दसौं राष्ट्रिय खेलकुदको ट्रफी र टर्च र्यालीमा सहभागी हुने टोलीलाई शुक्रबार बिदाइ गरिएको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री जितबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, राखेपका सदस्य–सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य पवन शाही, राखेपका सदस्य शक्तिप्रसाद गौचन, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमाललगायतले टोलीलाई सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटलबाट बिदाइ गरे ।
र्याली टोलीमा नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, हरिबहादुर रोकाया र देबु थापा, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र करातेका मन्डेकाजी श्रेष्ठ रहेका छन् । र्याली दैलेखको शिरस्थानबाट औपचारिक सुरुआत हुनेछ । त्यसपछि टोली कालीकोट हुँदै जुम्ला पुग्ने छ । जुम्लामा नेपाली चर्चित अल्ट्रा धाविक सुनमाया बुढा पनि टोलीसंगै सामेल हुने छिन् । कालीकोट र जुम्लामा पनि ट्रफी र टर्चलाई नगर परिक्रमा गराइने कार्यक्रम छ ।
जुम्लाबाट मंसिर १५ गते सुर्खेत आइपुग्ने टोलीलाई कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले स्वागत गर्ने कार्यक्रम रहेको अध्यक्ष विष्टले जनाएका छन् ।
