सानै उमेरमा अन्तर्राष्ट्रिय पौडी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै दुई रजत पदक जित्न सफल दुवाना लामा अहिले पनि आफ्नो खेल प्रदर्शन सुधार्ने यात्रामा निरन्तर अघि बढिरहेकी छन्। मनाङको पिसाङ घर भएकी २० वर्षीया दुवाना १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाको प्रतिनिधित्व गर्दै विभिन्न इभेन्टमा प्रतिस्पर्धा गरिरहेकी थिइन्।
दैनिक नेपालगञ्जसँगको कुराकानीमा उनले परिवारका सबै सदस्य काठमाडौंमा बसोबास गरे पनि आफू मनाङकी छोरी भएको बताएकी थिइन्।
१३ वर्षकै उमेरमा दक्षिण एसियाली खेलकुदमा दुई रजत पदक जित्नु उनको खेल जीवनको महत्वपूर्ण उपलब्धि थियो। पौडी खेलमा निरन्तर प्रदर्शन सुधार गर्न भने सहज छैन।

दैनिक दुईदेखि चार घण्टासम्म प्रशिक्षण गर्ने दुवानाले कहिलेकाहीँ दुईदेखि तीन वर्षसम्म पनि प्रदर्शनमा सुधार नआउने अनुभव सुनाएकी थिइन्।
निरन्तर मेहनतपछि आफ्नै कीर्तिमान तोड्न सक्दा खुसी लाग्ने उनको भनाइ थियो। यद्यपि, अरू खेलाडीले आफ्नो कीर्तिमान तोड्दा भने केही दुःख लाग्ने अनुभव पनि उनले मुस्कुराउँदै व्यक्त गरेकी थिइन्।
नेपालगञ्जमा विभिन्न इभेन्टमा प्रतिस्पर्धा गरिरहेकी उनी आफ्नो व्यक्तिगत प्रदर्शनप्रति सन्तुष्ट थिइन्। यसपछि थप तीन नेपाली खेलाडीसँगै चीनमा आयोजना हुने विश्व पौडी च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने तयारीमा रहेकी दुआनाको लक्ष्य अन्तर्राष्ट्रिय मञ्चमा देशको नाम चिनाउनु र आफ्नै कीर्तिमान सुधार्नु थियो।
निरन्तर मेहनत र आत्मविश्वासका साथ अघि बढिरहेकी दुवानाको लक्ष्य अब अन्तर्राष्ट्रिय पौडी मञ्चमा नयाँ उपलब्धि हासिल गर्नु हो।
सजल गैरेसँग नेपालगन्ज रंगरासमा…..