पौडीमा थप पाँच नयाँ राष्ट्रिय कीर्तिमान

सजल गैरे

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगन्जमा जारी २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान बन्ने क्रम रोकिएको छैन । प्रतियोगिताको तेस्रो दिन बिहीबार थप पाँच स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान कायम भएका छन् । कीर्तिमानसँगै पदक जित्ने प्रतिस्पर्धा पनि रोचक बन्दै गएको छ । पदक तालिकामा बागमती प्रदेशले आफ्नो अग्रता कायम राखेको छ ।

नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा भइरहेको प्रतियोगितामा नेपाल आर्मी क्लबले ६ स्वर्ण, १० रजत र १३ कांस्य गरी २९ पदक जित्दै पहिलो स्थानमा रहँदा नेपाल पुलिस क्लब ४ स्वर्ण, ११ रजत र १२ कांस्य गरी २७ पदकका साथ दोस्रो स्थानमा छ । बागमती प्रदेशले १२ स्वर्ण, ७ रजत र ७ कांस्य गरी कुल २६ पदक पदकका साथ तेस्रो स्थानमा छ । समान ९ स्वर्ण जितेको एनआरएन टोली ३ रजत र ३ कांस्यसहित १५ पदकका साथ चौथो स्थानमा छ । कोशी प्रदेश दुई स्वर्णसहित पाँचौँ र सुदूरपश्चिम प्रदेश एक स्वर्ण, तीन रजत र एक कांस्य गरी पाँच पदकसहित छैटौँ स्थानमा छन् ।

तेस्रो दिनको प्रतिस्पर्धामा एनआरएनकी लिली बोहराले महिला १ हजार ५०० मिटर फ्रिस्टाइलमा स्वर्ण जित्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन् । उनले १८ मिनेट ४ दशमलव १५ सेकेन्डमा दूरी पूरा गरिन् । यसै स्पर्धामा नेपाल पुलिसकी देवांशी जोशीले २१ मिनेट ५ दशमलव २६ सेकेन्डमा रजत र नेपाल आर्मीकी सिसोम्बुन राईले २१ मिनेट १४ दशमलव ७७ सेकेन्डमा कांस्य पदक जितिन् ।

पुरुष १०० मिटर बटरफ्लाईमा बागमतीका अभिव प्रधानले ५८ दशमलव २२ सेकेन्डको समय निकाल्दै स्वर्ण जिते । उनले सन् २०२५ मा अनुभव सुब्बाको नाममा रहेको ५९ दशमलव ५४ सेकेन्डको राष्ट्रिय कीर्तिमान तोडेका हुन् । यसै स्पर्धामा नेपाल पुलिसका एर्विन श्रेष्ठले पनि ५९ दशमलव ०४ सेकेन्डमा दूरी पूरा गर्दै पुरानो कीर्तिमान सुधार गरे । उनले रजत पदक जित्दा नेपाल आर्मीका सौर्यबहादुर सिंहले १ मिनेट ०० दशमलव ५३ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य हात पारे ।

पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा कोशी प्रदेशका विकास कुमालले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्दै २ मिनेट ३४ दशमलव ३६ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएर स्वर्ण जिते । सुदूरपश्चिमका अर्थव सिंहले २ मिनेट ४० दशमलव ०५ सेकेन्डमा रजत र नेपाल पुलिसका जाडेन श्रेष्ठले २ मिनेट ४४ दशमलव ९६ सेकेन्डमा कांस्य पदक जिते ।

पुरुष ५० मिटर ब्याकस्ट्रोकमा पनि बागमतीका अभिव प्रधानले आफ्नै कीर्तिमान सुधार गरे । उनले २८ दशमलव ९५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितेका हुन् । यसअघि उनको नाममा २८ दशमलव ९९ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । नेपाल आर्मीका जाडेन श्रेष्ठले २९ दशमलव ९० सेकेन्डमा रजत र बागमतीकै रेभान्त बहादुर श्रेष्ठले २९ दशमलव ९२ सेकेन्डमा कांस्य जिते ।

तेस्रो दिनको अर्को राष्ट्रिय कीर्तिमान ४ गुणा १०० मिटर फ्रिस्टाइल रिलेमा बनेको छ । बागमती प्रदेशका रेभान्त, आरेक कर्माचार्य, वशिष्ठराज शाही र अभिव प्रधान सम्मिलित टोलीले ३ मिनेट ४५ दशमलव ७५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्यो । यसअघि सन् २०२५ मा अभिव प्रधान, जाडेन श्रेष्ठ, रेभान्त र एल्बिन महर्जनको नाममा ३ मिनेट ४७ दशमलव ७३ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । बिहीबार नेपाल पुलिस क्लबले ३ मिनेट ५१ दशमलव ७५ सेकेन्डमा दूरी पूरा गर्दै रजत र नेपाल आर्मीले ३ मिनेट ५५ दशमलव ९७ सेकेन्डमा कांस्य पदक जिते ।

प्रतियोगिताको तेस्रो दिन अन्य स्पर्धामा पनि खेलाडीबीच कडा प्रतिस्पर्धा देखियो । पुरुष ४०० मिटर फ्रिस्टाइलमा नेपाल पुलिसका कालकिन श्रेष्ठले ४ मिनेट २० दशमलव ११ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते । पुलिसकै मायोन श्रेष्ठले ४ मिनेट ३० दशमलव ८८ सेकेन्डमा रजत र सुदूरपश्चिमका अर्थव सिंहले ४ मिनेट ३२ दशमलव ८१ सेकेन्डमा कांस्य जिते ।

महिला २०० मिटर इन्डिभिजुअल मेड्लेमा एनआरएनकी लिली बोहराले २ मिनेट ३३ दशमलव ६७ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन् । नेपाल आर्मीकी डुआना लामाले २ मिनेट ३३ दशमलव ८९ सेकेन्डमा रजत र एनआरएनकी मिखा काया थापाले २ मिनेट ४६ दशमलव ९३ सेकेन्डमा कांस्य पदक जितिन् ।

महिला १०० मिटर बटरफ्लाईमा नेपाल आर्मीकी डुआनाले १ मिनेट १० दशमलव ४३ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन् । एनआरएनकी लिलीले १ मिनेट १२ दशमलव ०३ सेकेन्डमा रजत र नेपाल पुलिसकी देभान्सीले १ मिनेट १६ दशमलव २६ सेकेन्डमा कांस्य हात पारिन् ।

महिला २०० मिटर ब्रेस्टस्ट्रोकमा पनि डुआनाले स्वर्ण जितिन् । उनले २ मिनेट ४९ दशमलव ३४ सेकेन्डमा दूरी पूरा गरिन् । एनआरएनकी लिलीले २ मिनेट ५८ दशमलव ६४ सेकेन्डमा रजत र आर्मीकी रितिका भूमिले ३ मिनेट ३ दशमलव ५२ सेकेन्डमा कांस्य जितिन् ।

महिला ५० मिटर ब्याकस्ट्रोकमा एनआरएनकी मिखा काया थापाले ३३ दशमलव २७ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन् । बागमतीकी आर्य महर्जनले ३३ दशमलव ४३ सेकेन्डमा रजत र नेपाल पुलिसकी देवांशी जोशीले ३४ दशमलव ११ सेकेन्डमा कांस्य पदक जितिन् ।

महिला ४ गुणा २०० मिटर फ्रिस्टाइल रिलेमा नेपाल आर्मीले ९ मिनेट ५८ दशमलव ७३ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्यो । बागमतीले १० मिनेट ७ दशमलव ५२ सेकेन्डमा रजत र नेपाल पुलिसले १० मिनेट ४१ दशमलव ८६ सेकेन्डमा कांस्य पदक हात पारे ।

बिहीबारको अन्तिम स्पर्धा ४ गुणा ५० मिटर मेड्ले रिलेमा नेपाल आर्मीले स्वर्ण जित्यो । आर्मीले १ मिनेट ५६ दशमलव ०८ सेकेन्डमा दूरी पूरा गर्दा बागमतीले १ मिनेट ५७ दशमलव ५३ सेकेन्डमा रजत र नेपाल पुलिसले १ मिनेट ५८ दशमलव ६४ सेकेन्डमा कांस्य पदक जिते ।

नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा भइरहेको प्रतियोगितामा कुल ४६ स्पर्धा समावेश छन् । जसमा ३४ व्यक्तिगत र १२ टिम स्पर्धा रहेका छन् । प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको आज शुक्रवार अन्तिम दिन विभिन्न सात विधामा प्रतिष्पर्धा हुने प्राविधिक प्रमुख विष्णु खड्काले जानकारी दिए ।

Exit mobile version