भ्रष्टाचारविरुद्ध सचेतना फैलाउने उद्देश्यले अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्ध दिवसका अवसरमा आयोजना हुने छैटौँ नेपालगन्ज वाकाथनको तयारी तीव्र पारिएको छ । डिसेम्बर ९ अर्थात् मंसिर २३ गते आयोजना हुने वाकाथनलाई भव्य र व्यवस्थित बनाउन आयोजक बास नेपाल र व्यवस्थापनको जिम्मेवारी पाएको अन्तरालले तयारी अघि बढाएका हुन् ।
‘भ्रष्टाचारविरुद्धका लागि सँगै हिँडौँ’ भन्ने नाराका साथ आयोजना हुने वाकाथनमा विभिन्न संघसंस्था, सरकारी तथा गैरसरकारी निकाय र सर्वसाधारणको सहभागिता रहनेछ । भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै नेपालगन्जको पहिचानलाई व्यापकता दिने उद्देश्यले कार्यक्रम आयोजना हुँदै आएको आयोजकले जनाएको छ ।
वाकाथनको तयारीका लागि बसेको बैठकले मूल समिति र विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको छ । मूल समिति संयोजकको जिम्मेवारी बास नेपालका पूर्वकेन्द्रीय अध्यक्ष रमेश सिटौलालाई दिइएको आयोजकले जनाएको छ ।
कार्यक्रमलाई व्यवस्थित बनाउन आर्थिक समिति संयोजकमा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, प्रचारप्रसारमा हेमराज भट्ट, पदयात्रा व्यवस्थापनमा माधवकुमार कार्की, झाँकी व्यवस्थापनमा रविन्द्र बोहरा र संघसंस्था समन्वयमा मनबहादुर भण्डारीलाई जिम्मेवारी दिइएको छ । सचिवालय संयोजकको जिम्मेवारी मीना घर्तीमगरले पाएकी छन् ।
त्यसैगरी मञ्च तथा स्थल व्यवस्थापनमा शोभा थापामगर, सुरक्षा व्यवस्थापनमा कमलबहादुर शाही, स्वयंसेवक परिचालनमा सुमिता कुमाल, ट्राइसाइकल व्यवस्थापनमा टेकराज जैसी, स्वास्थ्य तथा प्राथमिक उपचार स्टल व्यवस्थापनमा बसन्ती रोकाया र शैक्षिक क्षेत्र समन्वयमा शोभा भण्डारीलाई जिम्मेवारी तोकिएको छ । जिम्मेवारी पाएका संयोजकहरूले आ–आफ्नो समिति पूर्ण गरी तयारीमा जुट्ने निर्णय बैठकले गरेको बताइएको छ ।
वाकाथनमा नेपाल प्रहरीको ब्यान्ड बाजासहित विभिन्न सांस्कृतिक प्रस्तुति, झाँकी प्रदर्शन तथा भ्रष्टाचारविरुद्धका सन्देशमूलक पर्चा र पम्प्लेट वितरण गरिनेछ । सहभागीहरू नेपालको राष्ट्रिय झण्डा र भ्रष्टाचारविरुद्धका सन्देश अंकित प्लेकार्डसहित सडकमा उत्रिनेछन् । आयोजकले भ्रष्टाचारविरुद्धको अभियानमा ऐक्यबद्धता जनाउन आम नागरिक तथा सरोकारवाला सबैलाई स्वतःस्फूर्त सहभागिताका लागि अपिल गरेको छ ।
मंसिर २३ गते बिहान ७ बजे नेपालगन्जको गणेशमान चोकबाट सुरु हुने वाकाथन बीपी चोक, त्रिभुवन चोक र सदरलाइन हुँदै रामलीला मैदान पुगेर समापन हुनेछ ।
संयुक्त राष्ट्रसंघीय महासभाले सन् २००३ डिसेम्बर ९ मा भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्रसंघीय महासन्धि पारित गरेको थियो । सोही दिनको स्मरणमा हरेक वर्ष अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्ध दिवस मनाइँदै आएको छ ।
