दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र भइरहेका बेला प्रतियोगिताको प्रचारप्रसार र खेलकुदप्रति उत्साह जगाउने उद्देश्यले सोमबार वीरेन्द्रनगरमा बृहत् सद्भाव ¥याली तथा मार्चपास निकालिएको छ ।
बिहान ११ बजे मंगलगढी चोकबाट सुरु भएको ¥यालीले वीरेन्द्रनगर बजार परिक्रमा गरी कर्णाली प्रदेश रङ्गशालामा पुगेर समापन भएको थियो। ¥यालीमा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, खेलाडी, विद्यार्थी, सुरक्षाकर्मी र सर्वसाधारणको सहभागिता थियो ।
¥यालीमा विभिन्न पालिकाका मौलिक कला र संस्कृति झल्काउने सांस्कृतिक झाँकी तथा हुड्केसहितका प्रस्तुति पनि देखाइएको थियो। राष्ट्रिय खेलकुदलाई सफल बनाउन, खेलकुदप्रति जनस्तरमा उत्साह बढाउन तथा आपसी सद्भाव, एकता र सांस्कृतिक विविधताको सन्देश प्रवाह गर्न ¥याली आयोजना गरिएको आयोजकले जनाएको छ ।
मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई लक्षित गर्दै कर्णाली प्रदेश रङ्गशालामा चहलपहल बढेको छ । कर्णाली प्रदेशबाट छनोट भएका खेलाडीहरू रङ्गशालामा बन्द प्रशिक्षणमा जुटेका छन् भने प्रतियोगितामा सहभागी हुने खेलाडी तथा प्रशिक्षकहरू पनि तयारीमा केन्द्रित भएका छन् ।
प्रतियोगितामा ३२ खेल समावेश छन्। तीमध्ये एथ्लेटिक्स, महिला तथा पुरुष क्रिकेट, ह्यान्डबल, बास्केटबल, रग्बी, सेपाकताक्रो, हक्की, भलिबल र कबड्डीलगायतका खेल सुर्खेतमा सञ्चालन हुनेछन् ।
त्यस्तै, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, स्क्वास, आर्चरी, भारोत्तोलन, साइक्लिङ र ई–स्पोट्र्सलगायतका प्रतियोगिता पनि सुर्खेतका विभिन्न स्थानमा आयोजना हुनेछन् । प्रतियोगिताका केही खेल भने मंसिर ८ गतेदेखि नै सुरु हुने जनाइएको छ ।
प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न आयोजकले मूल समारोह समितिसहित १४ वटा विभिन्न समिति गठन गरेको छ ।
