राष्ट्रिय पौडीमा बागमती च्याम्पियन

सजल गैरे

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत नेपालगन्जमा आयोजित आयोजित पौडी प्रतियोगिता तथा २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपमा बागमती प्रदेश च्याम्पियन बनेको छ ।

बागमतीले सर्वाधिक १६ स्वर्ण, नौ रजत र १० कांस्य गरी कुल ३५ पदक जित्दै उपाधि हात पारेको हो । दोस्रो स्थानमा रहेको एनआरएन टिमले १२ स्वर्ण, चार रजत र चार कांस्य गरी कुल २० पदक जितेको छ ।

नेपाल आर्मी क्लबले सात स्वर्ण, १५ रजत र १७ कांस्य गरी कुल ३९ पदक जिते पनि तेस्रो स्थानमा चित्त बुझाएको छ । नेपाल पुलिस क्लबले ६ स्वर्ण, १४ रजत र १६ कांस्य गरी कुल ३६ पदकसहित चौथो स्थान हासिल गरेको छ । कोशी प्रदेश तीन स्वर्णसहित पाँचौँ र सुदूरपश्चिम प्रदेश दुई स्वर्ण, चार रजत र एक कांस्य गरी सात पदकसहित छैटौँ भएको छ। प्रतियोगितामा पुरुषतर्फ बागमती र महिलातर्फ एनआरएन टिम च्याम्पियन बनेका छन्।

प्रतियोगिताको अन्तिम दिन पुरुष २०० मिटर बटरफ्लाईमा तीन खेलाडीले पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेका छन्। एउटै इभेन्टमा तीन खेलाडीले पुरानो राष्ट्रिय कीर्तिमानभन्दा राम्रो समय निकाल्नु नेपाली पौडीमा नयाँ उपलब्धि बनेको छ। यसअघि उक्त विधामा अशिम भण्डारीको नाममा दुई मिनेट २१.८७ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो। शुक्रबार सुदूरपश्चिमका अर्थव सिंहले दुई मिनेट १८.३० सेकेन्डमा दूरी पूरा गर्दै नयाँ कीर्तिमान बनाए। रजत जितेका आर्मीका सौरेनबहादुर सिंहले दुई मिनेट १९.८१ सेकेन्ड र कांस्य जितेका आर्मीकै अशिम भण्डारीले दुई मिनेट २०.११ सेकेन्डको समय निकाले।

पुरुष ८०० मिटर फ्रिस्टायलमा पुलिसका काल्किन श्रेष्ठले आफ्नै पुरानो राष्ट्रिय कीर्तिमान सुधार गर्दै स्वर्ण जिते। उनले नौ मिनेट ०३.२१ सेकेन्डको समय निकाले। सुदूरपश्चिमका अर्थव सिंहले १० मिनेट ०१.९६ सेकेन्डमा दूरी पूरा गर्दै रजत र पुलिसका रचित बुढाथोकीले १० मिनेट ३३.६८ सेकेन्डको समयसहित कांस्य जिते। यसअघि पनि यस विधाको राष्ट्रिय कीर्तिमान काल्किनकै नाममा थियो।

महिला २०० मिटर बटरफ्लाईमा एनआरएनकी लिली बोहराले दुई मिनेट ३३.२० सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन्। यसअघि डुआना लामाको नाममा दुई मिनेट ३५.२९ सेकेन्डको कीर्तिमान थियो। आर्मीकी डुआनाले दुई मिनेट ३९.९४ सेकेन्डमा दूरी पूरा गर्दै रजत र पुलिसकी देवांशी जोशीले तीन मिनेट ०३.१३ सेकेन्डको समयसहित कांस्य जितिन्।

महिला ४०० मिटर फ्रिस्टायलमा एनआरएनकी लिली बोहराले चार मिनेट ४३.११ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन्। आर्मीकी डुआना लामाले चार मिनेट ५२.६२ सेकेन्डमा र एनआरएनकी मिखा काया थापाले पाँच मिनेट ०२.७६ सेकेन्डमा दूरी पूरा गर्दै क्रमशः रजत र कांस्य पदक जिते।

पुरुष २०० मिटर इन्डिभिजुअल मिडलेमा बागमतीका अभिभ प्रधानले दुई मिनेट १६.९६ सेकेन्डको समयसहित स्वर्ण जिते। पुलिसका एर्विन श्रेष्ठले दुई मिनेट २०.१६ सेकेन्डमा दूरी पूरा गर्दै रजत र पुलिसकै काल्किन श्रेष्ठले दुई मिनेट २२.०९ सेकेन्डको समयसहित कांस्य जिते।

महिला १०० मिटर ब्रेस्टस्ट्रोकमा आर्मीकी डुआना लामाले एक मिनेट १९.९२ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन्। एनआरएनकी लिली बोहराले एक मिनेट २२.५५ सेकेन्डमा र बागमतीकी रोयल प्रजापतिले एक मिनेट २४.१८ सेकेन्डमा दूरी पूरा गर्दै क्रमशः रजत र कांस्य जिते।

पुरुष १०० मिटर ब्रेस्टस्ट्रोकमा कोशीका विकास कुमालले एक मिनेट ०८.२५ सेकेन्डको समयसहित स्वर्ण जिते। आर्मीका जाडेन श्रेष्ठले एक मिनेट ०८.६४ सेकेन्डमा दूरी पूरा गर्दै रजत र बागमतीका आर्यक कर्माचार्यले एक मिनेट १६.६४ सेकेन्डको समयसहित कांस्य जिते।

महिला ५० मिटर फ्रिस्टायलमा एनआरएनकी मिखा काया थापाले २९.१५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन्। बागमतीकी आर्या महर्जनले २९.४९ सेकेन्डमा र बागमतीकै रोयल प्रजापतिले ३०.०९ सेकेन्डमा दूरी पूरा गर्दै क्रमशः रजत र कांस्य जिते।

पुरुष ५० मिटर फ्रिस्टायलमा पुलिसका एर्विन श्रेष्ठले २५.६२ सेकेन्डको समयसहित स्वर्ण जिते। बागमतीका अभिभ प्रधानले २४.६८ सेकेन्डमा दूरी पूरा गर्दै रजत र आर्मीका एल्विन महर्जनले २५.०२ सेकेन्डको समयसहित कांस्य जिते।

महिला चार गुणा १०० मिटर फ्रिस्टायल रिलेमा बागमती प्रदेशले चार मिनेट २८.८६ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्यो। आर्मीले चार मिनेट ३१.०६ सेकेन्डसहित रजत र पुलिसले चार मिनेट ४४.४० सेकेन्डसहित कांस्य जिते।

पुरुष चार गुणा ५० मिटर फ्रिस्टायल रिलेमा बागमतीले एक मिनेट ४१.९२ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्दा पुलिसले एक मिनेट ४४.२६ सेकेन्डसहित रजत र आर्मीले एक मिनेट ४४.४७ सेकेन्डसहित कांस्य जित्यो।

महिला चार गुणा ५० मिटर मिडले रिलेमा पनि बागमतीले स्वर्ण जित्यो। बागमतीले दुई मिनेट १६.०१ सेकेन्डमा दूरी पूरा गर्दा पुलिसले दुई मिनेट १९.७६ सेकेन्डसहित रजत र आर्मीले दुई मिनेट २०.०१ सेकेन्डसहित कांस्य जित्यो।

यसैबीच, विश्व पौडी च्याम्पियनसिप २०२६ मा सहभागी हुन नेपाली पौडी टोली आज शनिवार चिन प्रस्थान गर्दैछ । प्रतियोगितामा खेलाडी अभिभ प्रधान, डुआना लामा, एर्विन श्रेष्ठ र पालिष्टा शाक्य तथा अफिसियल विष्णु खड्का क्षेत्रीले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

Exit mobile version