महेन्द्र पुस्तकालयको वार्षिक साधारणसभा

विरही, पीटर र खनाल सम्मानित

महेन्द्र पुस्तकालय नेपालगन्जले साहित्यकार रेशम विरही, लेखक नरेन्द्रजंग पीटर र विद्यार्थी वर्षा खनाललाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । पुस्तकालयको शनिबार आयोजित वार्षिक साधारणसभाका क्रममा तीन जनालाई विभिन्न विधाका पुरस्कार प्रदान गरिएको सचिव सतीश निरौलाले जानकारी दिए ।

पुस्तकालयले भाषा तथा साहित्य क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै साहित्यकार रेशम विरहीलाई ‘माधुरी साधना सम्मान–२०८३’ प्रदान गरेको हो । सम्मानसँगै उनलाई नगद २० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यसैगरी, लेखक तथा साहित्यकार नरेन्द्रजंग पीटरलाई ‘बद्रीविक्रम–व्याख्यानमाला–४’ अन्तर्गत नगद २० हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

‘शान्ता राणा शैक्षिक पुरस्कार’ अन्तर्गत २०८२ सालमा छात्रातर्फ सर्वोत्कृष्ट अंक ल्याउने धम्बोझी माध्यमिक विद्यालयकी छात्रा वर्षा खनाललाई नगद १५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ ।

पुस्तकालयका अध्यक्ष बलराम यादवको अध्यक्षतामा भएको साधारणसभामा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट प्रमुख अतिथि थिए । उनले सम्मानित व्यक्तित्वहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

नगर प्रमुख विष्टले पछिल्ला वर्षहरूमा पुस्तकालयले सकारात्मक गति लिएको भन्दै पुस्तकालयको नेतृत्वको प्रशंसा गरे ।

Exit mobile version