सजल/सन्ध्या गैरे
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगन्जमा जारी २३औँ राष्ट्रिय पौडी प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बन्ने क्रम रोकिएको छैन । प्रतियोगिताको दोस्रो दिन बुधबार चार नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन् । व्यक्तिगत स्पर्धामा अथर्व सिंह, अविभ प्रधान र लिली बोहराले पुराना कीर्तिमान भंग गर्दा पुरुष ४ गुणा २०० मिटर फ्रिस्टायल रिलेमा नेपाल प्रहरी क्लबले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेको छ ।
दोस्रो दिन बुधवारका चार कीर्तिमानसँगै पौडीतर्फ राष्ट्रिय कीर्तिमानको संख्या ६ पुगेको छ । पहिलो दिन पुरुष ५० मिटर ब्रेस्टस्ट्रोकमा कोशी प्रदेशका विकास कुमाल र महिला ४०० मिटर व्यक्तिगत मेड्लेमा एनआरएनएकी लिली बोहराले नयाँ कीर्तिमान बनाएका थिए । दोस्रो दिनको प्रदर्शनले प्रतियोगितामा खेलाडी र टोलीबीचको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ ।
नेपालगन्जस्थित पौडी पोखरीमा भएको प्रतिस्पर्धामा सुदूरपश्चिमका अथर्व सिंहले पुरुष ४०० मिटर व्यक्तिगत मेड्लेमा स्वर्ण जित्दै आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरे । उनले निर्धारित दूरी ४ मिनेट ५६.७६ सेकेन्डमा पूरा गरे । यसअघि सन् २०२५ मा उनले नै ४ मिनेट ५८.३४ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए ।
यस स्पर्धामा नेपाल प्रहरीका मयोन श्रेष्ठले ५ मिनेट ०७.५७ सेकेन्डमा दूरी पूरा गर्दै रजत जिते । बागमतीका आरक कर्माचार्यले ५ मिनेट २६.९९ सेकेन्डमा पूरा गर्दै कास्य पदक प्राप्त गरे ।
महिलातर्फ ८०० मिटर फ्रिस्टायलमा एनआरएनएकी लिली बोहराले अर्को राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाइन् । उनले ९ मिनेट ३४.०६ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन् । यसअघि सन् २०२५ मा नेपाली सेनाकी दुना लामाको नाममा १० मिनेट ०६.९२ सेकेन्डको कीर्तिमान थियो । दुना लामाले पनि आफ्नो पुरानो समय सुधार गर्दै ९ मिनेट ५९.५४ सेकेन्डमा दूरी पूरा गरिन् । उनले यस स्पर्धामा रजत पदक जितिन् । नेपाल प्रहरीकी देवांशी जोशीले १० मिनेट ५८.५८ सेकेन्डमा दूरी पूरा गर्दै कास्य जितिन् ।
पुरुष १०० मिटर ब्याकस्ट्रोकमा बागमतीका अविभ प्रधानले पनि पुरानो राष्ट्रिय कीर्तिमान तोडे । उनले १ मिनेट ०१.५१ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते । यसअघि सन् २०२५ मा प्रारम्भ भण्डारीको नाममा १ मिनेट ०३.३९ सेकेन्डको कीर्तिमान थियो । उक्त स्पर्धामा बागमतीकै रेवन्त बहादुर श्रेष्ठले १ मिनेट ०४.०० सेकेन्डमा दूरी पूरा गर्दै रजत जिते । नेपाली सेनाका जेडेन श्रेष्ठले १ मिनेट ०४.०३ सेकेन्डको समयसहित कास्य पदक प्राप्त गरे ।
टोलीगत स्पर्धामा पनि नेपाल प्रहरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएको छ । पुरुष ४ गुणा २०० मिटर फ्रिस्टायल रिलेमा नेपाल प्रहरी क्लबले ८ मिनेट ३२.१३ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेको हो । यसअघि सन् २०१६ मा मनिष चित्रकार, शुभम श्रेष्ठ, अनुभव सुब्बा र शिरिष गुरुङको नाममा ९ मिनेट १७.६८ सेकेन्डको कीर्तिमान थियो । प्रहरीका एर्भिन श्रेष्ठ, आरुष अवाले, मयोन श्रेष्ठ र कल्किन श्रेष्ठले उक्त कीर्तिमान तोडेका हुन् । यस स्पर्धामा बागमती प्रदेश दोस्रो र नेपाली सेना तेस्रो भए ।
दोस्रो दिन अन्य स्पर्धामा पनि खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । महिला ५० मिटर बटरफ्लाइमा एनआरएनएकी मिखा काया थापाले ३०.७८ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन् । नेपाल प्रहरीकी देवांशी जोशीले ३२.८८ सेकेन्डमा पूरा गर्दै रजत प्राप्त गरिन् । बागमतीकी इरा अमात्य र नेपाली सेनाकी सिशोम्भुन राईले समान ३३.५६ सेकेन्डको समय निकालेपछि दुवैले संयुक्त कास्य पदक पाए ।
पुरुष ५० मिटर बटरफ्लाइमा बागमतीका अविभ प्रधानले २६.०७ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते । नेपाल प्रहरीका एर्भिन श्रेष्ठले २७.१४ सेकेन्डको समयसहित रजत जिते । नेपाली सेनाका सौरेन बहादुर सिंह र आशिम भण्डारीले समान २७.३२ सेकेन्डमा दूरी पूरा गर्दै संयुक्त कास्य पदक प्राप्त गरे ।
महिला २०० मिटर फ्रिस्टायलमा एनआरएनएकी लिली बोहराले २ मिनेट १४.०३ सेकेन्डको समय निकाल्दै स्वर्ण जितिन् । नेपाली सेनाकी दुना लामाले २ मिनेट १४.४२ सेकेन्डमा दूरी पूरा गर्दै रजत प्राप्त गरिन् । एनआरएनएकी मिखा काया थापाले २ मिनेट १९.६८ सेकेन्डमा पूरा गर्दै कास्य जितिन् ।
पुरुष २०० मिटर फ्रिस्टायलमा नेपाल प्रहरीका एर्भिन श्रेष्ठले १ मिनेट ५९.४८ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते । नेपाल प्रहरीकै कल्किन श्रेष्ठले २ मिनेट ००.८३ सेकेन्डमा पूरा गर्दै रजत पाए । नेपाली सेनाका अल्भिन महर्जनले २ मिनेट ०५.०० सेकेन्डमा दूरी पूरा गर्दै कास्य पदक जिते ।
महिला १०० मिटर ब्याकस्ट्रोकमा बागमतीकी आर्या महर्जनले १ मिनेट ११.९५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन् । एनआरएनएकी मिखा काया थापाले १ मिनेट १३.६२ सेकेन्डमा पूरा गर्दै रजत तथा बागमतीकी रोयल प्रजापतिले १ मिनेट १४.४३ सेकेन्डमा दूरी पूरा गर्दै कास्य जितिन् ।
रिले स्पर्धामा पनि बागमती प्रदेशले आफ्नो बलियो उपस्थिति देखाएको छ । महिला ४ गुणा १०० मिटर मेड्ले रिलेमा बागमतीले ५ मिनेट ०५.६९ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्यो । नेपाल प्रहरीले ५ मिनेट ११.७१ सेकेन्डमा पूरा गर्दै रजत तथा नेपाली सेनाले ५ मिनेट १५.८५ सेकेन्डमा पूरा गर्दै कास्य पदक प्राप्त गरे ।
त्यस्तै, मिश्रित ४ गुणा ५० मिटर मेड्ले रिलेमा पनि बागमती प्रदेश पहिलो भयो । टोलीले २ मिनेट ०२.४६ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितेको हो । नेपाली सेनाले २ मिनेट ०४.११ सेकेन्डमा पूरा गर्दै रजत जित्दा नेपाल प्रहरीले २ मिनेट ०७.०८ सेकेन्डको समयसहित कास्य पदक प्राप्त ग¥यो ।
प्रतियोगिताको दोस्रो दिनसम्मको पदक तालिकामा बागमती प्रदेशले अग्रता कायम राखेको छ । बागमतीले ९ स्वर्ण, ४ रजत र ६ कास्य गरी कुल १९ पदक जितेको छ । ६ स्वर्ण, १ रजत र २ कास्य गरी ९ पदक जितेको एनआरएनए दोस्रो स्थानमा छ । नेपाल प्रहरीले ३ स्वर्ण, ७ रजत र ८ कास्य गरी १८ पदकसहित तेस्रो स्थान ओगटेको छ ।
नेपाली सेना पनि समान १८ पदकसहित चौथो स्थानमा छ । सेनाले २ स्वर्ण, ८ रजत र ८ कास्य जितेको छ । सुदूरपश्चिम प्रदेशले १ स्वर्ण र २ रजत गरी ३ पदकसहित पाँचौँ स्थानमा रहँदा कोशी प्रदेशले १ स्वर्ण जित्दै छैटौँ स्थानमा छ ।
समग्रमा पौडी प्रतियोगितामा व्यक्तिगत र टोलीगत दुवै विधामा नयाँ कीर्तिमान बनेका छन् । व्यक्तिगत स्पर्धामा लिली बोहरा, दुना लामा, अविभ प्रधान र अथर्व सिंहको प्रदर्शन उल्लेखनीय रहेको छ । रिले स्पर्धामा नेपाल प्रहरी क्लब, बागमती प्रदेश र नेपाली सेनाका टोलीले पनि प्रतिस्पर्धात्मक प्रदर्शन गरेका छन् । दोस्रो दिनसम्मको नतिजाले बागमतीलाई पदक तालिकामा अग्रस्थानमा राखेको छ भने एनआरएनए, नेपाल प्रहरी र नेपाली सेनाबीच पनि पदकका लागि प्रतिस्पर्धा देखिएको छ ।
