धारा नेपालगन्ज म्याराथन : स्थानीय दौडबाट अन्तर्राष्ट्रिय गन्तव्यसम्मको सपना

टीएस ठकुरी

संस्थापक, धारा नेपालगन्ज म्याराथन

मंसिर १२ गते नेपालगन्ज फेरि एकपटक दौडिनेछ । बिहान बीपी चोकबाट सुरु हुने धारा नेपालगन्ज म्याराथन केवल खेलकुद प्रतियोगिता होइन । यो नेपालगन्जको पहिचान, सामुदायिक एकता, खेल संस्कृतिको विकास र अन्तर्राष्ट्रियस्तरमा नेपालको उपस्थिति स्थापित गर्ने हाम्रो निरन्तर प्रयास पनि हो । हरेक वर्ष यस प्रतियोगितासँग जोडिने धावक, दर्शक, स्वयंसेवक, सुरक्षा निकाय, संघसंस्था र स्थानीय समुदायको सहभागिताले हामीलाई थप जिम्मेवार बनाउँदै लगेको छ ।

यस वर्षको म्याराथनलाई थप समावेशी र व्यवस्थित बनाउने प्रयास गरेका छौँ । प्रतियोगितामा १२ वटा सामुदायिक संस्थालाई कम्युनिटी पार्टनरका रूपमा जोडिएको छ । यसले म्याराथन कुनै एउटा संस्था वा आयोजकको मात्र कार्यक्रम नभई समुदायको साझा अभियान हो भन्ने सन्देश दिन्छ । खेलकुदको माध्यमबाट समाजका विभिन्न क्षेत्र र समुदायलाई एउटै उद्देश्यमा जोड्नु पनि हाम्रो प्राथमिकता हो ।

यसपटकको म्याराथनमा विभिन्न उमेर, क्षमता र रुचिका धावकलाई समेट्ने गरी दौडका विधा निर्धारण गरेका छौँ । ४२ किलोमिटर पुरुष खुला म्याराथन, २१ किलोमिटर महिला हाफ म्याराथन, १० किलोमिटर महिला तथा पुरुष खुला दौड र पाँच किलोमिटर महिला तथा पुरुष खुला दौड सञ्चालन हुनेछन् । विद्यालयस्तरीय छात्रछात्रा दौड पनि प्रतियोगिताको महत्वपूर्ण हिस्सा हुनेछ । त्यसैगरी तीन किलोमिटर कर्पोरेट रन, किड्स रन, ह्वीलचेयर रन, दुई किलोमिटर फेमिली रन र तीन किलोमिटर रन फर अल पनि आयोजना हुँदैछन् ।

हाम्रो प्रयास दौडलाई सीमित खेलाडीको प्रतिस्पर्धामा मात्र नराखी आम नागरिकको सहभागितासँग जोड्नु हो । कोही उपाधि जित्न दौडिन्छन्, कोही आफ्नो स्वास्थ्यका लागि, कोही परिवारसँग समय बिताउन र कोही सामाजिक एकताको सन्देश दिन । सबैका लागि दौडमा सहभागी हुने अवसर सिर्जना गर्नु नै म्याराथनको विशेषता हो ।

यस वर्ष महिला तथा पुरुष धावकको सहभागितालाई सहज बनाउने विशेष व्यवस्था पनि गरेका छौँ । ४२ किलोमिटरको खुला म्याराथनमा महिलाले आफ्नो व्यक्तिगत समयका लागि सहभागी हुन चाहेमा विद्युतीय चिप्स उपलब्ध गराइनेछ । महिला धावकलाई लामो दूरीको दौडमा समेत आफ्नो क्षमता परीक्षण गर्ने अवसर दिनु यसको उद्देश्य हो । खेलकुदमा सहभागिताको अवसर लिंगका आधारमा सीमित हुनु हुँदैन भन्ने हाम्रो मान्यता छ ।

यसपटक ४२ किलोमिटरको म्याराथन पूरा गर्ने धावकको संख्या ७० भन्दा बढी हुने अपेक्षा गरेका छौँ । हाम्रो लागि यो महत्वपूर्ण उपलब्धि हुनेछ । संसारभरि म्याराथनलाई अत्यन्त कठिन र चुनौतीपूर्ण खेल प्रतियोगिताका रूपमा लिइन्छ । निर्धारित दूरी पूरा गर्न शारीरिक क्षमता मात्र पर्याप्त हुँदैन । त्यसका लागि मानसिक दृढता, अनुशासन, नियमित अभ्यास र लामो तयारी आवश्यक पर्छ । त्यसैले म्याराथन पूरा गर्ने प्रत्येक धावक आफैँमा सफलताको उदाहरण हो ।

हामीले नेपालगन्ज म्याराथन सुरु गर्दादेखि नै एउटा सपना देखेका छौँ । नेपाल अन्तर्राष्ट्रिय म्याराथन धावकहरूको रोजाइको गन्तव्य बनोस् । विश्वका विभिन्न देशका धावक नेपालमा आएर दौडिऊन् । यहाँको भूगोल, संस्कृति, आतिथ्य र सामाजिक सद्भावसँग परिचित होऊन् । खेलकुदकै माध्यमबाट पर्यटन प्रवद्र्धन होस् र नेपालले अन्तर्राष्ट्रिय खेल पर्यटनको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाओस् । यो सपना पूरा गर्न नेपालगन्ज म्याराथनलाई क्रमशः अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।

त्यही लक्ष्यतर्फको महत्वपूर्ण कदमका रूपमा सन् २०२७ का लागि वल्र्ड एथलेटिक्सको लेबल रेसको मान्यता प्राप्त गर्ने प्रक्रिया अघि बढाएका छौँ । वल्र्ड एथलेटिक्सले मुख्य रूपमा बेसिक लेबल, एलिट लेबल, गोल्ड लेबल र प्लेटिनम लेबल गरी चार प्रकारका मान्यता प्रदान गर्छ । हामीले सन् २०२७ का लागि बेसिक लेबलको मान्यता प्राप्त गर्न आवेदन दिएका छौँ । अहिलेसम्म प्राप्त रिपोर्ट र प्रतिक्रियाका आधारमा वल्र्ड एथलेटिक्सको प्रतिक्रिया सकारात्मक देखिएको छ । त्यसैले आवश्यक मान्यता प्राप्त हुनेमा हामी आशावादी छौँ ।

यो मान्यता प्राप्त गर्नु हाम्रो लागि प्रमाणपत्र हासिल गर्नु मात्र होइन । यसले नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रिय दौड समुदायसँग जोड्ने बाटो खोल्नेछ । अन्तर्राष्ट्रिय धावकको सहभागिता बढाउन, प्रतियोगिताको विश्वसनीयता र स्तर अभिवृद्धि गर्न तथा नेपाललाई दौड पर्यटनको गन्तव्यका रूपमा चिनाउन सहयोग पुग्नेछ ।

अहिले विश्वभरि नै खेल प्रतियोगितामा सहभागी हुने बहानामा नयाँ गन्तव्यको भ्रमण गर्ने संस्कृति तीव्र रूपमा बढिरहेको छ । धावकहरू प्रतियोगितामा मात्र सहभागी हुँदैनन्, उनीहरू त्यससँगै सम्बन्धित सहर, संस्कृति, पर्यटन र स्थानीय जीवनशैलीको अनुभव पनि लिन चाहन्छन् । केही समयअघि दुबई रनमा तीन लाख १० हजार मानिस सहभागी भएको उदाहरण हाम्रासामु छ । त्यस्तै, न्यूयोर्क म्याराथनमा छनोट प्रक्रियामार्फत करिब ६० हजार धावक सहभागी भएका थिए भने प्रतियोगिताका दिन सडकमा करिब २० लाख मानिस उपस्थित भएको समाचार सार्वजनिक भएको थियो ।

यी उदाहरणले म्याराथन केवल खेलकुद प्रतियोगिता नभई पर्यटन, अर्थतन्त्र र सहरको अन्तर्राष्ट्रिय पहिचानसँग पनि जोडिएको देखाउँछन् । नेपालमा पनि यस्तो सम्भावना छ । प्राकृतिक विविधता, हिमाल, पहाड, तराई, सांस्कृतिक सम्पदा र आतिथ्य हाम्रो ठूलो शक्ति हो । यिनलाई खेलकुदसँग जोड्न सकियो भने नेपाल अन्तर्राष्ट्रिय धावकका लागि आकर्षक गन्तव्य बन्न सक्छ । नेपालगन्ज म्याराथन त्यस दिशामा अघि बढ्ने एउटा प्रयास हो ।

यसका लागि प्रतियोगिताको स्तर मात्र होइन, धावकले अनुभव गर्ने सुरक्षा र व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण हुन्छ । वल्र्ड एथलेटिक्सको लेबल रेसको मान्यता प्राप्त गर्ने आधारमध्ये सुरक्षित दौड वातावरणको सुनिश्चितता पनि एक हो । धावकले निर्भय भएर दौडन पाउनुपर्छ । त्यसका लागि सडक व्यवस्थापन, सवारी आवागमनको नियन्त्रण, सुरक्षा निकायको समन्वय र स्थानीय नागरिकको सहयोग अनिवार्य हुन्छ ।

यस विषयमा केही दिनअघि प्रमुख जिल्ला अधिकारीसँग हाम्रो बैठक भएको थियो । उहाँले नगर प्रमुख, सुरक्षा निकायका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सरोकारवाला निकायलाई सहभागी गराएर छलफल आयोजना गर्नुभएको थियो । उक्त बैठकमा हामीले नेपालगन्ज म्याराथनको वर्तमान अवस्था, आगामी लक्ष्य र सुरक्षित दौड वातावरण निर्माणका लागि आवश्यक व्यवस्थाबारे आफ्नो दृष्टिकोण स्पष्ट रूपमा प्रस्तुत गरेका थियौँ । यसअघि पनि यहाँका सुरक्षा निकाय र सम्बन्धित पक्षबाट हामीले अत्यन्त राम्रो सहयोग प्राप्त गर्दै आएका छौँ ।

म्याराथन आयोजना हुँदा केही समयका लागि सडक बन्द गर्नुपर्ने विषयमा कहिलेकाहीँ सामाजिक सञ्जालमा टिप्पणी हुने गरेको देखिन्छ । सडक बन्द गरेर किन दौड आयोजना गर्ने भन्ने प्रश्न पनि उठ्ने गर्छ । तर म्याराथनको प्रकृति र यसको व्यवस्थापन बुझ्न आवश्यक छ । धावकहरू लामो दूरीसम्म सडकमा दौडिन्छन् । उनीहरूको सुरक्षा सुनिश्चित गर्न र दुर्घटनाको जोखिम कम गर्न निश्चित समयका लागि सवारी आवागमन नियन्त्रण गर्नु अनिवार्य हुन्छ । यसलाई असुविधाका रूपमा मात्र नहेरी खेलकुदको सुरक्षित वातावरण निर्माणका रूपमा बुझ्नुपर्छ ।

हामीले धावकको सुरक्षालाई प्राथमिकता दिँदै एकतर्फी सडक पूर्ण रूपमा बन्द गरेर प्रतियोगिता सञ्चालन गर्ने अभ्यास गर्दै आएका छौँ । यसमा स्थानीय प्रशासन, सुरक्षा निकाय, ट्राफिक प्रहरी, स्वयंसेवक र आम नागरिकको सहयोग महत्वपूर्ण रहँदै आएको छ । नेपालमा पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित र व्यवस्थित दौड वातावरण निर्माण गर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ । त्यसका लागि सबै पक्षको सहकार्य आवश्यक छ ।

नेपालगन्ज म्याराथनको सफलता धावकले जितेको पदक वा बनाएको समयले मात्र मापन हुँदैन । यसले कति मानिसलाई खेलकुदसँग जोड्न सक्यो, कति नयाँ धावक तयार गर्न सक्यो, कति सामुदायिक संस्था र नागरिकलाई एउटै अभियानमा सहभागी गराउन सक्यो भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छन् । यस वर्ष १२ वटा सामुदायिक संस्थालाई कम्युनिटी पार्टनरका रूपमा जोड्नु यही सोचको निरन्तरता हो ।

यसपटक धावकको सहभागिता पनि निकै उत्साहजनक छ । यसले हामीलाई आगामी दिनमा अझ व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न थप हौसला दिएको छ । हामी चाहन्छौँ, नेपालगन्जको यो दौड स्थानीय समुदायको उत्सव बनोस् । यसले नयाँ पुस्तालाई खेलकुदमा आकर्षित गरोस् । महिला धावकलाई थप अवसर मिलोस् । अपांगता भएका व्यक्तिसहित सबैले आफ्नो क्षमता र रुचिअनुसार सहभागिता जनाउन सकून् ।

मंसिर १२ गते बीपी चोकबाट सुरु हुने दौडसँगै हामी केवल एउटा प्रतियोगिता सम्पन्न गर्ने छैनौँ । नेपालगन्जलाई खेलकुदको सहरका रूपमा चिनाउने, नेपाललाई अन्तर्राष्ट्रिय म्याराथनको नक्सामा स्थापित गर्ने र खेल पर्यटनमार्फत नयाँ सम्भावनाको ढोका खोल्ने यात्रालाई पनि अघि बढाउनेछौँ । यो यात्रामा धावक, दर्शक, स्थानीय समुदाय, संघसंस्था, सुरक्षा निकाय र आम नागरिक सबैको साथ आवश्यक छ ।

नेपालगन्ज म्याराथन हाम्रो साझा अभियान हो । यसको सफलता पनि हामी सबैको साझा उपलब्धि हुनेछ । (दैनिक नेपालगन्जसँगको कुराकानीमा आधारित)

Exit mobile version