नेपालगन्जमा दुई सय करोड बढीको पाँच तारे रिसोर्ट निर्माण कार्य अगाडि बढाइएको छ । मेरो प्लानेट सञ्चालनमा ल्याएको मानसरोवर एम्युजमेन्ट पार्क एण्ड रिसोर्ट प्रा.लि.ले लगानी बिस्तार गर्दै पाँच तारे रिसोर्ट निर्माण प्रक्रिया अगाडि बढाएको हो ।
विश्वव्यापी बजार व्यवस्थापनमा कहलिएको भारतीय अन्तर्राष्ट्रिय होटल सञ्जाल इण्डियन हस्पिटालिटी ग्रुपलाई मानसरोवर एम्युजमेन्ट पार्क एण्ड रिसोर्टको व्यवस्थापनको जिम्मेवारी दिने सम्झौता भएपछि निर्माण प्रक्रियाले तिव्रता पाएको छ । ‘त्यसको औपचारिक सम्झौतासँगै वातावरणीय प्रभाव मूल्यांकनको कार्य भैरहेको छ’, कम्पनीका अध्यक्ष पशुपति दयाल मिश्रले उत्साहित हुँदै दैनिक नेपालगन्जसँग भने, ‘अब छिट्टै फिल्डमा काम सुरु हुन्छ ।’
हाल बाबुगाउँ स्थित मेरो प्लानेटमा वाटर पार्क सञ्चालन भइरहेको छ । झण्डै ६५ करोड लगानी पुगिसकेको मेरो प्लानेट मनोरञ्जन पार्क सँगै एक सय दुई कोठा क्षमताको रिसोर्ट निर्माण हुनेछ । त्यसका लागि १० विगाह क्षेत्रफलको जग्गामा डिपीआर बनाइएको छ । मिश्रका अनुसार, सञ्चालनमा आइसक्दासम्म २ सय ८ करोड लगानी पुग्ने अनुमान गरिएको रिसोर्टमा अन्तर्राष्ट्रिय कम्पनीले व्यवस्थापन हेर्ने भएकाले मुलुककै अग्रणी पर्यटकीय उद्यमका रूपमा नेपालगन्जले नेतृत्व गर्ने आशा गरिएको छ ।
मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टका प्रबन्ध निर्देशक डा. ओमप्रकाश मिश्रले दिएको जानकारी अनुसार, हाल मेरो प्लानेटमा ६० बढी कर्मचारी कार्यरत छन् । सन् २०२० अक्टोबरबाट सञ्चालनमा आएको मेरो प्लानेट पूर्व योजना अनुसार नै अगाडि बढिरहेको जानकारी दिंदै डा. मिश्रले दैनिक नेपालगन्जसँग भने, ‘अन्तर्राष्ट्रिय ब्राण्डसँग जोडिएपछि २ सय बढी कर्मचारीले रोजगारी पाउनेछन् ।’
क्राउन प्लाजा ब्रान्डलाई नेपालगन्जमा ल्याउन आइएचजी होटल्स एण्ड रिसोर्ट्ससँग साझेदारी गरेपछि उत्साहित रिसोर्टका प्रबन्ध निर्देशक डा. मिश्रले पर्यटकीय क्षेत्रमा यसले उल्लेख्य सेवा, सुविधा थप्ने र त्यसले आकर्षण बढाउने विश्वास आफुले लिएको बताए । ‘हामी विश्वस्त छौं कि यो साझेदारीले नेपालगन्जको समृद्ध सांस्कृतिक सम्पदासँग विश्वस्तरीय सुविधाको संयोजन गर्दै अतिथिलाई असाधारण अनुभव प्रदान गर्नेछ,’ उनले भनेका छन् ।
डा. मिश्रका अनुसार, प्रस्तावित रिसोर्ट सन् २०२८ को प्रारम्भमा सञ्चालनमा आइसक्ने गरी सम्झौता गरिएको हो । प्रस्तावित रिसोर्ट क्राउन प्लाजा होटल्स एण्ड रिसोर्ट्सको नामबाट सञ्चालन हुनेछ । आइएचजीको छातामूनी विश्वका ५२० भन्दा बढी स्थानमा क्राउन प्लाजा होटल एण्ड रिसोर्ट ब्राण्डमा होटलहरू सञ्चालनमा रहेका छन् ।
आइएचजी होटल्स एण्ड रिसोर्ट्स, दक्षिण पश्चिम एशियाका प्रबन्ध निर्देशक सुदीप जैनले सम्झौतापछि भनेका छन्, ‘दक्षिण पश्चिम एसियामा आइएचजीको विस्तारको लागि हस्ताक्षरले एक रणनीतिक कोसेढुङ्गालाई प्रतिनिधित्व गर्दछ, जुन विश्वस्तरीय आतिथ्यताको बढ्दो मागको साथ परिपक्व क्षेत्र हो । क्राउन प्लाजाको बलियो ब्रान्ड रिकालसँगै, हस्ताक्षरले नेपालमा आइएचजीको स्थितिलाई अझ बलियो बनाउँछ र यस क्षेत्रका प्रमुख बजारमा प्रिमियम अफरहरू ल्याउने हाम्रो प्रतिबद्धतालाई प्रकाश पार्छ ।’