बाँकेमा लागुऔषध सेवन गरी सवारी चलाउने तीन चालक पक्राउ

बाँकेको खजुरामा लागुऔषध सेवन गरी सवारीसाधन चलाउने तीन जना चालक पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार मंगलबार खजुरा गाउँपालिका–३ स्थित हुलाकी सडक खण्डमा गरिएको जाँचका क्रममा उनीहरू लागुऔषध सेवन गरेको अवस्थामा फेला परेका हुन् ।

सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित सडक यात्रालाई प्रवद्र्धन गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय धनौलीको संयुक्त आयोजना तथा लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जको सहकार्यमा सार्वजनिक सवारी चालकहरूको लागुऔषध सेवन परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा २५ जना सार्वजनिक सवारी चालकको जाँच गर्दा तीन जनाको रिपोर्ट पोजेटिभ आएको प्रहरीले जनाएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय धनौलीमा राखिएको छ ।

यसैगरी, सवारीसाधनको चेकजाँचका क्रममा मापदण्डविपरीत जडान गरिएका ३५ वटा ग्याप सिट हटाइएको छ । नियमविपरीत सञ्चालन तथा अन्य त्रुटि भेटिएका १० वटा सवारीसाधनलाई समेत कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षाका लागि सार्वजनिक सवारीसाधन तथा चालकको नियमित जाँचलाई प्राथमिकता दिँदै आएको छ ।

Exit mobile version