बाँकेको खजुरा बजारमा हुलाकी राजमार्गको स्तरोन्नतिसँगै सडक सौन्दर्यकरण र फुटपाथ विस्तारको काम अघि बढ्ने भएको छ । बाँकेको खजुरा खण्डमा हालै सम्पन्न १ हजार ८०० मिटर सडकको स्तरोन्नतिलाई निरन्तरता दिँदै सडक किनारमा फुटपाथ, यात्रु प्रतीक्षालय र हरियालीसहितको सौन्दर्यकरण गरिने भएको हो ।
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगन्जले सडकको साँघुरो फुटपाथलाई विस्तार गरी पैदल यात्रुका लागि सहज बनाउने योजना अघि सारेको छ । त्यसका लागि सडक सीमाभित्र पर्ने अतिक्रमित जग्गा खाली गराउने काम सुरु भएको छ । खजुरा गाउँपालिकाले सडकको बीच भागबाट दायाँबायाँ १५–१५ मिटर सडक सीमा कायम गर्न नापजाँच तथा चिन्ह लगाउने काम थालेको छ ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक (तुफान)ले सडक सीमा छुट्याइएको स्थानमा चिन्ह लगाउँदै फुटपाथ विस्तारको काम प्रारम्भ गरेका छन् । हुलाकी राजमार्गका प्राविधिक र गाउँपालिकाका प्राविधिकको संयुक्त टोलीले सडक सीमाको नापजाँच गरिरहेको छ ।
अध्यक्ष विकका अनुसार, सडक किनारमा ५ मिटरभन्दा फराकिलो रंगीन टायलसहितको फुटपाथ निर्माण गरिनेछ । फुटपाथ क्षेत्रमा आकर्षक बिरुवा रोप्नुका साथै बीचबीचमा पैदल यात्रुका लागि विश्रामस्थलको व्यवस्था गरिने उनले बताए । फुटपाथ विस्तारपछि खजुरा बजारको सडक पैदल यात्रुमैत्री र आकर्षक बन्ने उनको दाबी छ ।
पालिकाको आग्रहमा हुलाकी राजमार्ग योजना कार्यालयले यात्रु प्रतीक्षालय निर्माण गर्ने तथा पेडारी नाला र किरण नाला किनारमा आकर्षक बगैंचा बनाउने योजना पनि अघि सारेको छ ।
हुलाकी राजमार्ग योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले स्तरोन्नति भएको सडकलाई दिगो र आकर्षक बनाउन फुटपाथ विस्तार, प्रतीक्षालय निर्माण तथा सडक किनारमा हरियाली प्रवद्र्धन गरिने बताए । स्थानीय तहको आग्रह र स्थानीयवासीको आवश्यकतालाई ध्यानमा राखेर बजार क्षेत्रमा थप योजनासहित फुटपाथ विस्तार गर्न लागिएको उनले जानकारी दिए ।
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगन्जबाट सात करोड एक हजार ६९ रुपैयाँमा ठेक्का पाएको मैटहवा–एनएटी–स्टेटलाइट जेभीले १ हजार ८०० मिटर सडकको स्तरोन्नति हालै सम्पन्न गरेको हो ।
नेपालगन्ज र कोहलपुरपछि बाँकेको ठूलो बजारका रूपमा रहेको खजुरामा व्यावसायिक गतिविधि बाक्लो भए पनि साँघुरो फुटपाथका कारण पैदल यात्रुलाई असहज हुँदै आएको स्थानीयवासीले बताएका छन् । चार लेन सडकको स्तरोन्नतिपछि सवारीसाधनको गति बढेकाले फुटपाथको आवश्यकता थप बढेको स्थानीय अगुवा, पत्रकार शरण कर्माचार्यले बताए । पत्रकार कर्माचार्यले खजुराका विकास केन्द्रीत सवालमा वकालत गर्दै आएका छन् ।
खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले सडक सीमाभित्रका संरचना हटाउन यसअघि नै सूचना जारी गरिएको बताए । तोकिएको समयभित्र संरचना खाली नगरे गाउँपालिकाले आफैँ हटाउने उनले जानकारी दिए ।
