संकटमा सञ्चार, चिन्तामा पत्रकार

सुनुवाईका लागि दबाब दिन ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित प्रदर्शन गरिने

पछिल्ला दिनमा सरकारनै सञ्चार माध्यमको संस्थागत विकासमा बाधक बन्दै गएको भन्दै पत्रकारहरु चिन्तित भएका छन् । खासगरि, विज्ञापन नाकाबन्दीबाट पूर्वाग्रहीपन देखाएको सरकारले नीगितगत व्यवस्थानै गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचन गर्न लागेपछि पत्रकारहरु चिन्तित भएका हुन् ।

सोमवार बाँकेका पत्रकारहरुले त्यसबारे नेपालगन्जमा छलफल गरेका छन् । उनीहरुले सरकारको गलत नियतका कानुनमा आउन खोजेका राम्रा पक्षबारे पनि बहस हुन नसकिरहेको बताए । उनीहरुले पत्रकारमात्रै नभई आम नागरिकका अभिव्यक्ति स्वतन्त्रता विरुद्ध पनि सरकारी कदम निरंकुश बन्दै जाने जोखिम देखापरेको औल्याए ।

यसैबीच, नेपाल पत्रकार महासंघले अघि सारेको आन्दोलनलाई सशक्त बनाउन बाँकेका पत्रकारहरू एकजुट भएका छन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र महासंघले उठाएका मागप्रति सरकारको अनुदार व्यवहारको विरोधमा मंसिर ९ गते जिल्ला प्रशासन कार्यालय बाँकेअगाडि ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित प्रदर्शन गरिने भएको छ ।

नेपाल पत्रकार महासंघको घोषित आन्दोलनका कार्यक्रमअन्तर्गत महासंघ बाँके शाखाले सोमबार शाखाका पूर्व अध्यक्ष तथा सञ्चारसम्बद्ध संघसंस्थाका अध्यक्ष र प्रतिनिधिहरूसँग छलफल गरेको हो । छलफलमा आन्दोलनलाई प्रभावकारी बनाउँदै तार्किक निष्कर्षमा पु¥याउन सबै एकजुट र प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिइएको थियो ।

शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा भएको छलफलमा महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संकुचन कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । उनले सरकारको अनुदार व्यवहारविरुद्ध सशक्त आन्दोलनको विकल्प नभएको स्पष्ट पारे ।

छलफलमा स्थानीय सञ्चारमाध्यमको विकास र प्रवद्र्धनका लागि पनि सामूहिक पहल आवश्यक रहेको औंल्याइएको थियो । लोककल्याणकारी विज्ञापनको रकममा गरिएको भारी कटौतीले स्थानीय सञ्चारमाध्यमहरू गम्भीर संकटमा पर्ने अवस्था आएको भन्दै सहभागीहरूले चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा महासंघ बाँकेका पूर्व अध्यक्षद्वय निरज गौतम र झलक गैरे, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष कमल खत्री, प्रेस चौतारी बाँकेका सचिव देवेन्द्रराज पौडेल, क्रियाशील पत्रकार महिला बाँकेका अध्यक्ष सावित्री गिरी, पूर्व अध्यक्ष अछरी पोखरेल र सचिव निशु जोशीलगायतले धारणा राखेका थिए । उनीहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सबै पत्रकार एकढिक्का भएर आन्दोलनमा उत्रिनुपर्नेमा जोड दिएका थिए ।

महासंघ बाँके शाखाका सचिव कृष्ण ओलीले सहजीकरण गरेको छलफलमा सहभागीले आन्दोलनमा पत्रकार सहभागिता अनिवार्य गरिनुपर्ने धारणा पनि व्यक्त गरेका थिए ।

शाखा अध्यक्ष गिरीका अनुसार, मंसिर ९ गते बिहान ११ः३० बजे जिल्ला प्रशासन कार्यालय बाँकेको गेट अगाडि ब्यानरसहित भेला भएर विरोध प्रदर्शन गरिनेछ ।

Exit mobile version