बहस

यसै मंसिर ५ गते ज्ञानको विमर्श र समसामयिक बहसको थलो महेन्द्र पुस्तकालयमा आ–आफ्नो क्षेत्रका नेपालगन्जका विविध भूमिकाले पहिचान बनिसकेका शिक्षित एवं बौद्धिक व्यक्तित्वको उपस्थितिमा ‘सामाजिक सरोकारमा बुद्धिजीवीको भूमिका’ छलफल कार्यक्रम भयो ।

डा. अरुणा उप्रेतीलाई सुन्न यस भेगकै ‘थिङ्क ट्याङ्क’हरूको सहभागिताले यस्ता कार्यक्रमको उपादेयता, महत््वको सन्देश पनि दियो । राजनीतिक कर्मी, डाक्टर, प्रोफेसर, इन्जिनियर, साहित्यकार, पत्रकार, वकिल, मानवअधिकारकर्मी, विद्यार्थी, रिटायर्ड एवं बहालवाला कर्मचारी, विभिन्न जाति, धर्म र भाषाहरूको उपस्थितिले नेपालगन्जको बुद्धि, चेतना, दायित्वबोध र बौद्धिक प्यास दर्शाउँथ्यो ।

प्रेम पुस्तकालयदेखि महेन्द्र पुस्तकालय हुँदै ८० वर्षे उमेरयात्रामा नेपालगन्जस्थित यस प्रतिष्ठानले पाँच प्रकारका सत्ता देख्यो र भोग्यो । हरेक सत्ता वा सरकार बौद्धिक तप्काले आफ्नै अनुकूल सोचोस्, आज्ञापालक बनोस् भन्ने चाहन्छ । तर, सचेत बौद्धिक जगतले शक्तिको आज्ञालाई सहजै स्वीकार्दैन । उसँग प्रश्न र जिज्ञासा भएर मात्रै भिडबाट अलग हुन्छ । ज्ञान, बुद्धि, कविता, व्यङ्ग्य र सत्ताबीचको सम्बन्ध कहिल्यै सहज हुँदैन । यहाँ पनि सत्ताको दबदबा कति थियो भन्ने झलक २०१७ मा सुरुमा बडाहाकिमलाई नै प्रमुख बनाएकाले थप व्याख्या गरिरहनै पर्दैन ।

बुद्धिजीवी भनेको बुद्धि बेचेर जीविका चलाउने ‘प्रोफेसनल’ मात्र होइन, गहन सामाजिक भूमिका र सरोकार पनि हुनुपर्छ । अझ व्यक्तित्व बनिसकेका प्रोफेसनलहरू त ‘सोसल लिडर’ कै दर्जामा हुन्छन् । त्यसैले, भीडमा फेरिँदै गएको समाजले उनीहरूको आवाजलाई गम्भीरतापूर्वक सुनेर आफ्ना आवेगी भावनालाई विवेकी भूमिकामा फेर्छन् पनि । यही सन्दर्भमा, डा. उप्रेतीमार्फत ‘सामाजिक सरोकारमा बुद्धिजीवीको भूमिका’ विषयमा संक्षिप्त विमर्शको आयोजना पुस्तकालयले गरेको थियो ।

डा. उप्रेती नेपालका ती थोरै ‘प्रोफेसनल’ बुद्धिजीवीमध्ये पर्नुहुन्छ, जसले आफ्नो कर्म र लेखनमार्फत मौन समाजलाई नयाँ ढङ्गले सोच्न र हस्तक्षेपकारी भूमिकामा उत्रिन उत्प्रेरित गरिरहनुभएको छ । भनिरहनै पर्दैन, उहाँको ‘जंक फुड’ विरोधी अभियान होस् या महिला उत्पीडन र छाउपडीविरुद्धको सशक्त आवाज—यी समाज रूपान्तरणका हस्तक्षेप हुन् । पश्चिमकै चेली भएकाले अन्धविश्वासको पहिलो मार महिलाले नै खेप्नुपर्छ भन्ने यथार्थ उहाँले अझ नजिकबाट बुझ्नुभएको छ । बौद्धिक तप्का रमिते मात्र नभई भूमिकामा उत्रिनुपर्छ भन्ने प्रेरणा उहाँले धनगढी क्याम्पसका आजीवन स्वयंसेवी क्याम्पस प्रमुख रहनुभएका आफ्ना पिताजीबाट प्राप्त गर्नुभएको छ । त्यसैले, उहाँको सामाजिक मनोविज्ञानको बुझाइ चिकित्सकीय पेसाले मात्र होइन, पारिवारिक संस्कार र वातावरणले पनि समृद्ध बनेको हो । त्यसैले पुस्तकालयले उहाँलाई गेस्टको रूपमा चयन गरेको हो ।

हरेक मानिसको इतिहास पनि ऊसँगै यात्रा गरिरहेको हुन्छ । भौतिक रूपमा नभेटे पनि समाजले उसलाई सूक्ष्म रूपले नियालिरहेको र पढिरहेको हुन्छ । ‘प्रोफेसनल’ बुद्धिजीवीहरू त झन् सामाजिक सरोकारबाट निरपेक्ष रहनै सक्दैनन् भन्ने बोधका साथ नै त्यो विद्वत् जमघट आयोजना गरिएको थियो ।

उच्चताबोध भने प्रोफेसनल शिक्षितहरूको समस्या बन्न पुग्छ । सामाजिक सरोकारबाट टढ्याइदिन्छ । ंअझ सत्ताको हितकार बन्योभने त अझ हैसियत रोग बन्न पुग्दोरहेछ । यही समाजका उपज भएर पनि सामाजिक सरोकारसँग जोडिन उदासीन देखिनका कारण सुपेरिटी कम्प्लेक्स बन्न पुग्दोरहेछ । हो, त्यसैले उनीहरु आफ्नो विशेषज्ञतालाई समाजको हितसँग जोड्न चाहँदैनन् । देश र समाजमा घटिरहेका घटना र समस्याहरूप्रति निरपेक्ष रहन्छन् । अझ राजनीति, विचार, दर्शन र साहित्यबाट टाढिनुलाई नै उत्तम ठान्छन् । तर, सबै विषयको केन्द्र र समस्याको जड त राजनीतिमै निहित हुन्छ; अनि त्यसप्रतिको संवेदना जगाउने माध्यम दर्शन र साहित्य नै हुन् । हामी त्यतापट्टि कति जागरुक छौँ भन्ने पनि मुख्य प्रश्न बन्छ ।
बुद्धिजीवी होस् वा सामान्य नागरिक, कोही पनि सामाजिक सरोकारबाट भाग्न सक्दैन; भाग्न खोज्दा पनि उम्किन सकिँदैन । डाक्टर, इन्जिनियर, प्राध्यापक, कवि, साहित्यकार वा पत्रकार आफ्नो पेसागत घेरामा मात्र सीमित हुन सक्दैनन् । किनकि समाज र देशमा घटेका हरेक घटनाले उनीहरूलाई प्रत्यक्ष वा परोक्ष रूपमा प्रभावित पारिरहेकै हुन्छ । तसर्थ, सामाजिक सरोकार नराख्दा पेसागत दायित्वसमेत अधुरो रहन्छ भन्ने मान्यतामाथि विमर्श गर्न नेपालगन्जका ‘सुपरमस्तिष्क’हरूको उपस्थितिमा त्यो छलफल राखिएको थियो ।
कार्यक्रमको पहिलो चरण विषयप्रवेशपछि डा. उप्रेती र कवि तथा पत्रकार विपी अस्तुबीच विषयकेन्द्रित संवाद भए । दोस्रो चरणमा सहभागीहरूका जिज्ञासा र टिप्पणीमाथि खुला छलफल भए । संवेदनशील कवि अस्तुले डा. उप्रेतीसँग बहस केन्द्रित गरिरहे पनि संवाद र प्रश्नले भने शिक्षित, बौद्धिक र प्राज्ञिक समुदाय एवं समाजसँग भैरहेको थियो । राजनीतिक भूगोल छिचोलेर वैश्विक चरित्र ग्रहण गरिरहेको थियो । यस्ता प्रश्नको सामना नेपालगन्जको सार्प मस्तिष्कले गर्नुपर्ला भन्ने सोचेका नहुन पनि सक्लान् । ती प्रश्न र जिज्ञासामा एकछिन केन्द्रित हौँः
१. बुद्धिजीवी को हुन् र उनीहरूको भूमिका के हो भन्ने बारेमा तपाईंको धारणा के हो ? २. बौद्धिक क्षमता वा ज्ञान व्यक्तिगत उपलब्धि हो कि सामाजिक सम्पत्ति हो ? आफूले प्राप्त गरेको ज्ञान र विवेक समाजसँग बाँड्नु बुद्धिजीवीको नैतिक दायित्व हो कि स्वेच्छाको कुरा हो ? ३. नेपालमा बुद्धिजीवीहरू चाहिएको समयमा चुप बस्छन्, अफवाह फैलिइरहँदा पनि टुलुटुलु हेरेर बस्छन्, सत्य बोल्न पनि सेल्फ सेन्सर गर्छन् भन्ने आरोप छ । यो आरोप मात्रै हो कि सत्य हो ? कतिपय बुद्धिजीवीहरूले त शासक र सत्ताको झुट वा खराब कर्मलाई कुतर्क सिर्जना गरेर सही साबित गर्ने उद्यम गरिरहेकै पनि देखिन्छन् । यो समाजका लागि कतिको घातक छ ? ४. सुकरातलाई प्रश्न उठाउन सिकाएको कसुरमा मृत्युदण्ड दिइयो, पृथ्वीले सूर्यलाई घुम्छ भन्दा ग्यालिलियोले सजाय पाए, प्रश्न उठाएकै कारण कवि कृष्ण सेन इच्छुक मारिए, अस्ति भर्खरै भारतमा गौरी लंकेश मारिइन् । के अहिलेका बुद्धिजीवी पनि यस्तै डरले चुप हुने, सत्य नबोल्ने वा प्रश्नकर्ताभन्दा पनि सत्ताको झुट रक्षक बनेका हुन् ? कि उनीहरूलाई डरले भन्दा लोभले खायो ? ५. यहाँले पनि प्रश्न उठाएको र सत्य बोलेकै कारण (डा. उप्रेती) जागिरबाट निकालिएको पीडा भोग्नुप¥यो । तर पनि सत्ता र खराब मान्यतालाई असहज लाग्ने प्रश्न गर्दै आउनुभयो । असहज सत्य बोल्दै आउनुभयो । लेखेबोलेकै कारण अनेक निसाना पनि भोग्नुभयो होला । खासमा बुद्धिजीवीहरू डर र लोभको प्रभावबाट मुक्त कसरी हुने ? तपाईंको अनुभव के छ ? व्यक्तिगत लाभ र पदको रक्षा अनि सत्य बोल्ने दायित्व निर्वाहका बीच कसरी अनुकूलित हुन सकिन्छ ? ६. नेपालका सन्दर्भमा बुद्धिजीवीहरूलाई लाग्ने अर्को आरोप ‘डलरे’को ट्याग पनि हो । डलरमा पारिश्रमिक लिनु त खराब कुरा नहोला । तर, के हाम्रा बुद्धिजीवीहरूले डलर दिने स्रोतको प्रभावमा समाजलाई हानि हुने विचार प्रसार गरिरहेकै हुन् ? कि यो आफ्नो परम्परागत मान्यता र शक्ति सम्बन्धलाई चुनौती दिएपछिको भडास मात्रै हो ? ७. सञ्चार प्रविधिको दुनियाँमा अहिलेको समय डिजिटल सञ्जाल र कृत्रिम बौद्धिकताको समय हो । दुवै आक्रामक रूपमा फैलिरहेका छन् र यिनले सबैभन्दा बढी बुद्धिजीवीको आवश्यकता र सान्दर्भिकतालाई नै चुनौती दिएका छन् भनिन्छ । यसमा तपाईं सहमत हो ? हो भने यो समयमा बुद्धिजीवीहरूले आफ्नो सान्दर्भिकता साबित गर्न पहिलेभन्दा सहज छ कि त्यो काम झन् गाह्रो हुँदै गएको हो ?

अस्तुका यी प्रश्न वा जिज्ञासाहरू आयोजकका थिए । डा. उप्रेतीमार्फत नेपाली समाज वा प्राज्ञिक समुदायसँग थियो । यसका उत्तर जे जस्ता थिए वा होलान्, हाम्रा प्राज्ञिक पाठकहरूले आआफ्नै स्तरबाट अनुमान लगाउने नै छन् । कतिपय सहभागीका प्रश्न स्वकेन्द्रित भए पनि कतिपयले नेपालगन्जको मस्तिष्कको प्रतिनिधित्व गरेका थिए । अब म लेखको बिट मार्दै गर्दा कार्यक्रम र त्यसले दिन खोजेको सन्देश बुझिसक्नुभयो ।
बौद्धिकताको निडरता र दायित्व बुझ्न रोबर्ट डे निरोलाई पनि सुनौँ । उनकोबारे डिजिटल साक्षर मेरा पाठकहरूले चाहेमा खोज्नै सक्नुहुन्छ । म उपबुज्रुक बन्दिन । उनले जुन २०२६ मा न्यूयोर्कको ‘ह्वाट नाउ, देन ह्वाट’ कार्यक्रममा बोल्दै हालको अवस्थामा आफ्नो देश (अमेरिका) लाई माया गर्न नसक्ने भने । उनले ‘हामी सबै आफ्नो देशलाई माया गर्छौँ’ भन्ने वाक्य घाँटीमै अड्किएको भन्दै देशलाई माया गर्नु भनेको दुव्र्यवहार गर्ने पति÷पत्नीलाई माया गर्नु जस्तै लाग्न थालेको तुलना गरे । उनले दिएका मुख्य कारणहरू ५ वटा कुरामा म केन्द्रित हुन्छु ।
१. मूर्ख र अमानवीय युद्धहरू सुरु गर्ने — हजारौँ निर्दोष मानिसको मृत्यु र लाखौँलाई अप्रत्यक्ष दुःख दिने सत्तालाई समर्थन गर्न सकिन्छ ?
२. लाखौँ मानिसको स्वास्थ्य सेवा खोसेर त्यो पैसा ‘ट्रम्प–एप्सटिन क्लास’ का साथीहरूलाई अझ धनी बनाउन प्रयोग गर्ने ।
३. मास्क लगाएका मिलिसियाहरू पठाएर सडकमा नागरिकहरूलाई गोली हान्ने, छिमेकीहरूलाई यातना दिने र परिवारहरू छुट्याउने । ४. जातिवादी, महिलाद्वेषी र विदेशीद्वेषी तानाशाहको नेतृत्वमा हुनु । ५. डोनाल्ड ट्रम्प र उनको चाटुकार कङ्ग्रेसको नेतृत्वमा हुनु । अन्त्यमा उनले भने — धेरैजसोले जीवनभर देशलाई माया गरेका थिए (आप्रवासी पुर्खाहरूलाई स्वागत गर्ने, अवसर र स्वतन्त्रता दिने देश), अहिले फेरि माया गर्न चाहन्छन् र आफ्नो देश फिर्ता चाहन्छन् । यो कुरा कुनै सामान्य अमेरिकीले भनेको थिएन । उनी अमेरिकी प्रसिद्ध सिने अभिनेता हुन् । ट्याक्सी ड्राइभर, ¥यागिङ बुल, गुडफेलोज, द गडफादर पार्ट टु, द आइरिसमेनजस्ता फिल्महरूका लागि प्रसिद्ध छन् । दुई पटक ओस्कार जितेका । उनले यो कुरा जुन १४÷१५, २०२६ तिर न्यूयोर्कको टाउन हलमा भनेका थिए ।

के यस्तै अपेक्षा नेपाली बौद्धिक तप्काबाट गर्न सकौँला ? महेन्द्र पुस्तकालयको उक्त कार्यक्रम बौद्धिक तप्काको सेल्फ सेन्सरशिपविरुद्धको कार्यक्रम थियो । त्यो चुप्पी संस्कृतिको मास हिस्टेरियाविरुद्धको कार्यक्रम थियो ।

Exit mobile version