आज नेपालगन्ज कनक्लेभ, पाँच विषयमा बहस

शान्ति, सद्भाव र खेलकुदको सहर नेपालगन्जलाई विचार विमर्शको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित आज शुक्रबार नेपालगन्ज कनक्लेभ आयोजना हुँदैछ । नेपालगन्ज डिस्कोर्सको छैटौँ संस्करणका रूपमा आयोजना हुने कनक्लेभमा युवा, खेलकुद, पर्यटन, उद्यमशीलता, अर्थराजनीति र साहित्यका विविध विषयमा बहस तथा विमर्श गरिने आयोजकले जनाएको छ ।

आयोजक क्रियटिभ ह्याण्डस् र एनवाइइएफ नेपालगन्जले बिहीबार पत्रकार सम्मेलन गरी धारा नेपालगन्ज म्याराथनसँग जोडिएको कनक्लेभले विचार विमर्श र बहुभाषिक साहित्यलाई एउटै मञ्चमा ल्याउने जानकारी दिएको हो । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म नेपालगन्जस्थित सिटी प्यालेसमा सञ्चालन हुने कार्यक्रममा पाँचवटा सेसन रहने निर्देशक जनक नेपालले बताए ।

कनक्लेभको पहिलो सेसन ‘खेल, पर्यटन र युवाः सम्भावनाको नयाँ ढोका’ विषयमा केन्द्रित हुनेछ । उक्त सेसनमा एभरेस्ट म्याराथनका प्रमुख कार्यकारी अधिकृत शिखर पाण्डे, पूर्वखेलाडी नेरी थापामगर, पर्यटन व्यवसायी केशव न्यौपाने र मिस नेपाल २०२६ दीपमाला ढकाल सहभागी हुनेछन् । सेसनको सहजीकरण दैनिक नेपालगन्ज प्रतिनिधि विशाल रानामगरले गर्नेछन् ।

‘खेलकुद, पर्यटन र युवाको सम्भावनालाई एकअर्कासँग जोडेर नयाँ अवसरको खोजी गर्ने उद्देश्यले यो बहस आयोजना गरिएको हो,’ निर्देशक नेपालले पत्रकारसँग भने ।

कनक्लेभका अन्य सेसनमा युवा उद्यमीमार्फत व्यवसाय विस्तार, तीन तहका सरकारबीचको समन्वय र कार्यसम्पादन तथा कथा र प्रकाशनका चुनौतीमाथि छलफल हुनेछ । ‘युवा उद्यमीमार्फत व्यवसायको विस्तार’ शीर्षकको दोस्रो सेसनमा एनजीसीका सदस्य तर्कराज भट्ट, चार्टर्ड एकाउन्टेन्ट तेजप्रकाश दीक्षित, मनोसहारा नेपालकी संस्थापक रक्षा रेग्मी र नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओली सहभागी हुनेछन् । सेसनको सहजीकरण एनजीसी सदस्य पवित्र गौतमले गर्नेछन् ।

तेस्रो सेसन ‘तीन तहका सरकारः कति सहज, कति अप्ठ्यारो ?’ शीर्षकमा हुनेछ । यसमा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राई, लुम्बिनी प्रदेशका मन्त्री इन्द्रजित थारु, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट र कोहलपुर नगरपालिकाकी उपमेयर संगीता सुवेदी वक्ताका रूपमा रहने बताइएको छ । पत्रकार तुला अधिकारीले सेसनको सहजीकरण गर्नेछन् ।

चौथो सेसन ‘कथाको भविष्य र प्रकाशनको चुनौतीः सन्दर्भ बाह्रखरी कथा’ शीर्षकमा हुनेछ । यसमा वरिष्ठ कथाकार सनत रेग्मी, फाइन प्रिन्टका प्रकाशक निरज भारी तथा कथाकार सरस्वती सरस र मधुर भट्टराई सहभागी हुनेछन् । सेसनको सहजीकरण साहित्यकार नयनराज पाण्डेले गर्नेछन् । यी छलफलमा उद्यमी, व्यवसायी, जनप्रतिनिधि, कथाकार तथा प्रकाशक सहभागी हुने आयोजकले जनाएको छ ।

कनक्लेभको अन्तिम सेसनमा बहुभाषिक कविता वाचनसँगै देउडा प्रस्तुत गरिनेछ । भेरी साहित्य समाजको संयोजनमा हुने कार्यक्रममा नेपाली, उर्दु, अवधी, थारू र मगर भाषाका कविहरूले कविता सुनाउनेछन् । नेपाली भाषाबाट रेशम बिरही, हरि सुवेदी, निर्मला शर्मा ‘निरु’, चरित्रा शाह, ईश्वरी रिजाल, मीना बराल र बीपी अस्तु सहभागी हुनेछन् ।

उर्दु भाषाबाट शैय्यद नेपाली, अन्सर नेपाली, नुरुल हसन, शारिक रब्बानी र मुस्तफा कुरैसी, अवधीबाट विष्णुला कुमाल र तेजप्रकाश दीक्षित, थारूबाट डा. राजकुमार थारु र सोम डेमनडौरा तथा मगर भाषाबाट आस्माली पुन मगरले कविता वाचन गर्नेछन् । यसका साथै २० जनाको टोलीले देउडा प्रस्तुत गर्ने कार्यक्रम छ ।

कनक्लेभका सह–निर्देशक इन्जिनियर अरशद कमल सिद्दिकीले विचार, बहस र साहित्यलाई एउटै मञ्चमा जोड्ने प्रयासका रूपमा कार्यक्रम आयोजना गरिएको बताए । विभिन्न क्षेत्र र समुदायका अनुभव, विचार तथा दृष्टिकोणलाई साझा मञ्चमा ल्याएर सार्थक संवादको वातावरण बनाउनु कनक्लेभको उद्देश्य रहेको उनको भनाइ छ ।

‘नेपालगन्जलाई शान्ति, सद्भाव, खेलकुद र विचार विमर्शको सहरका रूपमा स्थापित गर्ने हाम्रो प्रयास हो । कनक्लेभ विचार र अनुभव आदानप्रदान गर्ने साझा मञ्च हो । यसमा सबै क्षेत्र र समुदायका व्यक्तिको सहभागिता अपेक्षा गरेका छौँ,’ निर्देशक नेपालले भने ।

आयोजकका अनुसार, कनक्लेभमा प्रवेश निःशुल्क रहनेछ । शुक्रबार हुने कनक्लेभ र शनिबार आयोजना हुने धारा नेपालगन्ज म्याराथनमा सहभागी हुन सर्वसाधारण, युवा, खेलाडी, साहित्यकार, सञ्चारकर्मी तथा सरोकारवालालाई आयोजकले आग्रह गरेको छ ।

Exit mobile version