ञापनपत्र तयार गर्छौँ । विकासका फाइलहरू पुराना हुन्छन्, तर आश्वासनहरू भने हरेक वर्ष नयाँ रङमा सार्वजनिक हुन्छन् ।
के यसपटक त्यो परम्परा तोडिएला ?
राष्ट्रिय प्राथमिकता कि राजधानीकेन्द्रित विकास ? नेपालको विकासको बहसमा एउटा पुरानो रोग छ, राजधानीमा उठेका विषय राष्ट्रिय मुद्दा बन्छन्, तर राजधानीबाहिरका आवश्यकता लामो समयसम्म स्थानीय मागकै सूचीमा सीमित रहन्छन् ।
काठमाडौँमा सडक विस्तार भयो भने राष्ट्रिय विकासको चर्चा हुन्छ । ठूला सहरमा अन्तर्राष्ट्रिय स्तरका पूर्वाधार निर्माण भए देशको समृद्धिको उदाहरण प्रस्तुत गरिन्छ । तर नेपालगन्जले अन्तर्राष्ट्रिय हवाई सम्पर्क, आधुनिक व्यापारिक पूर्वाधार र व्यवस्थित सहरी विकासको माग गर्दा त्यसलाई एउटा जिल्लाको सामान्य मागका रूपमा बुझ्ने प्रवृत्ति देखिन्छ । यो सोचमा परिवर्तन आवश्यक छ ।
नेपालगन्जको विकास हुनु भनेको बाँकेको मात्रै विकास हुनु होइन । यो पश्चिम नेपालको आर्थिक गतिविधि विस्तार हुनु हो । कर्णालीका उत्पादनलाई बजारसँग जोड्नु हो । मध्य तथा सुदूरपश्चिमको पर्यटनलाई अन्तर्राष्ट्रिय पहुँच दिनु हो । सीमावर्ती व्यापारलाई व्यवस्थित बनाउनु हो । यस अर्थमा नेपालगन्जको विकास राष्ट्रिय अर्थतन्त्रको विकेन्द्रीकरणसँग प्रत्यक्ष जोडिएको छ ।
प्रधानमन्त्री बालेनले भारत भ्रमणका क्रममा राष्ट्रिय हितका विषय उठाउनु स्वाभाविक हो । हवाई मार्ग, व्यापार घाटा, सीमा विवाद, ऊर्जा, पारवहन, लगानी र आर्थिक सहकार्यजस्ता विषय कूटनीतिक प्राथमिकतामा पर्नुपर्छ । तर यस्ता राष्ट्रिय विषयभित्र नेपालगन्जजस्ता सीमावर्ती सहरको आवश्यकता पनि समेटिनुपर्छ ।
भारतसँगको सम्बन्धमा नेपालले केवल ठूला परियोजनाको कुरा गरेर पुग्दैन । सीमामा बस्ने नागरिकले भोगिरहेका दैनिक समस्या, व्यापारिक अवरोध, आवागमनका कठिनाइ र स्थानीय आर्थिक सम्भावनालाई पनि राष्ट्रिय कूटनीतिक प्राथमिकतामा राख्नुपर्छ ।
प्रधानमन्त्रीको भ्रमणको तयारीसम्बन्धी सार्वजनिक विवरणमा हवाई सम्पर्क, व्यापार, ऊर्जा र पारवहनका विषय समेटिएका छन् । तर नेपालगन्जका विशिष्ट मागले कस्तो स्थान पाउँछन् भन्ने कुरा भ्रमणका उपलब्धि र त्यसपछिका कार्यान्वयनले निर्धारण गर्नेछन् ।
बालेनको शैली र नेपालगन्जको अपेक्षा
प्रधानमन्त्री बालेन्द्र शाहको राजनीतिक पहिचान परम्परागत राजनीतिक संस्कारभन्दा फरक शैली, कामप्रतिको जोड र स्थापित संरचनामाथि प्रश्न उठाउने प्रवृत्तिसँग जोडिएको छ । जनताले पनि नयाँ नेतृत्वबाट पुरानै भाषणको पुनरावृत्ति होइन, परिणाममुखी शासनको अपेक्षा गरेका छन् ।
तर परिवर्तनको वास्तविक परीक्षा भाषणमा होइन, निर्णयमा हुन्छ । सामाजिक सञ्जालमा लोकप्रिय हुनु र अन्तर्राष्ट्रिय कूटनीतिमा राष्ट्रिय हित स्थापित गर्नु फरक विषय हुन् । त्यस्तै, कुनै सहरको अव्यवस्थामाथि प्रश्न उठाउनु र त्यसलाई व्यवस्थित बनाउने संस्थागत क्षमता निर्माण गर्नु पनि फरक कुरा हो ।
नेपालगन्जले प्रधानमन्त्रीसँग कुनै असम्भव माग गरेको छैन । उसले आफ्नो भौगोलिक अवस्थिति र आर्थिक सम्भावनाअनुसारको अवसर मागेको हो । नेपालगन्जलाई दिल्लीसँग सीधा जोड्ने हवाई सेवा, रेलमार्गको पहुँच र आधुनिक सुख्खा बन्दरगाहको अवधारणा त्यसैका उदाहरण हुन् ।
प्रधानमन्त्रीले यी मागलाई कति गम्भीरतापूर्वक लिनुहुन्छ भन्ने कुरा उहाँको नेतृत्वको कार्यक्षमताको एउटा महत्वपूर्ण परीक्षण हुनेछ ।
तर यहाँ अर्को प्रश्न पनि छ ? नेपालगन्जले आफ्ना माग प्रधानमन्त्रीसमक्ष राखेर मात्रै आफ्नो दायित्व पूरा गर्छ त ? कदापि गर्दैन ।
स्थानीय सरकार, प्रदेश सरकार, संघीय सांसद, राजनीतिक दल, उद्योगी व्यवसायी, नागरिक समाज र सञ्चारमाध्यम सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । एउटा ज्ञापनपत्र बुझाएर जिम्मेवारी पूरा भएको ठान्ने प्रवृत्तिले विकास हुँदैन । प्रधानमन्त्रीले दिल्लीमा कुरा उठाउनुअघि नेपालगन्जले आफ्ना प्राथमिकता स्पष्ट, तथ्यपरक र कार्यान्वयनयोग्य ढङ्गले प्रस्तुत गर्न सक्नुपर्छ ।
सहर सफा बनाउने जिम्मेवारी प्रधानमन्त्रीको मात्रै हो ?
नेपालगन्जलाई सुन्दर बनाउने बहस गर्दा हामीले आफ्नै व्यवहारमाथि पनि प्रश्न गर्नुपर्छ । प्रधानमन्त्री भारतमा हुनुहुन्छ, तर नेपालगन्जको सडकमा फोहोर कसले फालिरहेको छ ? दिल्लीमा विकासको सम्झौता हुँदै गर्दा यहाँ सार्वजनिक स्थानमा अव्यवस्था कसले निम्त्याइरहेको छ ? अन्तर्राष्ट्रिय विमानस्थलको माग गर्दै गर्दा आफ्नै सहरको सडक र बजार व्यवस्थित बनाउन कसले अवरोध गरिरहेको छ ?
प्रधानमन्त्रीले दिल्लीमा नेपालगन्जको विकासको कुरा उठाउन सक्नुहोला, तर यहाँको सडकमा जथाभावी फोहोर फाल्नबाट नागरिकलाई उहाँले कसरी रोक्नुहुन्छ ?
नगरपालिकाले सरसफाइ अभियान सञ्चालन गर्न सक्छ, तर नागरिकले साथ नदिए त्यसको परिणाम दीर्घकालीन हुँदैन । नगरपालिकाले सडक व्यवस्थापन गर्न सक्छ, तर राजनीतिक दबाब र व्यक्तिगत स्वार्थका कारण नियम कार्यान्वयन गर्न नसके सहर व्यवस्थित हुँदैन । जनप्रतिनिधिले विकासको योजना बनाउन सक्छन्, तर नागरिकको सहभागिताबिना योजना कागजमै सीमित हुन्छ ।
हामीले बुझ्नुपर्ने कुरा के हो भने सहरको सुन्दरता केवल सडकमा बिछ्याइएको कालोपत्रे होइन । सहरको सुन्दरता नागरिकको संस्कारमा पनि हुन्छ । सडकमा फोहोर नफाल्ने चेतना, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारी, ट्राफिक नियमको पालना, व्यवस्थित व्यापार र सामाजिक सद्भाव पनि विकासकै आधार हुन् ।
नेपालगन्जको विशेषता यसको विविधता हो । यहाँ विभिन्न भाषा, धर्म, संस्कृति र समुदायका मानिसहरू पुस्तौँदेखि सँगै बस्दै आएका छन् । यो सामाजिक सद्भावलाई अझ बलियो बनाउनु पनि सहर विकासको महत्वपूर्ण पक्ष हो ।
हामीले सहरलाई केवल भवन र सडकको संरचनाका रूपमा होइन, साझा जीवनको सभ्यताका रूपमा बुझ्नुपर्छ ।
नेपालगन्जलाई चाहिएको विकासको स्पष्ट खाका
नेपालगन्जलाई देशकै नमुना सहर बनाउने हो भने अब टुक्राटुक्रे योजना र मौसमी अभियानभन्दा माथि उठ्नुपर्छ । कम्तीमा पाँचवटा विषयमा दीर्घकालीन प्रतिबद्धता आवश्यक छ ।
पहिलो, आधुनिक सहरी व्यवस्थापन । सडक, ढल, खानेपानी, फोहोर व्यवस्थापन, पार्किङ, हरियाली र सार्वजनिक खुला क्षेत्रलाई एकीकृत योजनाअन्तर्गत विकास गर्नुपर्छ ।
दोस्रो, अन्तर्राष्ट्रिय व्यापारिक केन्द्र । नेपालगन्ज नाकालाई आधुनिक सुख्खा बन्दरगाहका रूपमा विकास गर्दै रेलमार्ग र अन्य ढुवानी पूर्वाधारसँग जोड्ने पहललाई तीव्रता दिनुपर्छ ।
तेस्रो, हवाई सम्पर्क र पर्यटन । नेपालगन्ज–दिल्ली सीधा हवाई सेवा तथा क्षेत्रीय पर्यटन सञ्जाल विस्तारका लागि संघीय सरकारले कूटनीतिक र प्राविधिक पहल गर्नुपर्छ । बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, कर्णाली र सुदूरपश्चिमका पर्यटकीय गन्तव्यलाई नेपालगन्ज केन्द्रित पर्यटन सञ्जालमा जोड्न सकिन्छ ।
चौथो, स्वास्थ्य, शिक्षा र औद्योगिक विकास । भेरी अस्पताललगायतका स्वास्थ्य संस्थाको क्षमता विस्तार, प्राविधिक शिक्षाको विकास र स्थानीय उद्योगमा लगानीको वातावरण निर्माण गर्नुपर्छ । नेपालगन्जलाई पश्चिम नेपालको स्वास्थ्य तथा शैक्षिक सेवाको विश्वसनीय केन्द्र बनाउन सकिन्छ ।
पाँचौँ, सुशासन र जवाफदेहिता । विकास बजेटको पारदर्शी उपयोग, सार्वजनिक सुनुवाइ, नियमित अनुगमन र नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नुपर्छ । योजनाको उद्घाटनभन्दा त्यसको गुणस्तर र परिणामलाई महत्व दिने संस्कार बसाल्नुपर्छ । यी कामका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच स्पष्ट जिम्मेवारी र समन्वय आवश्यक छ ।
अन्तिम प्रश्न ः नेपालगन्जको भाग्य कसले लेख्ने ?
प्रधानमन्त्री बालेनको भारत भ्रमणको चर्चा भइरहँदा नेपालगन्जले दिल्लीबाट ठूलो अपेक्षा राख्नु अस्वाभाविक होइन । तर एउटा सहरको भविष्य विदेश भ्रमणको एजेन्डामा मात्रै निर्भर हुन सक्दैन । कूटनीतिक अवसरलाई विकासको परिणाममा बदल्ने क्षमता आफ्नै नेतृत्व र संस्थाहरूमा पनि हुनुपर्छ ।
नेपालगन्जका मुद्दा प्रधानमन्त्रीको भ्रमणमा समेटिए भने त्यो सकारात्मक उपलब्धि हुनेछ । समेटिएनन् भने पनि नेपालगन्जको आवाज रोक्नु हुँदैन । संघीय सरकारलाई निरन्तर ध्यानाकर्षण गराउने, तथ्यसहित माग प्रस्तुत गर्ने र स्थानीय स्तरमा गर्न सकिने काम तत्काल सुरु गर्ने जिम्मेवारी हामी सबैको हो ।
हामीले प्रधानमन्त्रीलाई प्रश्न गर्नुपर्छ, नेपालगन्जको विकासका लागि भारतसँग के कुरा उठाउनुभयो ? तर त्यत्तिकै इमानदारीपूर्वक आफूलाई पनि प्रश्न गर्नुपर्छ, नेपालगन्जलाई सफा, सुन्दर र व्यवस्थित बनाउन मैले के गरेँ ?
दिल्लीमा नेपालगन्जको नाम उच्चारण हुनु गौरवको विषय होला, तर नेपालगन्जका सडक, बजार, सार्वजनिक स्थल र नागरिकको जीवनस्तरमा परिवर्तन आउनु वास्तविक गौरव हुनेछ ।
नेपालकै नामबाट नामकरण भएको सहरले आफ्नो नामको गरिमा व्यवहारमै स्थापित गर्न सक्नुपर्छ । नाममा नेपाल भएर मात्रै पुग्दैन, काममा पनि नेपाल देखिनुपर्छ । विकासको नारा दिएर मात्रै पुग्दैन, परिणाममा विकास देखिनुपर्छ । प्रधानमन्त्रीको भ्रमणमा मुद्दा उठेर मात्रै पुग्दैन, ती मुद्दा कार्यान्वयनको चरणमा पुग्नुपर्छ ।
अन्ततः एउटा सहरको विकास प्रधानमन्त्रीको भाषण, मन्त्रीको आश्वासन वा नगरपालिकाको विज्ञापनले होइन, इमानदार नेतृत्व, जिम्मेवार नागरिक र निरन्तरको सामूहिक प्रयासले हुन्छ । त्यसैले अब प्रश्न केवल यति होइन, बालेनले दिल्लीमा नेपालगन्जको कुरा उठाउनुहुन्छ कि उठाउनुहुन्न ?
मुख्य प्रश्न त यो हो, हामी आफैँ नेपालगन्जको कुरा उठाउन, यसको विकासका लागि एकजुट हुन र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न तयार छौँ कि छैनौँ ?
नेपालगन्ज हाम्रो हो । यसको गौरव पनि हाम्रो हो । यसको अव्यवस्था सुधार्ने जिम्मेवारी पनि हाम्रै हो । यसको भविष्य अरूले आएर लेखिदिने होइन, हामी आफैँले लेख्ने हो ।
दिल्लीमा नेपालको आवाज बुलन्द होस्, नेपालगन्जको मुद्दा राष्ट्रिय प्राथमिकतामा परोस् र नेपालगन्जको विकासमा स्थानीय नागरिकको सक्रिय सहभागिता स्थापित होस् ।
किनकि नेपालगन्ज केवल एउटा सहर होइन, नेपालको नाम बोकेको हाम्रो साझा पहिचान हो । यसको गौरव जोगाउनु कुनै एक राजनीतिक दल, जनप्रतिनिधि वा सरकारको जिम्मेवारी होइन, यो हामी सबैको साझा दायित्व हो ।
