लुम्बिनीका १०९ स्थानीय तहलाई १० करोड ९० लाख अनुदान
लुम्बिनी प्रदेश सरकारले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्यसहित प्रदेशभर अभियान अघि बढाएको छ । बालविवाह रोकथामका लागि तयार गरिएको १० वर्षे रणनीतिक योजनाअनुसार प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ मा १० करोड ९० लाख रुपैयाँ विनियोजन गरी प्रदेशका सबै १०९ स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो ।
प्रदेश सरकारले विनियोजित रकममध्ये प्रत्येक स्थानीय तहलाई १० लाख रुपैयाँका दरले सशर्त अनुदान हस्तान्तरण गरिसकेको जनाएको छ । स्थानीय तहसँगको सहकार्यमा जोखिममा रहेका समुदाय र बालबालिकाको अवस्थालाई ध्यानमा राखेर रोकथामका कार्यक्रम सञ्चालन गर्ने गरी बजेट व्यवस्थापन गरिएको सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले बताए ।
‘बालविवाह अन्त्यका लागि प्रदेश सरकारले मात्रै प्रयास गरेर पुग्दैन । स्थानीय तहको सक्रिय सहभागिता र सहकार्य आवश्यक छ,’ मन्त्री घिमिरेले सोमवार आयोजित कार्यक्रममा भने, ’आफ्नो क्षेत्रमा बालविवाहको जोखिममा रहेका समुदाय र बालबालिकाको अवस्था पहिचान गरी सोहीअनुसार रोकथामका कार्यक्रम तय गरेर अघि बढ्नुपर्छ ।’
प्रदेश सरकारले तय गरेको अभियानलाई एकरूपताका साथ कार्यान्वयन गर्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र बाल कल्याण अधिकारीलाई लक्षित गरी अभिमुखीकरणसमेत गरिएको छ । मन्त्रालयले तयार गरेको कार्यक्रम कार्यविधि र आर्थिक मामिला तथा योजना मन्त्रालयले निर्धारण गरेको सशर्त अनुदान खर्चसम्बन्धी व्यवस्थाबारे उनीहरूलाई जानकारी गराइएको हो ।
बालविवाह रोकथामका लागि स्थानीय तहले कस्ता कार्यक्रम सञ्चालन गर्ने, उपलब्ध बजेट कसरी मितव्ययी रूपमा खर्च गर्ने र अभियानलाई समयमै कार्यान्वयन गर्ने भन्ने विषयमा अभिमुखीकरण केन्द्रित थियो । कार्यक्रमको एकरूपता कायम गर्न, निर्धारित समयमै अभियान अघि बढाउन र विनियोजित रकम समयमै खर्च गर्न सहज होस् भन्ने उद्देश्यले तीन स्थानमा कार्यक्रम आयोजना गरिएको मन्त्री घिमिरेले बताए ।
मन्त्रालयको आयोजनामा सेभ द चिल्ड्रेन इन्टरनेसनल र पिस नेपालको सहयोगमा रुपन्देहीको बुटवल, कपिलवस्तुको चन्द्रौटा र दाङको लमहीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएका छन् । कार्यक्रममा प्रदेशका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा बाल कल्याण अधिकारीहरूको सहभागिता रहेको थियो ।
अभिमुखीकरणका क्रममा स्थानीय तहहरूले प्रदेश सरकारको अभियानलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन् । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवालीले बालविवाह नियन्त्रणका लागि प्रदेश सरकारले अघि सारेको अभियानमा सबै स्थानीय तहले सहकार्य गर्ने बताए । उनले कार्यक्रमलाई समयमै कार्यान्वयन गरी निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
रुकुम पूर्वको भूमे गाउँपालिकाकी बाल कल्याण अधिकारी धनिषा पुन मगरले बालविवाह रोकथामका लागि बाल कल्याण अधिकारीहरू बस्तीस्तरसम्म पुगेर निरन्तर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताइन् । उनले प्रदेश सरकारले लिएको लक्ष्य हासिल गर्न स्थानीय समुदायमा सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइन् ।
पिस नेपालका कार्यकारी निर्देशक मणिप्रसाद गैह्रेले प्रदेश सरकारले थालेको अभियानमा नागरिक संस्थाहरूले पनि सहकार्य गर्ने बताए । प्रदेश र स्थानीय तहबीच समन्वय गरेर प्राविधिक सहयोग उपलब्ध गराउनुका साथै सहभागितामूलक सचेतनामूलक कार्यक्रम सञ्चालनमा सहयोग गर्ने उनको भनाइ थियो ।
प्रदेश बाल क्लब संजालकी अध्यक्ष महिमा खनालले बालविवाह रोकथाम अभियानमा बाल क्लबहरूको क्षमता अभिवृद्धि र परिचालन आवश्यक रहेको बताइन् । उनले जिल्ला, पालिका र वडा तहसम्म बाल क्लब संजालको अग्रसरतामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका पूर्वसचिव दिवाकर भण्डारी, महाशाखा प्रमुख विष्णुप्रसाद भुषाल, मेघराज पौडेल, हरिकला सारु मगर, वरिष्ठ शिक्षा अधिकृत बेगम केसी, महिला विकास निरीक्षक कमला ज्ञवाली तथा सेभ द चिल्ड्रेन इन्टरनेसनलका अर्जुन थापामगरलगायतले सहजीकरण गरेका थिए । उनीहरूले सशर्त अनुदान कार्यविधि, बाल अधिकार र बाल संरक्षणका विषयमा जानकारी गराएका थिए ।
लुम्बिनी प्रदेशमा बालविवाहको दर १४.६ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । प्रदेश सरकारले यही अवस्थालाई ध्यानमा राख्दै सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्यसहित १० वर्षे रणनीतिक योजना कार्यान्वयनमा ल्याएको हो ।
